२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

“समृद्धिका लागि जनप्रतिनिधिले योगदान गर्नुपर्छ”

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ११५७ पाठक संख्या
  • तारामान लामा, वडा अध्यक्ष
    पनौती नगरपालिका वडा नं ११ बल्थली

    तारामान लामाको जन्म पिता कान्छामान तामाङ र माता भुनकुमारी तामाङको कोखबाट वि.सं २०३४ माघ १० गते भएको थियो । राजनैतिक पारिवारिक पृष्ठ भूमिमा जन्मनु भएका लामाका पिता २०३६ सालमा वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो । लामा हालको काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका ११ नेपाने साबिक बल्थली गाबिस वडा नम्बर ५ नेपाने बल्थलीमा जन्म भएको हो । सानैदेखि लगनशिल, मिलनसार र सहयोगी रहनुभएका लामा २०४६ सालदेखी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघबाट राजनैतिक जीवन शुरू गर्नुभएको थियो । विद्यालय जीवन पश्चात पुर्णकालिन राजनैतिक क्षेत्रमा विभिन्न भूुमिकामा रहदै नेपाली काँग्रेसको क्षेत्रीय सदस्य, आदिवासि जिल्ला जनजाति समन्वय समितिको उपाध्यक्ष हुदँै देश संघीयतामा गएसँगै भएको स्थानीय चुनाबबाट पनौती नगरपालिका वडा नं ११ बल्थली काभ्रेपलाञ्चोकको वडा अध्यक्ष निर्बाचित हुनुभएका लामा पनौती नगरपालिकाकै कान्छो र तामाङ समुदायको एक मात्र अध्यक्ष हुनुहुन्छ । उनै वडा अध्यक्ष लामासँग कोरोना महामारी सँगै स्थानीय तहमा देखिएका समस्या, स्थानीय बजेट, विकास निर्माणसँग सम्बन्धित रहि सरोज सापकोटाद्वारा गरिएको कुराकानी :

    ० लक डाउनमा दिनहरू कसरी बिताइरहनु भएको छ ?
    सर्वप्रथम कोभिड १९ को माहामारीमा हाम्रो वडा तथा वडावासीहरूलाई जोगाउन लकडाउन अवधिभर हामी विभिन्न सूचना अभियानमा लागिनै रह्यौ । विभिन्न देशहरूवाट स्वदेश फर्किनुभएका व्यक्तिहरूको आरडिटी परीक्षण भएको थियो । तत्पश्चात नगरको क्वारेन्टाइनमा राख्ने प्रवन्ध पनि गरियो । क्वारेन्टाइन पुरा गरि फर्कनुभएको सवैलाई आफ्नो घरमा फर्काइ व्यवस्थित रहन बस्न सचेत गराइयो । साथै विकासको नियमित कार्यहरूमा सक्रिय रहँदै आएको छु ।

    ० कोरोना भाइरस कोभिड १९ का कारण पनौती नगरपालिका त्यसमा पनि बल्थली वडा भित्रको अबस्था कस्तो छ ?
    हालसम्म कुनैपनि व्यक्तिमा कोरोना संक्रमण फेला परेको छैन । यद्यपि, भारतलगायत विभिन्न देशवाट वडा भित्र आउनु भएका सबैको परिक्षण गरिएको र हालसम्म अवस्था सामान्य रहेको छ ।

    ० कोभिड १९ रोकथाम र न्यूनिकरणका लागि अहोरात्र लडिरहनुभएका स्वास्थ्यकर्मीहरूलाई युवा जनप्रतिनिधीको प्रतिनिधित्व गर्दै के भन्नुहुन्छ ?
    स्वास्थ्यकर्मी भनेका अहिले सबैभन्दा पहिलो पंतिमा लड्ने सिपार्हीहरू हुनुहुन्छ । वहाँहरूको कार्यको उच्च सम्मान गर्दछौ र वहाहरूको कार्यमा सहयोग गर्न हामी जुनसुकै समय र अवस्थामा तयार छौं ।

    ० कोरोना महामारी तपाईको वडा क्षेत्रमा फैलन नदिन कस्ता काम र योजना अगाडी सार्नु भएको छ ?
    सर्वप्रथमतः विशेष गरि विदेशबाट आउनु भएका व्यक्तिहरूलाई क्वारेन्टाइन राख्ने प्रवन्ध गरिएको छ । त्यस पश्चात आवश्यक परिक्षणपछि घरमै १४ दिन विशेष निगरानिका साथ बस्न व्यवस्था गरिएको छ । वडा भित्र कुनै पनि प्रकारको भिडभाडलाई बन्देज गरिएको छ । अवस्था हेरी पसल होटेल र सार्वजनिक स्थानलाई बन्द गर्ने निर्णय पनि वडा समितिले गरेको छ साथै व्यक्तिगत सफाइको लागि सचेतना पनि गरिएको छ ।

    ० यो बर्षको बजेटमा पहिलो प्राथमिकता के लाई राख्नु भएको छ किन ? 
    समग्रमा हाम्रो वडा सडक पूर्वाधारमा कमजोर भएको हुँदा सडक निर्माणलाई नै पहिलो प्राथमिकतामा राखिएको छ ।

    ० बल्थली त कृषि उपजको उर्वर भुमी कृषिको क्षेत्रमा के कस्ता काम भएका छन् ?

    कृषिको उर्वर भुमि भएतापनि सिंचाईको समस्याबाट हामी पिडित छौं । त्यसैले सिंचाईको लागि प्रत्येक वर्ष बजेटको व्यवस्था गरेका छौं र कृषि उपजको बजार व्यवस्थापनका लागि सहजिकरण गर्ने कार्य पनि भएको छ ।

    ० बल्थली क्षेत्रमा पर्यटन व्यबसायको पछिल्लो अबस्था कस्तो छ ?
    कोभिड १९ कारण विश्वको पर्यटन व्यवसाय धरासायि भएको अवस्थामा बल्थली अधुरो रहेन, हाल रिसोर्ट, होमस्टे बन्द अवस्थामा रहेका छन् । यद्यपि बल्थली आउन चाहाने व्यक्तिहरूको कमि अहिले पनि छैन ।

    ० कोरोना भाइरसका कारण उद्योगी ब्यबसायीहरूले बैकं बाट लोन लिएर ब्यबसाय संचालन गरेका छन् । ब्यवसायीहरू लाई राहत दिलाउन बैंकहरूसँग के कस्तो सहकार्य गर्नुभएको छ ?
    कोभिड १९ का कारण उद्योग व्यवसायहरूको अवस्था संकट ग्रस्त रहेको छ । आर्थिक अवस्था दिन प्रतिदिन गिर्दै रहेको कारण बैङ्कको किस्ता र व्याज समेत तिर्न कठिन रहेको अवस्थामा यस वडाको वडा अध्यक्षको नाताले व्यवसायिको आवस्यकतार अनुरोध हेरी समन्वय तथा सहजिकरण गर्न सकिनेछ ।

    ० कोरोनाबाट बेरोजगार भएका तथा विदेशबाट फर्किने पनौती र त्यसमा पनि बल्थली क्षेत्रका युवाहरू लाई समेट्न के कस्तो योजना बनाउनु भएको छ ?
    बेरोजगारीको अवस्था अवको दिनमा बढ्ने सम्भावना छ । यसर्थ ती जनशक्तिहरूलाई स्वरोजगार कार्यमा संलग्न गराइने छ । यस वर्षका विकास निर्माण कार्यमा मेशिन भन्दा बढी जनशक्तिलाई प्रयोग गर्ने योजना छ । रोजगारी सिर्जनाको लागि संघीय सरकारको बजेटमा त ठोस कार्यक्रमहरू आउन सकेन । रोजगारी सिर्जनाको लागि मुलतः उद्योग धन्दा तथा कलकारखाना र ठूला विकासका आयोजनाहरू सञ्चालनमा आउनु पर्छ अनि मात्र देखिने खालको रोजगारीको अवसरहरू सिर्जना हुन्छ । ती कामहरू गर्न स्थानीय सरकारहरू सक्षम हुदैनन् र जिम्मेवारी भित्र पनि पर्दैन । तथापी हाम्रो बजेटको साँघुरो घेरा भित्र बसेर गर्न सकिने कामहरू कृषिलाई आधुनिकिकरण गरि यूवाहरूलाई कृषि कर्ममा आकर्षण गर्ने कार्यक्रमहरू निर्माण गर्ने योजनामा छौँ । सहकारीहरू परिचालन गरेर उद्यमविकासको लागि सहुलियत पूर्ण ऋण परिचालनका कार्यक्रमहरू, विकास निर्माणका काममा स्थानीय श्रमिक परिचालन गर्ने नीति लिने जस्ता साना तिना कार्यक्रमहरूबाट नगरपालिका भित्र रहेका नागरिकहरू रोजगार बाट बञ्चित कसरी नगराउने भनेर हामी छलफल गरिरहेका छौं । त्यसका लागि बिभिन्न उद्योगीहरू सँगको छलफल गरेका छौं साथै रोजगारका लागि वैंकसँग सहजीकरण गरि आर्थिक उपार्जनका लागि सहुलियत दरको ऋण ब्यबस्थापन गर्ने योजना बनाएका छौं ।

    ० कोरोना भाइरसबाट रोजगार समस्यामा परेका र अति बिपन्न गरिब परिवारलाई राहत दिलाउन के कस्तो कामहरू भयो र भइरहेका छन् ?
    कोरोना महामारीसँगै देखिएको समस्यालाई आधार मान्दै अति विपन्न परिवार यकिन गरि विशेष राहत व्यवस्थापन गरि श्रेणि विभाजन गरि करीब २ सय २५ परिवारलाई राहत वितरण भयो ।

    ० तपाईको वडामा विकासका कस्ता गतिविधीहरू भएका छन् ?
    वडा भित्र हाल ४ वडा सामुदायिक र १ निजि गरी ५ विद्यालयहरू छन् । समग्रमा वडाका सम्पूणर््ा क्षेत्रका बालबालिकाहरूको शिक्षामा सहज पहुँच छ । स्वास्थ्यका क्षेत्रमा बल्थली स्वास्थ्य चौकीमा हाल ७ जना स्वास्थ्य कर्मीले सेवा प्रदान गरिरहनुभएको छ । संचार, खानेपानी, सडक, विद्युत, खेलकुद क्षेत्रको अवस्था सन्तोषजनक रहेको छ । सांस्कृतिक सम्पदा र पूर्वाधार क्षेत्रको विकासका सम्वन्धमा उल्लेख्य प्रगति भइरहेको छ ।

    ० यहाँको सुरक्षा अबस्था र चुनौती के कस्ता छन् ?
    हालसम्म यहाँको सुरक्षा अवस्था सामान्य छ । खोपासी प्रहरी चौकीका सुरक्षाकर्मीको सक्रिय सहयोगले यो सम्भव भएको हो । तथापि वेरोजगरिको समस्याको कारण डकैतीको सम्भावना चाँहि छ ।

    ० महामारीको समयमा आफना नागरिकहरू लाई केही भन्नु पर्ने कुराहरू छन् कि ?
    पक्कैपनि यो माहामारीमा आम वडावासी महानुभावहरूले हामीबाट केही अपेक्षा गर्नुभएकै छ । अहिलेको पहिलो प्राथमिकता भनेको आफु बाँच्ने र अरूलाई बचाउनु पनि हो त्यसैले सुरक्षित रहाँै वडाबाट संप्रेशित सुचना तथा आग्रह लाई परिपालना गरी र घरमै सुरक्षित बसौ ।

    ० बल्थली समृद्ध बनाउन जनप्रतिनिधीहरू र नागरिकहरूले के गर्नुपर्छ जस्तो लाग्छ ?
    समृद्ध वडा तथा राष्ट्रका लागि जनप्रतिनिधिको योगदान महत्वपुर्ण छ । जनप्रतिनिधिहरूको सुझबुझ पुर्ण निर्णय र सक्रिय भुमिकाले मात्र विकासले मुर्तरूप दिन सक्छ र ग्राउन्ड लेभलमा बसेर कार्यान्वयन पक्षलाई वडा जनप्रतिनिधिहरूले नै गर्ने हो । त्यसैगरि सचेत नागरिकले पनि वडा तथा देश समृद्ध गर्न महत्वपुर्ण भुमिका खेल्न सक्छन् । उनिहरूले जनप्रतिनिधीहरूलाई सरसल्लाह सहयोग गर्न सक्छन ।

    ० अन्त्यमा भन्न चाहेका र भन्न छुटेका केही छन् कि ?
    सम्पुर्ण वडावासीहरूलाई पनौती नगरपालिका वडा नम्बर ११ ले यो आग्रह गर्न चाहान्छ की अनुशासन, सरसफाई, स्वास्थ्य कर्मीको सुझावसंगै यो माहामारीको अवस्थामा सबैलाई घरमा बसी सहयोग गरिदिनुहुन हार्दिक आग्रह छ ।

     

    यो सामाग्री काभ्रेबाट शुक्रवार प्रकाशित हुने बेथानचोक साप्ताहिकबाट लिइएको हो ।

    प्रतिक्रिया दिनुहोस