२०८१ आश्विन ५, शनिबार | Sat, 21, Sep, 2024

काभ्रे प्रहरीमा ‘घुम्ती पुस्तकालय’, हतियार हुने सिरानीमा पुस्तक

  • २०८१ आश्विन २, बुधबार मा प्रकाशित ३ दिन अघि
  • ७६ पाठक संख्या
  • सधै नागरिककको सुरक्षाको लागि राइफल सिरानी हाल्ने प्रहरी आजकाल सिरानीमा पुस्तक राखेर सुत्छ । हो जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्रहरी कर्मचारीलाई घुम्ती पुस्तकालय (मोबाइल लाइब्रेरी) को अवधारणा ल्याएसँगै प्रहरी कर्मचारी सिरानीमा पुस्तक राखेर सुत्छन ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका मातहतका प्रहरी इकाइमा कार्यरत प्रहरी कर्मचारीलाई फुर्सदको समयको सदुपयोग हुने गरी किताव पढ्ने बानीको विकास, दुर्गममा बत्ति नभएको ठाउँमा समय सदुपयोगको लागि प्रहरीको ज्ञान, बुद्धि, विवेक र आत्मस्फूर्तिमा समेत वृद्धि गराउने उदेश्यले व्यावसायिक, व्यक्तिगत तथा सामाजिक जीवनमा समेत सकारात्मक टेवा पुर्याउन सकियोस भन्ने उदेश्यले ल्याइएको घुम्ती पुस्तकालय ‘मोबाइल लाइब्रेरी’को अवधारणा अन्तर्गत प्रहरीले पुस्तकलाई सिरानी राख्न थलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिईन ।

    व्यक्तिगत रुपमा सबै प्रहरी कर्मचारीले छुट्टाछुट्टै पुस्तक किनि अध्ययन गर्न असहज हुने हुँदा जिल्ला प्रहरी कार्यालयले पुस्तकको व्यवस्थापन गरी सहजीकरण गर्ने, प्रहरी कर्मचारीहरुलाई व्यस्त कार्यतालिकाबाट अध्ययनको लागि समय निकाल्न प्रोत्साहन गर्ने, अध्ययन तथा अध्ययन पश्चातको छलफल एवं शेयरिङ अध्ययन पश्चातको बुक रिभ्यू मार्फत  समेत प्रहरी कर्मचारीहरुमा ज्ञान सीप, क्षमता अभिवृद्दि गरी सेवा प्रवाहलाई निपुर्ण बनाउने, सकारात्मक सोच र उच्च मनोबललाई प्रबर्द्धन गरी व्यक्तिगत एवं व्यबसायिक विकाशमा टेवा पुग्ने, प्रहरीको सेवा प्रवाहलाई निपुर्ण बनाउन प्रहरी कर्मचारीहरुमा ज्ञान सीप, क्षमता अभिवृद्दि गर्ने, प्रहरी कर्मचारीहरूको ज्ञान, बुद्दि, विवेक र आत्मस्फूर्तिमा समेत वृद्धि भई सकारात्मक सोच र उच्च मनोबल प्रबर्द्धन भइ व्यवसायिक, व्यक्तिगत तथा सामाजिक जीवनलाई समेत सकारात्मक टेवा पुग्ने, अध्ययन पश्चात उत्सुक एवं इच्छुक प्रहरी कर्मचारीहरु बीच प्रतिष्पर्धात्मक माध्यमबाट कार्यक्रमहरु आयोजना गरी प्रोत्साहनको समेत व्यवस्था गरी अध्ययनको लागि उत्प्रेरित गर्ने, विभिन्न कारणले नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई समेत अध्ययनको अवसर जुराई सम्बन्धित कसूर लगाएतको बारेमा ज्ञान दिलाई त्यसउप्रान्त त्यस्तो कार्यमा सरिक नहुने गरी फरक ढङ्गले सकरात्मक रुपान्तरण गराउने, सेवानिवृत्त सुरक्षा कर्मिहरुलाई समेत पुनर्मिलन एवं अध्ययन, शेयरिङको वातावरण सिर्जना गरी सूचना संकलनको सुदृढ संयन्त्र निर्माण गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रत्येक प्रहरी चौकीमा भएको पुस्तक पढिसकेपछि अरू चौकीमा स्थानान्तरण गर्ने योजना जिल्ला प्रहरीले लिएको छ । अनुपातिकरुपमा प्रत्येक ३० दिनमा विभिन्न प्रहरी इकाईहरूमा उपलब्ध पुस्तकहरुलाई आवश्यकता पहिचान गरी पुस्तकहरू आलोपालो बितरण गरी घुमाउने व्यवस्था गर्ने, पुस्तकहरूको व्यवस्थित अभिलेख तथा मासिक एवं वार्षिक कार्यतालिका बनाइ सोहि मुताबिक पुस्तक वितरण गर्ने, तथा प्रत्येक कार्यालयमा सो सम्बन्धी अभिलेख राख्ने, अध्ययनको लागि उत्प्रेरणा जगाउन फोकल पर्शन राख्ने, कार्यालय प्रमुखहरुले नियमित सुपरिवेक्षण गर्ने गरी पुस्तकालयको अभिलेखीकरण कार्यका लागि प्रहरी अधिकृतलाई संयोजन गर्ने जिम्मेवारी दिइएको प्रहरी उपरीक्षक खड्काले बताईन ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार हालसम्म इलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी दोलालघाट, पाँचखाल, खावा, पनौती र काभ्रे भन्ज्याङलाई आवश्यक पुस्तक हस्तान्तरण गरिएको छ । ‘भदौ मसान्तसम्ममा सबै चौकीहरुमा पुस्तक पठाउने तयारी छ ।’–श्रेष्ठले भने । केन्द्रमा पुस्तकालय भएपनि त्यहाँ सम्म पुगेर पढ्न समय नहुने भएकोले यो कार्य सफल हुने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । काभ्रेका दुर्गम केहि चौकीहरुमा विजुली र इन्टरनेट नपुगेको ठाउँमा झन प्रभावकारी हुनेछ । प्रहरीचौकीहरुमा पुस्तक पुगेपछि प्रहरी मात्र नभै स्थानीयहरुलाई समेत पुस्तक पढ्न दिईने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    जिल्लामा रहेका ४२ वटा प्रहरी चौकीमा कार्यरत ५ सय ८० प्रहरी छन् । सबै प्रहरीलाई एउटा पुस्तक पुग्नेगरी संकलन गर्ने र पढिसकेपछि जहाँ नजिक चौकी पर्छ त्यस ठाउँमा हस्तान्तरण गरिने व्यवस्था मिलाईएको छ । पुस्तकालय सुरु भएसँगै प्रहरीसँग तीन सयभन्दा बढी थान पुस्तक सङ्कलन भइसकेका छन् ।


    प्रहरीको अभियानमा नागरिक समाजको पनि सहयोग सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले प्रहरीका लागि उपयोगी पुस्तक हस्तान्तरण गरे । प्रहरीले लघुकथा, घरेलु उपचार विधि र समुदायसँग नजिक हुने उपन्यासलाई धेरै मन पराउनुभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

    बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको वार्षिक कार्यसम्पादन सम्झौता २०८० अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको नवप्रवर्तनीय कार्य ‘हामी पनि पढ्छौँ– घुम्ती पुस्तकालय’ अन्तर्गत विभिन्न विधाका पुस्तक सङ्कलन गरिएको हो ।

     

    प्रतिक्रिया दिनुहोस