२०८० मंसिर २२, शुक्रबार | Fri, 08, Dec, 2023

कृषिबस्तुको पकेट क्षेत्र विकासमा विशेष प्राथमिकता दिईरहेका छौं : शिवप्रसाद हुमेगाई, प्रमुख प्रशासकीय अधिकृत पाँचखाल नगरपालिका

  • २०७९ अषाढ ७, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४८५ पाठक संख्या
  • ० चालु आर्थिक वर्षको लागि बनाइएको योजनाहरु के–के सम्पन्न भए ? कति बाँकी छन् ?

    हामीले चालु आर्थिक वर्षमा लगभग ८ किलोमिटर सडक कालोपत्रे गरिसकेका छौं । यसैगरी १८ किलोमिटर पक्कि नाली निर्माण गरिसकेका छौं । अरु धेरै धेरै वटा सडकहरुमा ग्राबेल गर्ने लगायतका कामहरु भइरहेको छ । योसँगै सामाजिक तथा आर्थिक विकासको पाटोमा पनि धेरै काम भएको छ । विशेषगरी कृषिको क्षेत्रमा धेरै वटा कार्यक्रमहरु गरेका छौं । पशुको क्षेत्रमा पनि धेरै वटा कार्यक्रमहरु भएको छ । भैंसीको पाडापाडी वितरण गर्ने काम गरेका थियौं । फेरी हामी उन्नत जातका बाख्रा वितरण गर्ने तयारीमा छौं । केही दिन अगाडी मात्र साना उद्यामीहरुको विकासको लागि भनेर १५ वटा सिलाई मेशिनहरु पनि वितरण गरेका छौं । त्यसैगरी किसानहरुको आयआर्जमा वृद्धि होस् भन्ने उद्देश्यका साथ ४५ वटा पोलिथिन ड्रम पनि वितरण गरेका छौं । उद्यमीहरुलाई तालिम दिएपछि मात्र यो वितरण गरेका थियौं । करिब एक सय जना जतिलाई मुढा, धुप र जुत्ता बनाउने तालिमहरु पनि दिइसकेका छौं । हामीले अहिलेसम्म गरेका काम यस्ता किसिमका छन् । अब २० प्रतिशत जति काम बाँकी रहेको छ । त्यो पनि आर्थिक वर्षमा सम्पन्न भइसक्ने छ ।

    ० महिला तथा युवाको क्षेत्रमा भएको विशेष कार्यक्रम के–के हो ?

    महिला र युवाहलाई स्वरोजगार बनाउन विभिन्न तालिमहरु सम्पन्न गरेका छौं । स्थानीय स्रोत साधनको प्रयोग गर्न सकिने गरी काम गर्ने खालको वातावरण मिलाउनको लागि विभिन्न पहलहरु भइरहेको छ । विदेशबाट फर्किएकाहरुको लागि भनेर विशेष कार्यक्रमहरु पनि गरेका छौं । किशोरीहरुको आत्मसुरक्षा मनोसामाजिक तथा अन्य परामर्श सेवा तथा अन्य जीवनोपयोगी तालिमहरुको लागि स्रोत व्यवस्था भएको छ । द्वन्द एवं हिंसा पिडित महिला तथा बालबालिकाहरुका लागि सेभ हाउस (नगर सेवा केन्द्र) सञ्चालन गर्न लागि परेका छौं । ९० जना उत्पीडनमा परेका महिला, बालबालिका, दलित, अपाङ्ग, जेष्ठ नागरिक, एकल महिला, तेस्रो लिंगी र हिंसा पिडितका लागि आपत्कालीन कोषको व्यवस्था गरि परिचालन गरिने छ । सो कोषबाट व्यवसाय गर्न ईच्छुक महिलाहरुलाई सहुलियत ऋण उपलब्ध गराईने छ ।

    ० कृषिको कुरामा किसान परिचय पत्र दिने कार्यक्रहरु थियो । सँगै कृषिको क्षेत्रमा नगरपालिकाले गरेको कामहरु के–के छन् ?

    केही प्रकृयाका कारणले सम्पन्न भइरहेको छैन । सरकारले पनि यसमा ध्यान दिएको छ । सर्भेको काम भइरहेको छ । अहिले बाँकी अर्को आर्थिक वर्षमा सम्पन्न गर्ने भनेर पनि हामी लागि परेका छौं । बाँकी अरु कार्यक्रमको कुरामा समग्र कृषि क्षेत्रलाई सम्मानजनक, मर्यादित, आकर्षक पेशाको रुपमा विकास गरी प्रतिस्पर्धात्मक बनाउन आवश्यक पहलकदमी लिनुका साथै सहयोगी कार्यक्रमहरुमा जोड दिने भनेर लागेका छौं । साथै कृषिको व्यावसायीकरण तथा विविधिकरणमा जोड दिई आय आर्जन तथा रोजगारका थप अवसरहरू सृजना गरिएको छ । यसैगरी कृषि भूमिलाई गैर कृषि प्रयोगमा ल्याउन निरुत्साहित गरिने नीति अनुरुप यस न.पा.का कृषि योग्य भूमिको चारकिल्ला घोषणा गरी हरित क्षेत्र घोषणा गरिएको छ र सो क्षेत्रमा आवासीय घर व्यावसायीक घर, संरचना बनाउन पूर्णत निषेध गर्नको लागि काम भइरहेको छ । कृषि उत्पादन बढाउन ग्रामिण विद्युतिकरणलाई बढावा दिईने काम भएको छ । कम तौल बढि मुल्य र छोटो समयमा उत्पादन हुने वस्तुलाई प्राथमिकता दिएका छौं । अर्को कृषिवस्तुको पकेट विकासमा विशेष प्राथमिकता दिईरहेका छौं । कृषि उत्पादकत्व वृद्धि गर्न सशर्त अनुदान उपलब्ध गराउने व्यवस्था गर्ने काम भएको छ । कृषि उत्पादकत्व वृद्धि गर्नका लागि संघीय प्रदेश र अन्य स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी ८ ठुला परियोजनाहरु सञ्चालन गर्नको लागि पनि पहल भइरहेको छ । कृषि उत्पादन तथा व्यवसाय प्रवद्र्धनमा आवश्यक कृषि ऋण प्रवाहलाई उत्पादन तथा व्यवसायको प्रतिफलसँग आवद्ध गरी सुनिश्चित गर्ने काम पनि भएको छ । कृषि उपज संकलन प्रशोधन तथा बिक्रि केन्द्र निर्माणका लागि नगर विकास कोषले डि.पि.आर तयार गरेकोमा मसलाबाली विकास केन्द्रको परिसरको केही रोपनी जग्गा प्राप्तिको लागि पहल भइरहेको छ ।

    ० कृषिको लागि बाँकी योजनाहरु चाहीं के–के छ ?

    अतिवृष्टि, अनावृष्टि, रोग कीरा एवं अन्य दैवी प्रकोपहरूको आँकलन र कृषि राहत परिचालनका लागि सर्भे सर्भिलेन्स प्रणाली स्थापित गरी क्रियाशील राखिएको छ । पाँच रोपनी भन्दा कम जमीन हुने कम स्रोत साधन भएका कृषकहरूको पहिचान र वर्गीकरण गरी तोकिएका सुविधाहरू उपलब्ध गराएको छ । भूमि बैंकको स्थापना गरी स्थानीय निकायको सहभागितामा कृषि कार्यका लागि जग्गा किन्ने बेच्नेहरुलाई खेतियोग्य जग्गाको उपलब्धताबारे सूचना सेवा र आवश्यक पर्नेहरुका लागि ऋण सुविधा उपलब्ध गराइनेछ । किसानको पहिचान स्थापित गरिने छ । उच्च मुल्य वस्तु तथा सम्भावना बोकेका कृषि वस्तुहरुको पहिचान गरी तुलनात्मक लाभ लागतका आधारमा क्षेत्र विस्तार एवं व्यावसायीकरण मार्फत आत्मनिर्भरता तर्फ उन्मुख गराउने योजना छ । यसैगरी स्थानिय वातावरण हावापानी लगायत जलवायु परिवर्तन र प्राकृतिक प्रकोपसँग घुलमिल हुन सक्ने तथा त्यसबाट पर्न सक्ने सम्भाव्य असर न्यूनिकरण गर्न सक्ने प्रविधि एवं क्षमताको विकास गर्ने योजना छ । कृषि उत्पादनलाई स्तरिकरण र वर्गीकरण गरी बजारीकरण गरिने छ कृषकको आवश्यकता पहिचान गरी क्षमता अभिवृद्धिका योजनाहरु निर्माण गरिने छ । १५ स्थानीय रैथाने कृषि बिउको पहिचान गरी संरक्षण र प्रवद्र्धन गर्नका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने पनि योजना रहेको छ ।

    ० शिक्षा र सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई मुहूर्त रुप दिनको लागि र समग्र खेलकुद क्षेत्र विकासको लागि नगरपालिकाले के–के काम गरिरहेको छ ?

    रोजगार र सीपमूलक शिक्षाको विकासका लागि विद्यालयमा प्राविधिक तथा व्यावसायिक धार सञ्चालन गर्ने कार्यलाई प्राथमिकता दिईने काम भएको छ । वडा नं ७, १० र १२ मा मदन भण्डारी प्राविधिक विश्व विद्यालय स्थापना र सञ्चालन गर्न आवश्यक सहजीकरण पनि भइरहेको छ । यसैगरी विद्यार्थी संख्या र विषयगत रुपमा दरबन्दी मिलान तथा विद्यार्थी संख्या कम भएको विद्यालयलाई क्रमशः नजिकको विद्यालयमा मर्ज गर्ने कार्यलाई निरन्तरता दिई पठनपाठनलाई प्रभावकारी बनाउने हाम्रो प्रयास पनि जारी नै छ । विद्यार्थीहरुको बहुआयामिक प्रतिभा विकासका लागि नगरस्तरीय मेयरकप खेलकुद प्रतियोगितालाई निरन्तरता दिइरहेका छौं । नगर शिक्षा समितिको सक्रियतामा नगर स्तरीय शिक्षा योजनाको निर्माण र कार्यान्वयनलाई प्राथमिकता दिईने काम पनि भइहरेको छ भने कक्षा १ देखि ३ सम्म स्थानिय पाठ्यक्रम निर्माण गरी लागू गरिने भनेर पनि लागेका छौं । नगरको शैक्षिक स्तर गुणस्तरीय बनाउन नीजि शैक्षिक संस्था र सामुदायिक विद्यालयहरु बीच आपसी समन्वय गरी दुबैको राम्रा पक्षहरुलाई सबलीकरण गर्नको लागि हाम्रो पालिका लागि परिरहेको छ । सबैका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई मुहूर्त रुप दिन खेलकुद सम्बन्धि कार्यक्रमहरुको प्रवद्र्धन गर्नेछौं ।

    ० नगर स्तरीय अस्पताल बनाउने काम के भइरहेको छ ? बाँकी स्वास्थ्यका कार्यक्रमहरु के–के छन् ?

    जग्गा थिएन त्यसकारण सरकारी जग्गा लिजमा लिनुपर्ने अवस्था आयो । त्यो प्रकृया अहिले सक्कियो । डिपिआर पनि भयो । तुरुन्तै टेण्डरको प्रकृया सुरु हुन्छ । त्यसपछि काम भइहाल्छ । महिला स्वास्थ्य स्वयंसेविकालाई उपलब्ध गराइएको यातायात खर्चलाई निरन्तरता दिने काम भयो । कोभिड १९ को नियन्त्रण र रोकथामको लागि समाजकल्याण प्रा.वि.मा हाल अस्थाई क्वारेन्टाइन तथा आइसोलेसन वार्डको स्थापना गरिएको र सो समाजकल्याण प्रा.वि.लाई अस्थाई अस्पतालको रुपमा विकसित गरि सेवा संचालन गरेका थियौं । वडा नं ७ मा अस्पतालको डि.पि.आर. तयार गरि मन्त्रालयबाट विनियोजित रकमबाट अस्पताल संचालनमा ल्याउने पहल भयो । हाम्रो नगरभित्रका मोतियाबिन्दुबाट पिडित जनसमुदायको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाईनेछ साथै मानसिक रोगको निःशुल्क विशेषज्ञ सेवालाई निरन्तरता दिने काम पनि भयो । यो आ.व.मा स्वास्थ्य वीमा कार्यक्रमलाई प्राथमिकतामा राखि सम्पूर्ण नगरवासी समक्ष पु¥याईनुको साथै जति विपन्न नागरिकलाई न.पा.बाट वीमा गराउन आर्थिक सहयोग गर्ने काम पनि भएको छ । यसैगरी नगरपालिकाको सबै वार्डहरुबाट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यसै आ.व. देखि वडा नं ४ मा शहरी स्वास्थ्य केन्द्र स्थापना गरि संचालनमा ल्याउने काम पनि भएको छ । शहरी स्वास्थ्य केन्द्र, वर्थिङ सेन्टर, ल्याब, एक्स रे, मनोविदेश तथा का.स. को सेवा करारलाई निरन्तरता दिने काम छ । प्रत्येक वार्डमा निशुल्क भिडियो एक्सरे सेवा तथा क्याल्सियम, फोलिक एसिड निःशुल्क रुपमा गर्भवती तथा सुत्केरीलाई वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिनुका साथै यस आ.व. मा पोषण कार्यक्रमलाई विशेष प्राथमिकता दिने काम पनि भएको छ ।

    ० खानेपानी तथा सरसफाईको क्षेत्रमा नि ?

    सबै घरमा खानेपानीको पहुँच पु¥याउन चालु आ.व.मा संचालित खानेपानीका आयोजनाहरुलाई आगामी आ.व.मा समेत निरन्तरता दिई पूर्णता दिने प्रयास जारी छ । यसैगरी नगर खुला दिशामुक्त क्षेत्र घोषणा भईसकेकोले पूर्ण सरसफाईको लागि सो कार्यलाई निरन्तरता दिने काम पनि भयो । नगरको गौरवको रुपमा निर्माण हुन गईरहेको योगदानमा आधारित सुनकोशी खानेपानी आयोजनालाई गुणस्तरीय रुपमा सम्पन्न गराई घरघरमा खानेपानी वितरण गर्न नगरपालिकाको विशेष पहलकदमी रहने छ । प्रत्येक स्वास्थ्य संस्थामा महिनाको १ पटक विशेषज्ञ सहितको घुम्ति स्वास्थ्य सेवा सञ्चालन गर्ने काम पनि भइरहेको छ । मृगौला बचाउ अभियानका लागि प्रत्येक नागरिकको निःशुल्क परीक्षणको व्यवस्था गरिनेछ । पाँचखाल नगरपालिका क्षेत्रमा सरसफाईका लागि श्रोतमा नै फोहोरको वर्गिकरण गरी निजी क्षेत्रको साझेदारीमा फोहोर मैला व्यवस्थापनको आवश्यक व्यवस्था मिलाएको छौं । प्रत्येक घरमा सेफ्टी ट्याङकी अनिवार्य गर्ने काम पनि भएको छ ।

    ० बालबालिका तथा जेष्ठ नागरिकको लागि कार्यक्रमहरु चाहीं के–के छन् त ?

    नगरबासी जुटौं बालविबाह रोकौं जस्ता कार्यक्रम मार्फत बालविबाह रोकथाम कार्यक्रम सञ्चालन भइरहेको छ । बालबालिका भविष्यका कर्णधार र वर्तमानको साझेदार भन्ने तथ्यलाई केन्द्रमा राखेर बालबालिकाको सर्वाङ्गिण विकास संरक्षण र सहभागितामा जोड दिने काम पनि भएको छ । जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने ऐन नियमावली अनुसार ३५ दिनभित्र घटना दर्ता गराउने काम एवं दर्ता शिविर सञ्चालनलाई निरन्तरता दिएका छौं । विपन्न तथा सहारा बिहिन बालबालिकाहरुको शैक्षिक प्रबन्धको लागि आवश्यक व्यवस्था मिलाएका छौं । नगरका जेष्ठ नागरिकहरुको अन्तरक्रिया कार्यक्रमबाट परम्परागत ज्ञान र सीपको प्रवद्र्धन गरिने छ । नगरको सबै विद्यालयहरु र वडाहरुमा बालक्लब गठन, तालिम र क्रियाकलापको माध्यमबाट बालबालिकाहरुको क्षमता विकासका अवसरहरु सिर्जना गरिने छ ।

    ० सामाजिक सुधार अन्तर्गत भएका कार्यक्रमहरु चाहीं के–के छन् त ?

    समुदाय तथा संघ संस्थाहरुको सहयोगमा लागू औषध रोगथाम र नियन्त्रण तथा घरेलु हिंसाका गतिविधिहरुमा रोक लगाउने काम गरेका छौं । नगर स्तरीय कोसेली घर स्थापना गरी यहाँका नागरिकहरुले उत्पादन गरेका परम्परागत र विशेष वस्तुहरुको प्रदर्शनि र बिक्री प्रबन्ध मिलाएका छौं । भूमीहिन एवं सुकुम्बासीको पहिचान गरी जीविकोपार्जनका लागि आयस्रोत वृद्धि कार्यक्रम छ । अवैध घरेलु मदिरा सम्बन्धि ऐनको प्रभावकारी कार्यान्वयन गरिनेछ । जेष्ठ नागरिक तथा बालबालिकाका लागि समेत समेट्ने संयुक्त पार्कको निर्माणलाई निरन्तरता दिएका छौं ।

    ० अपाङ्गताको क्षेत्रमा गरिएका काम के–के छन् ?

    ० अपाङ्गता भएका महिलाहरुको लागि यौन तथा स्वास्थ्य प्रजनन् अधिकार, महिला हिंसा नेतृत्व विकास र सशक्तिकरण सम्बन्धि तालिमहरु सञ्चालन गरेका छौं । केही व्यक्तिहरुलाई आवश्यक सहयोगी सामाग्रीहरु निःशुल्क (व्हील चियर, सेतो छडी, श्रवण यन्त्र, विशेष किसिमको जुत्ता आदि उपलब्ध गराएका छौं । अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय–पत्र, स्वस्थ्य सेवा सर्वसुलभ बनाउन घुम्ति शिविर सञ्चालन भएको छ ।

    ० न्यायिक समिति अन्तर्गत भएका कार्यक्रमहरु के–के छन् ?

    न्यायिक समितिलाई व्यवस्थित र साधन सम्पन्न बनाई छिटो न्याय प्रदान गर्नेछौं । सामुदायिक मेलमिलापलाई प्राथमिकता दिंदै न्यायिक समितिमा परेका उजुरीहरुलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने कार्यलाई प्रोत्साहन दिंदै आएकोमा यसलाई निरन्तरता दिने काम भएको छ । अघिल्लो बर्ष न्यायीक समिति जिल्लामानै उत्कृष्ठ भयो । सामुदायिक मेलमिलापकर्ताहरुलाई नगरपालिकाबाट मेलमिलापको लागि पठाईएका विवादहरुको समाधान गर्न बस्नुपर्ने बैठकलाई मध्यनजर राखि खाजा खर्चको व्यवस्था भएको छ । न्यायिक समितिबाट भएका निर्णय र मिलापत्रलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने काम पनि भएको छ । घरेल हिंसा र जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह सम्बन्धी विवादलाई न्यायिक समितिले प्राथमिकताका साथ छिटो छरितो रुपमा निरुपण गरिदै आएकोमा आगामी दिनमा यसलाई निरन्तरता दिने काम पनि भएको छ ।

    पलाञ्चोक साप्ताहिकबाट

    प्रतिक्रिया दिनुहोस