२०८१ आश्विन ६, आईतबार | Sun, 22, Sep, 2024

बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलमा कांग्रेस सभापति देउवाले अनावरण गरे बीपीको शालिक

  • २०८१ आश्विन ५, शनिबार मा प्रकाशित १ दिन अघि
  • ८५ पाठक संख्या
  • बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलमा नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पूर्णकदको शालिकको अनावरण भएको छ ।

    कांग्रेस सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले धुलिखेल नगरपालिका-६ स्थित जरणडाँडामा निर्माण भएको महामानव बीपी कोइरालाको शालिक अनावरण गरेका हुन ।

    ‘महामानव बीपी कोइराला शालिक  निर्माण समिति’ र नेपाली कांग्रेस धुलिखेल नगर समितिको अग्रसरतामा निर्माण गरिएको

    ढलौटबाट बनेको पूर्ण कदको  प्रतिमाको लागत १५ लाख रुपैयाँ रहेको महामानव बीपी कोइराला प्रतिमा निर्माण मूल समितिका संयोजक समेत रहेका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य जितकृष्ण श्रेष्ठले जानकारी दिए ।

    २०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेका थिए । १४ औं  महाधिवेशनबाट निर्वाचित नगर सभापति विदुर बहादुर बस्नेत नेतृत्वले पनि श्रेष्ठकै संयोकत्वमा समिति गठन गरेपछि कामले गति लिएको हो ।

    प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद (बीपी) कोइरालाको परिकल्पनामा वि.सं २०१६ सालमा शुरुवात भएको बीपी राजमार्ग निर्माण प्रधानमन्त्री कोइराला अपदस्थ गरी २०१७ सालमा पञ्चायती व्यवस्था लागू भएपछि सफल हुन सकेको थिएन । नेपाली कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५२ सालमा जापान सरकारको सहयोगमा पुनःशुरुवात गरेपछि उक्त सडक निर्माणकार्यले सार्थकता पाएको हो । नेपाली कांग्रेसका तत्कालिन सभापति शुशिल कोइराला प्रधानमन्त्री भएको बेला २०७२ सालमा उक्त सडक निर्माण सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।बीपीको परिकल्पना र उनकै नाम रहेको राजमार्ग (बीपी राजमार्ग)को सुरुवाती विन्दु धुलिखेलमा बीपी कोइरालाको शालिक स्थापना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

    तराई र पूर्वी जिल्लालाई राजधानी काठमाडौंसँग जोड्ने छोटो दुरीको राजमार्ग (बीपी राजमार्ग)सञ्चालनमा आएपछि काभ्रे र राजमार्ग जोडिएका जिल्लाका नागरिकको जनजीवन सहज हुनुका साथै आर्थिक समृद्धीमा टेवा पुगेको कांग्रेसको दाबी छ ।

    वी.पी. पुत्र एवं नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, सञ्चार क्षेत्रको विकास कांग्रेसका नीति र नेतृत्वका कारण सम्भव भएको बताए ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कांग्रेसले कांग्रेसलाई भोट हाल्ने हो भने कुनै पार्टीले हराउन नसक्ने तर्क गरे ।

    केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले अबका कुनै पनि निर्वाचनमा कांग्रेसका जोसुकै उम्मेदवार बाहेक अरु कोही नजित्ने गरी पार्टीमा मन मिलाउने प्रतिवद्धता गरे ।

    केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले पछिल्लो पुस्तासम्म वी.पी. विचार लैजानुपर्ने तर्क गरे ।

    केन्द्रीय सदस्य गणेश लामाले कांग्रेसकै चुनाव चिन्हमा भोट हाल्ने, कुनै दलसंग गठबन्धन नगर्ने गरी कांग्रेसको महासमिति बैठकले निर्णय गरेको बताए ।

    नेपाली कांग्रेस वाग्मती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादेले कांग्रेस एक नहुँदा विपक्षीले जितेको भन्दै अब एक हुनुपर्ने बताए ।

    नेपाली कांग्रेस काभ्रेका सभापति एवं वाग्मती प्रदेशका पूर्व मन्त्री तीर्थ लामाले नेपाली कांग्रेस काभ्रेलाई संगठित र मजबुद बनाउन लाग्नुपर्ने बताए ।

    महामानव वी.पी. कोइराला प्रतिमा निर्माण समितिका संयोजक रहेका जितकृष्ण श्रेष्ठ र नेपाली कांग्रेस धुलिखेलका सभापति विदुरबहादुर बस्नेतले पर्यटकीय नगरी र पूर्वको प्रस्थान विन्दु धुलिखेलमा रहेको प्रतिमाले यहाँको महत्व र सान्दर्भिकता बढ्ने बताए ।

    तराई र पूर्वी जिल्लालाई राजधानी काठमाडौंसँग जोड्ने छोटो दुरीको राजमार्ग (वी.पी. राजमार्ग)सञ्चालनमा आएपछि काभ्रे र राजमार्ग जोडिएका जिल्लाका नागरिकको जनजीवन सहज हुनुका साथै आर्थिक समृद्धीमा टेवा पुगेको कांग्रेसको दाबी छ ।

    कार्यक्रममा प्रतिनिधिसभा क्षेत्रीय सभापति महेश खरेल, दिनेश लामा लगायतका नेता कार्यकर्ताको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस