२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

नगर र नगरवासीको मुहार परिवर्तन गर्न लागिपरेका छौं : टि.पी शर्मा तिमल्सिना, नगर प्रमुख, नमोबुद्ध नगरपालिका

  • २०७७ कार्तिक ३, सोमबार मा प्रकाशित ३ साल अघि
  • २०१३ पाठक संख्या
  • सानै उमेरदेखिको राजनीतिक र पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्तित्व हुन् टिपी शर्मा तिमल्सिना । काभ्रेको नमोबुद्ध नगरपालिकाका पहिलो जननिर्वाचित प्रमुख तिमल्सिना नगरमा कृषि र पर्यटनको विकासलाई प्राथमिकता दिएर अघि बढेका छन् । कृषि भूमिमा इँटा हैन धान फलाउनुपर्छ भन्दै अघि बढेका तिमल्सिनाले नगरपालिकाको भकुन्डेबेसी फाँटमा रहेका इँटा उद्योग विस्थापन गरेर त्यसको सुरुवात गरेका थिए । अहिले नमोबुद्धलाई समृद्ध बनाउन उनी सहित सिंगो नगरपालिका कसरी लागेको छ ? निर्वाचित भएपछि के के गरे र के गर्न बाँकी छ भन्ने लगायतका विषयमा उनीसँग मिडियाचोक डटकमले गरेको गरेको संक्षिप्त कुराकानी :

    आजकाल के मा व्यस्त हुनुहुन्छ ?
    नगरको समग्र विकासको लागि चालु आर्थिक वर्षको नीति, कार्यक्रम, बजेट पारित भइसकेकाले त्यसलाई विकास निर्माणका कार्यमा लगाउन छलफल तथा योजना बनाउन, जनताका समस्याहरु लाई सहज, सरल र पारदर्शी तरीकाले सेवा प्रभाव गर्न तथा हाल महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कामकाज मै व्यस्त छु ।

    यो सालका लागि तपाईंको निकायमा मुख्य के के योजना अघि सार्नुभएको छ ?
    हरेक वर्ष झै विकासका निर्माणका कार्यहरुलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाईलाई विशेष प्राथमिकतामा राखेका छौ । कोरोना भाईरस महामारीको चपेटामा परेको यस नगरपालिकामा सर्वप्रथम हामीले हाम्रा नगरबासीहरुको स्वास्थ्य क्षेत्रमा विषेश ध्यान दिई नगरभित्र सञ्चालित सबै स्वास्थ्य संस्थाहरुलाई २४ सै घण्टा सेवा प्रभाव गर्ने कार्यको योजना निर्माण गरी दक्ष जनशक्ति तयार गरेका छौ । सुरभ र सहज तरीकाबाट नगरबासीलाई स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउने योजना बनाएका छौं । त्यस्तै लामो समय शिक्षाक्षेत्र ठप्प भएको अवस्थालाई सहज तरीकाले अध्ययपन गराउन विशेष पहलको सुरुवात गरेका छौं । एक घर एक धारोको अवधारणालाई निरन्तरता दिँदै यो वर्ष करिब ९० प्रतिशत जनताको घरघरमा शुद्ध पिउने पानीको व्यवस्था बनाउन विभिन्न खानेपानीका योजनाहरु संचालनमा ल्याउँदै छौ । कृषिमा आत्मनिर्भर गरी व्यवसायिक तरिकाले समेत आय आर्जन गर्न सकिने बनाउन डिप बोरिङ संचालन क्रमश वृद्धि गर्दै लैजाने, कुलो, नहरको निर्माण गर्ने, कृषिमा अनुदानका प्याकेज सार्वजनिक गर्ने । मल, विऊ, कृषि औजार, प्राविधिक सहयोग गरी उत्पादनलाई बृद्धि गर्ने । प्रत्येक टोल टोलबाट वडासम्म तरकारी संकलन केन्द्रमा कृषि उपज बस्तुहरु संकलन गरेको कृषि उपज बालिहरुलाई नगरकोे संकलन केन्द्र सम्म ल्याई व्यवस्थित तरिकाले नगरको आफ्नै ब्राण्ड निर्माण गरी वजारीकरणको व्यवस्था समेत मिलाउने कार्यलाई उच्च प्राथमिकतामा राखी नगर कृषि एम्बुलेन्स समेत सञ्चालनको व्यवस्था गर्ने योजना निर्माण भैसकेको छ । प्रत्येक वडामा वडा कार्यलय भवन, प्रत्येक वडामा स्वास्थ्य संस्थाको आफ्नै भवन निर्माण गर्ने, वडा कार्यालय देखि नगरपालिका भवन सम्म पक्की सडक, प्रत्येक स्वास्थ्य संस्थाबाट वडा कार्यलय सम्म पक्की सडक निर्माण सम्पन्न गर्ने योजना रहेको छ । नगरबाट तथा वडा बाट हुने जनताका हरेका सेवालाई सुलभ तथा सरल तरीका मार्फत कार्य सम्पन्न गर्न लेस पेपर सिस्टम बनाउने । नगर र वडा बाट जनतालाई दिनु पर्ने सेवा लाई डिजिटलाईज गरी कार्य गर्ने मुख्य योजनाहरु रहेका छन् । यही बर्ष नगरपालिकाको समन्वयमा वडा नं ८ मा राष्ट्रिय युवा परिषदमार्फत युथ इनोभेसन सेन्टर निर्माणको कामसमेत सुरु गरिसकेका छौं ।

    चुनावताका जनतालाई दिनुभएको आश्वासन के कति पुरा भए ? कति बाँकी छन् ?
    मैलै जनतासामु केहि प्रतिवद्धता गरेको थिएँ । ति कतिपय त पुरा भएका छन् कतिपय कार्यक्रमहरु त बाँकी छन् । तैपनि यो ५ वर्षको कार्यकालको अन्त्य सम्म मैले नगरबासीहरुसँग गरेको प्रतिवद्धता पुरा गर्न हरेक पल अझै लागिरहेको छु । आशा छ त्यो परिणाम देखिन अब नगरबासीहरुले धेरै समय कुर्नु पर्दैन । जसमध्ये ५ बेतिथिको अन्त्य गरी ५ वटा समृद्धिको उपयोग गराउने पहलमा लागिरहेको छु । समृद्धिका लागि मुहार परिर्वतन, खाद्य सुरक्षा, समृद्ध नगर, नगर उद्यम केन्द्र र कृषि पर्यटनको अवधारणाअनुसार काम भइरहेको छ । मुहार परिवर्तनको अवधारणाअनुसार नगरभित्र अव्यवस्थित रुपमा बनेका टहरा विस्थापनदेखि राजमार्ग फराकिलो बनाएर तथा बगैंचा पार्कहरु निर्माणको योजना अघि सारिएको छ । यस्तै खाद्य सुरक्षाको अवधारणाअन्तर्गत स्थानीय उत्पादनको प्रयोगमा जोड दिने तथा तिनीहरुलाई प्रशोधन गर्दै व्यवसायिकरुपमा अगाडि बढ्न मद्दत गर्ने रहेको छ भने नगरलाई समृद्ध बनाउन एक घर एक रोजगारको योजना अघि सारिएको छ । त्यसका लागि युवाहरुलाई स्वरोजगार बनाउन घरेलु तथा साना उद्योगको स्थापनामा जोड दिइ स्वरोजगार बनाउने अवधारणाअनुसार काम भइरहेको छ । यसैगरी नगर उद्यम केन्द्रको अवधारणाअनुसार स्थानीयस्तरमा उत्पादन हुने सामग्रीहरु प्रशोधनका लागि उद्योग स्थापनाको योजनाअनुसार काम भइरहेको छ भने कृषि र पर्यटनलाई सँगसँगै अघि बढाएर आयआर्जनमा वृद्धि गर्ने प्रतिवद्धताअनुसार काम भइरहेको छ ।

    जनताले घरमै सिंहदरबार महशुस हुने के के काम गर्नुभयो ?
    स्थानिय स्तरबाट नगरबासीले पाउनु पर्ने नियमानुसारको सेवा सुविधामा नगरबासीलाई झन्झट नहुनेगरी हरपल हर समय सेवा प्रदान गरेका छौं । वडाबाट हुने सेवा सुविधा, सिफारिस वडा जनप्रतिनिधिहरुले छिटो छरीतो तरीका अपनाई कार्य गरिरहनु भएको छ । नगरबाट दिनु पर्ने सेवामा नियमले पाउने सम्म हामीले दिनरात नभनी सेवा प्रदान गरेका छौं । नगरपालिकाबाट मात्र नभई प्रदेश तथा केन्द्र सरकारसँग समेत हामीले नगरबासीका सेवा लाई सहजिकरण गरी छिटोभन्दा छिटो सम्पन्न गराउन विभिन्न सहयोग पु¥याएका छौं ।

    शिक्षाका लागि के के गर्नुभयो ?
    शिक्षाको विकास हाम्रो प्रमुख योजनामै समावेश भएको हुँदा हामीले विगतका वर्षहरुमा शिक्षालाई वालवालिकाको नैसर्गिक अधिकार भित्र राखेर अभिमावकहरुमा शिक्षा सम्बन्धि चेतनाको विकास, आमा शिक्षा कार्यक्रम, घरदैलो कार्यक्रम मार्फत जनचेतना जगाउने अभियान, विपन्न परिवारका नानीबाबुहरुलाई अभिभाकत्व ग्रहण गरी शिक्षा प्रदान, व्यवस्थापन समिति, विद्यालयका प्रअ, शिक्षक, लगाएत सरोकारवालाहरुलाई चेतनामूलक कार्यक्रम सञ्चालन गरि नगरका सबै विद्यालय उमेरका वालवालिकाहरुलाई शिक्षाको पहुँचमा पुर्याउन सफल भएका छौं । विद्यालयको भौतिक पूर्वाधार विकास बालमैत्री बनाउँदै लगेका छौं । प्रत्येक विद्यालयमा पर्याप्त शुद्ध पिउने पानीको व्यवस्था तथा शौचालयको व्यवस्था गरेका छौं । किशोरीमैत्री शिक्षामा विशेष कार्यक्रम तथा सहयोग पुग्ने खालका कार्यक्रमहरु गरेका छौं । विद्यालय सम्म आवज जावत गर्ने सडकलाई स्तरोन्नती गर्दे विद्यार्थिहरु विद्यालय सम्म जान सहज वातावरण सिर्जना गरेका छौं । नगरमा व्यवसायिक शिक्षाका लागि श्री जनक माविमा पशुविज्ञान विज्ञान कक्षा सञ्चालन गरेका छौं । प्रत्येक माध्यमिक विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएका छौं । समग्रमा भन्नु पर्दा अव नमोबुद्ध नगरपालिकाबाट माध्यमिक शिक्षा अवधिभरमा आफ्नो भविश्यको आधार निर्माण गरी अन्र्तराष्ट्रिय स्तर सम्ममा समेत प्रतिस्पर्धात्मक क्षेत्रमा अग्र स्थानमा आउन सक्ने वातावरणको सिर्जना गर्ने वातावरणको निर्माण गरेका छौं ।

    तपाईंको निकायमा खानेपानी र स्वास्थ्यको अवस्था के छ ?
    समग्र नगरबासीहरुलाई खानेपानीको लागि पर्याप्त नगरमा आफ्नै मूल नभएको कारण हाल ५० प्रतिशत नगरबासीहरुलाई खानेपानीको समस्या रहेको छ । बाँकी ५० प्रतिशत नगरबासीहरुमा खानेपानीको समस्या छ । त्यसैले हामीले खानेपानी योजनाहरु सञ्चालन गर्नु पर्ने बाध्यात्मक अवस्थामा यो नगरपालिका गुर्जेको छ । तैपनि हाम्रो दायित्व तथा नगरबासीको आशाको केन्द्रमा रहेको स्थानीय सरकार भएको हुनाले हामीले सम्पूर्ण नगरबासीहरुलाई शुद्ध खानेपानीको व्यवस्था गर्न एक घर एक खानेपानी धारा सम्पन्न गराउन नगरभित्र विभिन्न खानेपानीको योजनाहरु कतिपय अन्तिम चरणमा र कतिपय मध्य चरणमा कार्य भैरहेका छन् छिटै हामी यी योजना हरु सम्पन्न गरी खानेपानी वितरण गर्नेछौं ।
    आधारभुत स्वास्थ्य सेवा तपाईंको पालिकाभित्र २४ सै घण्टा प्राप्त गर्न सक्ने वातावरण निर्माण भएको छ ?
    हाल मेथिनकोट अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउन सफल भएका छौं । दाप्चा स्वास्थ्य चौकीलाई नगरस्तरीय स्वास्थ्य चौकी बनाउन पनि सफल भयौं । प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरेका छौं । सबै स्वास्थ्यकर्मीहरु दक्ष छन् हामीले कार्यक्रम बनाई पनि सकेका छौं । सुविधा सम्पन्न स्वास्थ्य संस्था निर्माण गर्ने कार्य भैरहेको हुँदा अव २४ घण्टा प्रत्येक स्वास्थ्य संस्था सञ्चालन गरी जनतालाई सेवा दिन हाम्रा स्वास्थ्यकर्मीहरुलाई हामी तयार पारेका छौं । यसको व्यवस्था भएको अव छिटै सार्वजनिक हुँदैछ ।

    नगरमा कोरोना भाइरसको अवस्था कस्तो छ ? कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
    आजको मितिमा भन्नु पर्दा नमोबुद्ध नगरपालिका कोरोना भाईरस संक्रमणबाट यहाँका नागरिक जो नगरपालिका भित्रै स्थायी रुपमा बसोबास गर्नु भएको छ, नगरपालिका भित्रै आफ्नो काम, व्यवसाय गरिरहनु भएको छ उहाँहरु सुरक्षित रहनु भएको छ, नगरबासी जो आफ्नो कामको सिलसिलामा वा उपचारको क्रममा कतै अस्पतालमा जानु भएको छ त्यस्ता केहि व्यक्ति संक्रमित हुनु भएको छ । भारत लगाएत अन्य मुलुकबाट आउने केहि व्यक्ति संक्रमित हुनु भएको थियो । नगरले बनाएको क्वारेन्टाईन र आइशोलेसनमा स्वास्थ्यकर्मीको निरन्तर निगरानीमा पोजेटिभ केसहरु सबै नेगेटिभ भएर आफ्नो आफ्नो घर फर्किसक्नु भएको छ । अहिले तपाईलाई भनिरहँदा नगरको आइशोलेसनमा २ जनामात्र कोरोना पोजेटिभ संक्रमित हुनुहुन्छ । हामीले यति सर्तकता अपनाउन सफल भयौंकी नगरभित्र कुनै पनि समुदाय वा परिवारमा संक्रमण फैलिएको अवस्था हामीले भोग्नु परेन । यहाँका जनप्रतिनिधि साथिहरु, नागरिक समाज, शिक्षक, व्यवसायि लगाएत सम्पूर्ण नगरबासीहरु नेपाल सरकारको तथा नगरको स्वास्थ्य मापदण्डको निर्देशनलाई अलिकति पनि अवज्ञा नगरी सुरक्षित तरिकाले अपनाएर एक जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नु भयो उहाँहरु सबैलाई हृदय देखिनै धन्यबाद दिन चाहान्छु । जन विश्वमा कोरोना भाईरस महामारीको अवस्था आयो नेपाल पनि सुरक्षित रहन सकेन, तत्कालै हामीले नगरस्तरीय एउटा क्यारेन्टाईन स्थल छनौट गरी सुरुमा ६० बेडको स्थापना गर्यौं । केहि समय पछि हामीले १० बेडको आइशोलेसन समेत स्थापना गरेका छौं । अन्य जिल्ला लगाएत विदेशबाट आउने नागरिकहरुको हकमा काठमाण्डौं सम्म नगरको एम्बुलेन्स मार्फत हामीले सिधै क्वारेन्टाइन स्थलसम्म ल्याई क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्यौं । स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनमा निश्चित दिन बसेपछि पिसिआर चेक गर्ने व्यवस्था मिलाएका छौं । परिणाम हेरेर क्वारेन्टाइन्मा बस्नु पर्ने वा घर जाने व्यवस्था मिलाएका छौं ।

    गरिब र असाहयका लागि गम्भिर प्रकृतिको रोग लाग्दा केही आर्थिक सहयोग दिने नीति छ ?
    पक्कै पनि नगर भनेको सम्पूर्ण नगरबासीको अभिभावक भएको नाताले र हाम्रो जिम्मेवारी भएको हिसाबले पनि यस नगरपालिका भित्रका आर्थिक विपन्नता खेप्नु भएका तथा असाहयहरुकालागि नगरपालिकाको कार्यपालिकाले नै निर्णय गरि प्रत्येक व्यक्तिलाई गम्भिर प्रकृतिको रोग लाग्दा हामीले अस्पतालको कागजात हेरी गत आ.व सम्म रु. बीस हजारका दरले प्रदान गरेको नगद सहयोग लार्ई नगरको आफ्नो बजेटको आकार सानो र अत्याधिक गम्भिर प्रकृतिको रोगका विरामीको चापले गर्दा कोहि नछुटुन भन्ने उद्देश्यका साथ यो आर्थिक वर्ष बाट रु. पन्ध्र हजारका दरले नगद आर्थिक सहयोग गर्दै आईरहेका छौं । नेपाल सरकारले तोकेको अस्पतालहरुमा गम्भिर प्रकृतिको रोग लाग्दा पाउने विपन्न नागरिकको हिसाबमा अस्पताललाई रु. एक लाख सम्मको सहुलियत दिन सिफारिस समेत दिने गरेका छौं । यस्तै नगरभित्र रहेका हरेक नागरिकका लागि मोतिविन्दु न्यूनीरकण गर्न आँखा उपचारको निशुल्क व्यवस्था गरेका छौं । श्रवणशक्ती कम भएका जेष्ठ नागरिकहरुलाई हेयर रिङ मेशिन उपलब्ध गराउने नीति लिएका छौं । प्रत्येक टोलटोलमा प्रत्येक महिना जेष्ठ नागरिकहरुको सामान्य स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य कर्मी परिचालन गर्ने नीति लिएका छौं । सुत्केरी हुने महिलाहरुका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने नीति लिएका छौं ।

    कृषिलाई आधुनिकिकरण, यान्त्रिकिकरण, व्यवसायिकरण र बजारीकरण गर्ने कार्यक्रम ल्याउनु भएको छ ?
    कृषि, व्यापार र पर्यटनः हाम्रो सशक्त अभियान भन्ने मुल नारालाई हामीले सार्थकता तुल्याउन कृषिमा विशेष योजनाहरु समावेश गरेका छौ । कृषिमा आत्मनिर्भरका साथै व्यवसायिकमूलक समेत गर्न सक्ने गरी हामी योजना कार्यान्वयनमा ल्याउन तयारी अवस्थामा रहेका छौं । परम्परागत कृषि प्रणालीलाई सुधार नगरेसम्म कृषिमा व्यावसायिकरण गर्न कठिनाई भएको हुँदा नयाँ नयाँ कृषि उपकरणहरु वितरण, उन्नत जातका विऊ विजन, प्राविधिक सहयोग, निरन्तरको अनुगमन तथा परामर्श कार्यक्रम जहाँ कृषक आफैले उत्पादन गरेको क्षेत्रमा गई सहयोग पु¥याउने खालका योजना हामी सँग छन् । कृषिका लागि पकेट क्षेत्र तथा पकेट जोन निर्धारण गरी कार्यक्रमहरु अघि बढाउन सिंचाईको व्यवस्थाका लागि आवश्यक ठाउँमा डिप बोरिङ गरि सकिएको छ । व्यक्तिगत तथा सामुहिक खेति प्रणालीको अवधारणा ल्याएका छौं । भौतिक रुपमा कृषि उजप उत्पादन बढाउन गर्नु पर्ने कार्यक्रमहरु हामीले तय गरि सकेका छौं । बैज्ञानिक तरीकाबाट कृषि कार्यलाई प्रभावकारी बनाउन हामीले डिजिटक कृषिको अवधारणा ल्याएका छौं । विभिन्न संघसंस्था तथा सरोकारवाला निकायहरुको सहकार्यमा प्रत्येका कृषले सजिलै चलाउन सक्ने सफ्टवेयरको विकास गरी आजको मौसम, पछि हुने मौसम अनुमान, आजको बजारीकरण तथा हामीले आज सुरुगरेको कृषि पछि उपयोग गर्ने बेलामा उत्पादित बस्तुको कस्तो अवस्थामा बजारीकरणको व्यवस्था हुनेछ भन्ने अनुमान गरी कार्य गर्न सक्ने अवधारणा ल्याएका छौं ।कृषिबाट उत्पादित बस्तुलाई गाउँटोलबाट वडामा रहेको खाद्य तथा तरकारी संकलन केन्द्रमा संकलन, प्रत्येक वडाको संकलन केन्द्रबाट नगरको आफ्नै नगर कृषि एम्बुलेन्सबाट नगरको संकलन केन्द्रमा संकलनको व्यवस्था मिलाई नगरबाट आफ्नै ब्राण्ड बनाई अन्य शहर लगाएत राजधानी सम्म लगि बजारीकरण व्यवस्था गर्ने कार्य अन्तिम चरणमै पुगिसकेको अवस्था छ ।

    बेरोजगार युवायुवतीलाई कसरी रोजगार सिर्जना गर्दै हुनुहुन्छ ?
    बेरोजगारको समस्या एकै पटक समाधान हुने विषय हैन तैपनि हामीले बेरोजगार रहेका युवायुवतिको तथ्यांक संकलन गरेका छौं जसमध्ये दक्ष, अर्धदक्ष, तथा अदक्ष जनशक्ति वर्गिकरण गरी उपयुक्त किसिमको तालिमहरु पनि प्रदान गर्दै आइरहेका छौ जस्तै ः वाइरिङ सम्बन्धि तालिम, होटलकुक सम्बन्धि तालिम, प्लम्बिङ सम्बन्धि तालिम, भेटेरिनरी सम्बन्धि तालिम, कृषि सम्बन्धि तालिम, सिलाईकटिङ तालिम, ड्राइभिङ सम्बन्धि तालिम, कृषिका तथा फलफुल खेति सम्बन्धि तालिम संचालन गरी आवश्यकता अनुसारको तालिम प्रदानको व्यवस्था गरेका थियौ । सहुलियतमा कृषि कर्जा, कृषि, पशुपालनको क्षेत्रमा अनुदानको व्यवस्था पनि गर्ने कार्यक्रम अगाडी सारेका छौं ।आवश्यकताको आधारमा युवायुवतिको क्षमता दक्षताको आधारमा पनि तालिमहरु संचालन गरी स्वाबलम्बी नागरिक बनाउने हाम्रो अभियान जारी छ । नगरपालिकाले आवश्यकताको आधारमा निशुल्क तालिमको व्यवस्था गरी स्वरोजगारको क्षेत्र विस्तार गर्ने नीति समेत लिएको हुँदा हामी हाम्रो नगरपालिका भित्रका सबै बेरोजगार युवायुवति जो नगर विकासका सम्बाहक हुन् उनीहरुको सम्पन्नता नै सिङ्गो नगरको विकास भएको हुँदा नगरपालिकाले रोजगार सिर्जना बृद्धि गर्ने खालका कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा लिएको छ । विभिन्न समयमा सञ्चालन भएको तालिम पश्चात तालिममा सक्रिय सहभागी हुनुभएका कतिपय नगरबासीहरु युवायुवतिहरु जो बेरोजगार हुनुहुन्थ्यो उहाँहरु कि त रोजगारीमा हुनुहुन्छ कि त तालिम पश्चात आफैले व्यवसाय गरेर बस्नु भएको छ । बेरोजगार युवा युवतिहरुको क्षमताको विकास गराई उहाँहरु नै अन्य बेरोजगारहरुलाई रोजगार दिन सक्ने बनाउनु हाम्रो लक्ष्य छ ।

    पालिकास्तरमा भू–उपयोग नीति तयार गरी बस्ती, खेती, औद्योगिक क्षेत्र तथा पार्क र वन क्षेत्र घोषणा भएको छ ?
    नगरको विकास तथा वातावरणीय पक्षलाई ध्यानमा राखी हामीले हाम्रो नगरमा भूउपयोग नीति तयार गरेका छौं । भौगोलिक विविधताले जटिल रहेको यस नगरपालिकामा सबै क्षेत्रमा एकै किसिमको तरिकाले कार्य गर्दा त्यसको प्रतिफल पक्कै राम्रो आउँदैन त्यसैले हामीले सुरक्षित स्थानमा बस्ती विकास, ममिलो क्षेत्रमा कृषि उत्पादन, वातावरणमैत्री उद्योग स्थापनाको लागि औद्योगिकग्रामको स्थापना पनि गरेका छौं । प्रत्येक वडा एक नमूना पार्क स्थापना गर्ने नीति लिईसकेका छौं। वन क्षेत्रलाई संरक्षत तथा वन क्षेत्रभित्र पनि वातावरण सुहाउँदो जडिबुटी तथा फलफुलमय वन क्षेत्र बनाउने समेत कार्य अगाडी रहेको छ ।

    महिला, दलित, अल्पसंख्यक र पछाडि पारिएका वर्गका लागि के के कार्यक्रमहरु छन् ?
    सम्पूर्ण नागरिकहरुको जीवनस्तर उकास्नका लागि नागरिकमैत्री नीति तथा कार्यक्रमहरुको निर्माण गरेका छौं । नगरबाट प्रभाव हुने हरेक अवसरहरुमा महिला, दलित तथा पछाडी परेका वर्गका लागि पहिलो अवसर सिर्जना गर्ने खालका कार्यक्रमहरु तय भएका छन् । महिलाहरुको आत्मसम्मान पूर्वक समाजमा जीउन सक्ने कार्यक्रमहरु तयार गरेका छौं । महिलाहरुको विभिन्न समयमा आवश्यक सहजिकरण तालिम, नेतृत्व विकास गर्ने कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । परापूर्वककालदेखि सञ्चालनमा रहेका आफ्ना आफ्ना पेश व्यवसायहरुलाई सञ्चालनमा ल्याउने वर्ग, समुदायलाई अनुदानका कार्यक्रमहरु, बैज्ञानिक तारिकाबाट उत्पादन गर्न आधुनिक उपकरणहरुको व्यवस्था समेतको व्यवस्था मिलाएका छौं ।

    कार्यालयबाट सम्पादन हुने सबै कामहरुको नागरिक बडापत्र तयार गरी सबैले देख्ने ठाउँमा राखी त्यस बमोजिम अनुशरण भएका छन् ?
    नगरपालिका, वडा कार्यलय, स्वास्थ्य संस्था तथा नगरपालिका मातहतका कार्यालयहरुबाट सम्पादन गरिने सबै कामहरुको नागरिक बडापत्र तयार छन्, सबैले देख्ने ठाउँमा पनि राखिएको छ । बडापत्र अनुसार नियमानुसारको कार्य छिटो छरितो तवरले प्रभाह भैरहेका छन् ।

    पालिकाको वेबसाइट निर्माण गरी पारदर्शी बनाइएको छ ?
    पालिकाको वेबसाईट निर्माण गरिएको छ । सुधारका क्रमलाई निरन्तरता दिएका छौं । नगरपालिका बाट नगरका मातहतका कार्यालयहरुमा समेत सेवा विस्तार गरी सूचना प्रविधिको माध्ययम बाट सेवा प्रदान गरिने र सेवाग्राहीहरुले समेत प्रविधि मार्फत सेवा लिने व्यवस्थाको विस्तार जारी गरिएको छ । निरन्तर मूल्यांकन, अनुगमन तथा परामर्श समेत प्रविधिको माध्ययम बाट गर्ने योजना रहेको छ । नगरबाट सम्पादन हुने सबै कामको अभिलेखिकरण राखि सबैले हेर्न तथा आवश्यक सुझाब दिन सक्ने गरी पारदर्शी तरिकाबाट कार्य भइरहेको छ ।

    तपाईंको कामबाट नगरबासी खुशी छन् ? आफ्नो कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने सपना छ ?
    लामो समयको अन्तरालपछि जनताले चाहेका हामी जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा सरोकारवालाहरु सबैको अथक प्रयासमा नगरबासीहरुको इच्छा आकांक्षा लाई सम्बोधन गरी नयाँ नयाँ प्रविधियुक्त विकास दिई नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउन, सेवा प्रवाहमा पारदर्शीता कायम गर्न हामी हरदम तयार छौं । विकास निर्माणका योजनाहरुमा सबैको पहुँच पुग्ने उद्देश्यका साथ योजना निर्माण, सञ्चालन भईरहेको छ कतिपय योजना निरन्तर सम्पन्नको अन्तिम चरणमा रहेका छन् ।नगरबासीहरु खुसी भएपनि हामी सन्तुष्टि छैनौं किनकी विकास निर्माण अन्त्य हुने विकास नभएको हुनाले निरन्तर हामी हाम्रो कर्ममा लागि परेको अवस्थामा निराश हुने अवस्था पक्कै पनि हामी हाम्रा नगरबासीहरुलाई दिने छैनौं ।

    धार्मिक हिसाबमा नमोबुद्ध, ह्रेन्जेन दोर्जे, कुण्ड लगायतलाई कसरी जोड्नुहुन्छ ? धार्मिक पर्यटनको कत्तिको सम्भावना देख्नुहुन्छ तपाईंको नगरपालिकामा ?
    विश्व सम्पदा सूचीमा समेत समावेश हुनु पर्ने नमोबुद्ध परिषर हाम्रो धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको एक सम्पदा हो । यहाँ वार्षिक लाखौं स्वदेशी तथा विदेशी धार्मिक पर्यटकहरु आउने हुँदा हामीले नमोबुद्ध विकास समिति मार्फत नमोबुद्ध परिषरको वृहत गुरुयोजना तयार पारी अझ थप विकास गर्न योजनाहरु सञ्चालन भइरहेका छन् । नमोबुद्ध परिषर लाई केन्द्रविन्दु बनाएर प्रत्येक वडामा एक बुद्ध पार्क स्थापना गर्ने क्रम जारी रहेको छ । नमोबुद्ध परिषरबाट प्रत्येक वडामा रहेका बुद्ध पार्कहरुमा पर्यटन क्षेत्र विकास गर्न बुद्ध सर्किट निर्माण गरिएको छ । नमोबुद्ध परिषर आएका धार्मिक पर्यटकहरु दाप्चा बजार हुँदै नेपाने बुद्ध पार्क, रजबम पोखरी बुद्ध पार्क, जगवैज्येश्वर मन्दिर, अमरअखण्ड मन्दिर, ह्रेञ्जेन दोर्जे मार्ग हुँदै कानपुरमा रहेको ऐतिहासिक रक्तकालि मन्दिर सम्म समेत जान सक्ने सर्किट निर्माण गरिएको छ साथै पर्यटकहरुका लागि सो सर्किट भएर आवत जावतका क्रममा सुविधाका लागि विभिन्न स्थानमा पार्क, होमस्टे सञ्चालन गरिने योजना रहेको छ । यसले नमोबुद्धमा पर्यटन विकासको क्षेत्रलाई एक मेरुदण्ड समेत महत्व दिई कार्यक्रमहरु सञ्चालनलाई निरन्तरता दिइँदै आएका छौं । नमोबुद्ध नगरपालिका एक ऐतिहासिक क्षेत्र रहेको भूमी हो । यहाँ कैयौ ईतिहास बोकेको सम्पदाको धनी नगरपालिका भएको हुनाले यहाँ रहेका ऐतिहासिक मठमन्दिर, पाटीपौवा, गुम्वा, कुण्ड, पोखरी तथा अन्य सम्पदाहरुको हामीले संरक्षण तथा सम्बर्धन गरी पर्यटन विकास बनाउने लक्ष्य नगरपालिकाले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस