कुनै समय थियो, तरकारी खेतीका लागि प्रसिद्ध पाँचखालको नाम लिने बित्तिकै सबैले खेतीपातीमा विषादी धेरै प्रयोग हुने उपत्यका भनेर चिन्थे । यो भ्रम धेरै समयसम्म चलिरह्यो । तत्कालीन पाँचखाल गाविस र जिल्ला कृषि विकास कार्यालयले विषादी घटाएर खेती गर्ने योजनाहरु अघि सारि नै रहे । पछि पाँचखाल नगरपालिका गठन भएपछि विषादी मुक्त पाँचखाल बनाउनेमा पाँखलावासीको सबैको एकमात्र लक्ष बन्यो । त्यही अनुसार हालका मेयर महेश खरेलले पहिलो कार्यकालमै कृषि शहर पाँचखाललाई विषादीमुक्त बनाउने दृढ संकल्प लिनु भयो । अघिल्लो कार्यकालबाट सुरु भएको उहाँको संकल्प दोस्रो कार्यकालको एक वर्ष नपुग्दै पूरा भएका दृष्टान्तहरुले प्रमाणित गरेको छ । नगरपालिका र लवग्रीन पहलमा काठमाडौंमा चाबहिलमा बिक्री कक्ष खोलिएको छ भने ग्राण्डी भिल्ला भैंसेपाटी, मंगलबजार र बागडोललगायत उपत्यकाका विभिन्न स्थानबाट मौसममअनुसार आईपिएम बिधिबाट उत्पादित तरकारी बिक्री भइरहेको अवस्था छ ।
सन् २०१७ देखि पाँचखाल नगरपालिका र लवग्रीन नेपालको सहकार्यमा संचालित वातावरण मैत्री एकीकृत दिगो कृषि विकास परियोजनाअन्तर्गत पाँच वर्षमा धेरै थरिका क्रियाकलापहरु आयोजना भए । यी क्रियाकलपाहरु पूरा गर्नमा नगरभरिका महिला १९१ र पुरुष १०९ गरी ३०० जना नमुना अगुवा कृषक र महिला २७० र पुरुष ९२ गरी ३६२ जना आई.पि.एम. कृषक, महिला १३७ र पुरुष १०४ गरी २४१ जना साधारण आई.पि.एम. कृषक र पशुपालक तथा अन्य ४२४ कृषक गरी कूल १ हजार ३२७ जना कृषक प्रत्यक्ष सहभागी बने । नगरक्षेत्रका माध्यमिकस्तरका ५ हजार दुई विद्यार्थीलाई विद्यालयमा गएर रासायनिक मल तथा बिषादीको असर यसको न्यूनीकरणका उपाय र दिगो कृषिको अवधारणका बारेमा कक्षा संचालन गरी सचेतनाको कार्य भए । खेती किसानीमा आवद्ध ६ हजार ३ सय नागरिकहरुलाई विभिन्न कार्यक्रम मार्फत दिगो कृषि सम्बन्धि पर्चा वितरण गरिए । ९ हजार ६ सय जना अप्रत्यक्ष लाभग्राहीलाई परियोजनाका अन्य क्रियाकलापहरू सिंचाई, पशु स्वास्थ्य सेवा, खोप कार्यक्रम, कृषि प्रसार सेवा दिनुको साथै आम संचारका माध्यमबाट दिगो कृषि तथा पशुपालन पद्धतिका साथै रासायनिक मल तथा बिषादीको असर र न्यूनीकरणका बारेमा जानकारी दिने काम भए ।
फलस्वरुप कार्यक्रमले लिएको लक्ष तोकिएको समयमै प्राप्त भयो । परियोजनाका कार्यकारी निर्देशक नारायण ज्ञवालीका अनुसार लवग्रीन नेपालले परियोजना सञ्चालनका लागि ५ वर्षमा ४ करोड ६५ लाख २१ हजार ९१४ रुपैंया र पाँचखाल नगरपालिकाले ४३ लाख रुपैंया खर्च गरेको छ । उनी भन्छन, ‘यो परियोजनाले माथि उल्लेखित सूचकहरूको आधारमा पाँचखाल उपत्यकाको कृषि उत्पादन सुधारोन्मुख देखिएको छ । यस किसिमको दिगो र एकीकृत पद्धतिबाट कृषि उत्पादन र उत्पादकत्वलाई बढाउन सकिन्छ भन्ने कुरालाई यो परियोजनाले पुष्टि गरेको छ’, नतिजा सार्वजनिक कार्यक्रममा उनले भने ।
कृषि विभाग केन्द्रीय कृषि प्रयोगशाला, कृषि ज्ञान केन्द्रको प्रयोगशाला, खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशालामा विषादीको अवेशष परीक्षणका क्रममा पाँचखालमा उत्पादित ८५ प्रतिशत तरकारीमा विषादी अवेशष नभेटिएको र बाँकीमा पनि तोकिएको परिणाम भन्दा कम पाइएको थियो । यसबाट समेत पाँचखालमा विषादीको प्रयोगमा ह्वात्तै घटेको उनको भनाई छ । ‘हामीहरुले सर्भेका क्रममा सुरुमा अढाई प्रतिशत घरधुरीले वानस्पतिक विषादीको प्रयोग गर्ने गरेकोमा अहिले ७० दशमलव ४ प्रतिशतले प्रयोग गर्ने गरेका छन् । औसत एक घरधुरीले बार्षिक ३ सय १५ लिटर भन्दा बढी वानस्पतिक विषादीको प्रयोग गर्ने गरेका छन् । परियोजना अवधिमा औसत प्रति रोपनी वार्षिक ८६ मिलिलिटर कीटनाशक विषादी प्रयोग हुने गरेकोमा अहिले साढे ६ मिलिलिटरमात्रै प्रयोग हुने गरेको छ । ढुसीनाशक विषादी औसत प्रति रोपनी वार्षिक १ दशमलव ८ केजी प्रयोग हुने गरेकोमा २ सय २३ ग्राम प्रयोग गर्न थालेका छन् । यो उल्लेख्य उपलब्धि हो’, ज्ञवालीले थपे ।
यतिखेर परियोजनामा आवद्ध भएका कुनै पनि घरधुरीले रातो लेबल (अत्यन्तै विषालु) को विषादी प्रयोग गर्न छाडेका छन् । यद्यपि अन्तिम अवस्थामा बाली जोगाउनका लागि प्रयोग गर्नुपर्ने नै अवस्था आएमा निलो र हरियो लेबलको विषादीलाई प्रयोग गरेका छन् । सुरुवाती समयमा अढाई प्रतिशत घरधुरीले वानस्पतिक विषादीको प्रयोग गर्ने गरेकोमा अहिले ७० दशमलव ४ प्रतिशतले प्रयोग गर्ने गरेका छन् । एक घरधुरीले वार्षिक औसत ३ सय १५ लिटर भन्दा बढी वानस्पतिक विषादीको प्रयोग गर्ने गरेका पनि सर्भेले देखाएको छ ।
यस्तै, रासायनिक मलको प्रयोगका सम्बन्धमा विश्लेषण हुँदा परियोजना सञ्चालन अगाडि वार्षिक प्रति रोपनी औसत ६१ दशमलव ८ किलोग्राम प्रयोग हुने गरेकामा हाल २७ दशमलव ९२ किलोग्राम प्रयोग हुन थालेको छ । यस्तै युरीया, फस्फोरस र पोटास प्रयोगमा समेत निम्न सुधार भएको पाईएको छ । प्रति रोपनी युरिया औसत साढे २० केजी प्रयोग गर्ने गरेकोमा ९ दशमलव ८ प्रति केजी, फस्फोरस औसत प्रति रोपनी प्रति केजी ३५ दशमलव २ केजी प्रयोग हुने गरेकोमा हाल १४ दशमलव ४ केजी र म्यरेट अफ पोटास ५ दशमलव ९ केजी प्रयोग हुने गरेकोमा साढे ३ केजी प्रयोग हुन थालेको अवस्था रहेको छ ।
रासायनिक मलको प्रयोग घट्नुमा परियोजनाले प्रवद्र्धन गरेको पशु मूत्रको प्रयोगमा उल्लेख्य वृद्धि भएको बतायन्छ । परियोजना सञ्चालन अगाडि एक रोपनीमा औसत साढे १ लिटर पशु मूत्र प्रयोग हुने गरेकोमा अहिले ३३ लिटर प्रयोग हुन थालेको छ । पहिले २९ घरधुरीले भकारो सुधार गरेकोमा अहिले १ सय ९१ घरधुरीले भकारो सुधार गरी पशुहरुलाई रोग लाग्नबाट जोगाई मृत्यु दरमा सुधार गरेको तथ्य रहेको छ ।
कार्यक्रममा पाँचखालका मेयर महेश खरेलले कुनै समय पाँचखालको तरकारीमा अत्यधिक विषादीको प्रयोग हुन्छ भनेर बदनाम गर्न खोजिएको स्मरण गर्दै भने, ‘नगरपालिका र लवग्रीन मिलेर पाँचखालमा उत्पादित प्रत्येक तरकारीको विषादी परीक्षण गर्दा खान योग्य साबित भएको तथ्यहरुले समेत नगरपालिकामा रासायनिक विषादीमुक्त खेती भइरहेको प्रमाणित भएको छ । यसरी हेर्दा पाँचखालमा आर्गानिक खेति तर्फ किसानहरुको ध्यान गएको देखिन्छ । किसानहरुले पनि सुरक्षित खाद्य(सेफ फुड) प्रणालीअनुसार कृषि उत्पादन गरिरहनु भएको छ । त्यसैले पनि अन्यत्रको तरकारीभन्दा कम विषादी र वानस्पतिक विषादीको मात्रै प्रयोग भएको पाइएको छ । नगरका नारालाई सार्थक बनाउन पाँचखालमा नै स्कुलतहदेखि स्नातक तहसम्म कृषि विषयमा पढ्न पाईने व्यवस्थाका लागि समन्वय गरेका छौं । विद्यालय तहमा आजाद माध्यमिक विद्यालय तथा स्नातक तहमा काठमाण्डौ विश्वविद्यालयको पाँचखालस्थित डिपार्टमेन्ट अफ लाइफ साइन्सेजमा कृषि विषयमा उच्च शिक्षा हासिल गर्न सकिन्छ’, नगरप्रमुख खरेलले भने ।
पलाञ्चोक साप्ताहिकबाट
प्रतिक्रिया दिनुहोस