२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

२१ दिनभित्र पनि सडक कालोपत्रे गर्नको लागि श्रोत सुनिश्चित नगरे आमरण अनसन बस्ने वडा अध्यक्षको घोषणा

  • २०८० चैत्र २७, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • १७६ पाठक संख्या
  • पनौती देखि खोपासी जाने सडक चौडा गरिएको लामो समयसम्म पनि कालोपत्रे नभएपछि पनौती नगरपालिका वडा नं १० का अध्यक्ष मोहनबहादुर भण्डारीले आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

    आइतबार वडा कार्यालयमा नै पत्रकार सम्मेलन गर्दै भण्डारीले २१ दिनभित्र पनि सडक कालोपत्रे गर्नको लागि श्रोत सुनिश्चित नगरे २०८१ वैशाख १६ गतेबाट वडाको सिमानामा आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।

    ‘प्रत्येक बर्ष वडाले ५–१० लाखको ग्राभेल हालेर पनि केही हुने रहेनछ, गर्न सक्ने पनि केही रहेनछ, २१ दिनसम्म पनि यो सडक कालोपत्रे हुने सुनिश्चिता भएन भने वैशाख १६ गतेबाट म आमरण अनसन बस्छु ।’– भण्डारीले भने । प्रदेश सभा सदस्य समेत रहेका पूर्वमन्त्री तीर्थ लामाले पहल गर्दै सो सडकको लागि १४ करोड ४६ लाख बराबरको बोलपत्र आव्हान हुने भन्ने खबरले हामी खुशी भएका थियौं, तर पछि सरकार परिवर्तन भएपछि प्रदेशको अर्थ मन्त्रालयमा सचिवले हस्ताक्षर गर्न नमानेको कारण स्रोत सुनिश्चित हुन नसकेर काम अघि बढ्न नसकेको जानकारी आएको छ,’ उनले भने ।

    पनौती देखि क्लव घरसम्मको ४ किलोमिटर सडक कालोपत्रे नहुँदा स्थानीयले धुलो, हिलो सामना गर्नुपरेको छ । सडकको दुरावस्थाका कारण सार्वजनिक यातायात नियमित सञ्चालन हुन नसक्दा स्कुल, कलेजका विद्यार्थी थप मारमा परेका छन् ।

    प्रतिक्रिया दिनुहोस