२०८१ आश्विन ५, शनिबार | Sat, 21, Sep, 2024

असोज ५ गते कांग्रेस सभापति शेरबहादुर देउवा धुलिखेल आउने

वीपी राजमार्गको प्रस्थानविन्दु धुलिखेल ६ जरणडाँडामा वीपी कोइरालाको पूर्णकदको सालिकको अनावरण गर्ने कार्यक्रम
  • २०८१ आश्विन २, बुधबार मा प्रकाशित २ दिन अघि
  • ८८ पाठक संख्या
  • वीपी राजमार्गअर्न्तगत धुलिखेलमा नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री वीपी कोइरालाको पूर्णकदको सालिकको अनावरण गर्न कांग्रेस सभापति शेरबहादुर देउवा धुलिखेल आउने भएका छन ।

    धुलिखेल नगरपालिका-६ स्थित जरणडाँडामा वीपी राजमार्गको प्रस्थानविन्दुका रूपमा रहेको स्थानमा नेता कोइरालाको सालिक अनावरण गर्न कांग्रेस सभापति देउवा धुलिखेल आउने भएका हुन ।

    कांग्रेस जिल्ला कार्यसमितिले बुधबार पत्रकार सम्मेलन गर्दै सालिक निर्माण र अनावरण कार्यक्रमबारे जानकारी दिएको हो । २०७१ सालमा शिलान्यास गरिएको प्रतिमा निर्माण ९ वर्षपछि निर्माण सम्पन्न गरी अनावरण गर्न लागिएको कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले बताए ।

    प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद (वी.पी.) कोइरालाको परिकल्पनामा वि.सं २०१६ सालमा शुरुवात भएको वी.पी. राजमार्ग निर्माण प्रधानमन्त्री कोइराला अपदस्थ गरी २०१७ सालमा पञ्चायती व्यवस्था लागू भएपछि सफल हुन सकेको थिएन । नेपाली कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५२ सालमा जापान सरकारको सहयोगमा पुनःशुरुवात गरेपछि उक्त सडक निर्माणकार्यले सार्थकता पाएको हो । नेपाली कांग्रेसका तत्कालिन सभापति शुशिल कोइराला प्रधानमन्त्री भएको बेला २०७२ सालमा उक्त सडक निर्माण सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । वी.पी.को परिकल्पना र उनकै नाम रहेको राजमार्ग (वी.पी. राजमार्ग)को सुरुवाती विन्दु धुलिखेलमा वी.पी.कोइरालाको प्रतिमा स्थापना गर्नु वाञ्छनीय ठानेर उक्त प्रतिमा स्थापना गरेको नेपाली कांग्रेसले जनाएको छ ।

    १५ लाख रुपैयाँ लागतमा सालिक निर्माण गरिएको प्रतिमा निर्माण मूल समितिका संयोजक जितकृष्ण धिनान्जु श्रेष्ठले जानकारी दिए ।

    तराई र पूर्वी जिल्लालाई राजधानी काठमाडौंसँग जोड्ने छोटो दुरीको राजमार्ग (वी.पी. राजमार्ग)सञ्चालनमा आएपछि काभ्रे र राजमार्ग जोडिएका जिल्लाका नागरिकको जनजीवन सहज हुनुका साथै आर्थिक समृद्धीमा टेवा पुगेको कांग्रेसको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस