२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चक्रज्योती मा.विमा कम्प्युटर इन्जिनियरिङ र अटो मोबाइल विषयमा पढाई हुने

  • २०८० चैत्र २८, बुधबार मा प्रकाशित ३ महिना अघि
  • ५५६ पाठक संख्या
  • काभ्रेको बनेपा नगरपालिका वडा नं १३ स्थित चक्रज्योती माध्यमिक विद्यालयमा कम्प्युटर इन्जिनियरिङ र अटो मोबाइल विषयमा पढाई हुने भएको छ । बनेपा नगरपालिका, काभ्रे बहुमुखी क्याम्पस र काठमाडौं विश्वविद्यालयको सहकार्यमा विद्यालयमा कम्प्युटर इन्जिनियरिङ र अटो मोबाइल विषयमा पढाई सुरु गर्न लागिएको हो ।

    विद्यालयको कक्षा ९–१२ मा कम्प्युटर इन्जिनियरिङ र अटो मोबाइल विषय पढाईका लागि काठमाडौविश्वविद्यालय र काभ्रे बहुमुखी क्याम्पस बिच विद्यालयले सम्झौता गरेको छ ।

    प्राविधिक धार अहिलेको आवश्यकता र विद्यार्थीहरुको रुचिको विषय पनि भएकाले विद्यालयमा कम्प्युटर इन्जिनियरिङ र अटो मोबाइल विषयमा पढाई सुरु गर्न लागिएको विद्यालयका प्रधानाध्यापक माधव प्रसाद तिमल्सिनाले बताए । उनका अनुसार, बनेपा नगरपालिको सहयोग, काठमाडौं विश्वविद्यालय र काभ्रे बहुमुखी क्याम्पसको साझेदारीमा विद्यालयले प्राविधिक धाराका दुई विषय सञ्चालन गर्न लागेको हो ।

    सम्झौता सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका सांसद कञ्चन चन्द्र बादेले पराम्परागत शिक्षाको अन्त्य गर्दै प्राविधिक धारको शिक्षातर्फ बढ्दै नयाँ कार्यक्रम सञ्चालन गर्न लागेकोमा शुभकामना व्यक्त गरे । विद्यालयलाई कार्यक्रम सफल्ताको शुभकामना व्यक्त गर्दै उनले भने, ‘वर्षौं अघिदेखि बनेपालाई आइटी हब बनाउने योजना बनाइएको थियो, विद्यालयले आइटी सम्बन्धि विषय सञ्चालन गरेर आइटीका विशेषज्ञ उत्पादन गरी आइटी हब बनाउने सपना पूरा गर्नेछ भन्ने विश्वास लिएको छ ।’ उक्त कार्यक्रम सञ्चालनका लागि बागमति प्रदेशको तर्फबाट आवश्यक सहयोग, सहकार्य र समन्वय गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

    बनेपा नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि विभिन्न कार्यक्रम अघि सारेको बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले बताए । उनका अनुसार, गुणस्तीय शिक्षालाई जोड दिदैं नगरपालिकाले कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । प्राविधिक धारका विषयको अहिलेको आवश्यकता भएकाले नगरपालिकाले उक्त विषयलाई प्राथमिकतामा राखेर यस विद्यालयमा पनि कम्प्युटर इन्जिनियरिङ र अटो मोबाइल विषय पढाईका लागि सहयोग गरेको उनले बताए ।

    कार्यक्रममा काठमाडौं विश्वविद्यायका रजिष्टार प्रो.डा. अच्युत वाग्लेले विद्यालयले सञ्चालन गर्न लागेको दुई विषयका कार्यक्रम दिगो रुपमा सञ्चालन गर्नुपर्ने बताए । दिगो रुपमा कार्यक्रम सञ्चालनका लागि जनशक्ति, मानव श्रोत, ज्ञान व्यवस्थापनलाई योजनाबद्ध रुपमा अघि बढाउनुपर्ने भनाई राख्दै, जसका लागि विश्वविद्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    विद्यालयलाई प्राविधिक र मानव संसधानको पाटोमा विश्वविद्यालयले सघाउने काठमाडौं विश्वविद्यालयका प्रो.डा. मनिष पोख्रेलले बताए ।

     कार्यक्रममा काभ्रे बहुमुखी क्याम्पसका प्रमुख के.जी बैदारले प्राविधिक धारको विषयमा विद्यार्थीहरुको रुचि बढ्दै गएको बताए । विद्यालयले सुरु गर्न लागेको उक्त विषय सञ्चालनका लागि क्याम्पसले प्राविधिक पक्षबाट सघाउने प्रतिबद्धता व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस