२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपा एसको १० औँ जिल्ला अधिवेशन, पदलाई महत्व नदिएकाले अर्को गठबन्धन बन्न नपाएको नेपालको भनाई

अधिवेशनले ५५ देखि ६१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्ने
  • २०८० चैत्र ३, शनिबार मा प्रकाशित ४ महिना अघि
  • २८० पाठक संख्या
  • नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोक जिल्ला कमिटीको १० औँ जिल्ला अधिवेशन शुरू भएको छ ।

    अधिवेशनको उद्घाटन पार्टी केन्द्रीय अध्यक्ष एवं पूवप्रधानमन्त्री माधव कुमार नेपालले गरे । अध्यक्ष नेपालले आफूले पदलाई महत्व नदिएकाले अर्को गठबन्धन बन्न नपाएको बताएका छन् ।

    अध्यक्ष नेपालले पदलाई महत्व नदिएकै कारण पार्टी अहिलेको सत्ता गठबन्धन र सरकारमा सहभागी भएको बताए ।

    यो सरकारमा सहभागी भएर जाने कुरामा झण्डै झण्डै दुर्घटना भइसकेको थियो । दुर्घटना के भइसकेको थियो भन्दाखेरि हामीलाई अलिक समयमा सूचना नमिलेको हुनाले अर्कै गठबन्धन बन्छ कि भन्ने पनि आइसकेको थियो’, उनले भने ।

    हामीले पदलाई महत्व दिएनौं, जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने होइन । जसरी पनि यो देशमा विकास निर्माणको काम अगाडि बढ्नुपर्छ, सुशासन कायम हुनुपर्छ’, अध्यक्ष नेपालले भने, ‘त्यसका निम्ति परिवर्तनकारी शक्तिहरु, समाजवादी शक्तिहरु मिलेर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा रहेका छौं ।’

    अधिवेशनमा जिल्लाको १३५ वटा वडा मध्ये ११७ वटा वडा र २२ वटा जनवर्गिय संगठनबाट गरी ४ सय ७६ जना प्रतिनिधि सहभागि भएका छन ।

    भोली नेतृत्व चयन गरिने अधिवेशनले ५५ देखि ६१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । हाल २८७ जनाको जिल्ला कमिटी रहेको छ । अधिवेशनले सर्वसम्मत नेतृत्व चयनका लागि भरपुर प्रयत्न गर्ने १० औँ जिल्ला अधिवेशन आयोजक कमिटीका संयोजक बसुन्धरा हुमागाईँले बताए । 

     एमालेबाट विद्रोह गरेर गठन भएको साढे दुई वर्षमा नेकपा एस काभ्रेमा ३ हजार ९६६ जनाले संगठित सदस्यता लिएका छन् । अधिवेशनका लागि ‘समृद्ध काभ्रे निर्माण हाम्रो अभियान, सुदृढ कम्युनिष्ट आन्दोलनका लागि दशौँ जिल्ला अधिवेशन’ भन्ने मुल नारा तय गरिएको छ । 

     अधिवेशनबाट निर्माण हुने जिल्ला कमिटीमा ४० वर्षमुनि उमेर समूहका कम्तीमा २० प्रतिशतको सहभागिता हुनेछ । त्यसैगरी ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनेछ । त्यस्तै उत्पीडित दलित समुदाय, अल्पसंख्यक तथा अति सीमान्तृत समुदाय र अपांगता भएका ब्यक्तिहरुको समेत जिल्ला कमिटीमा प्रतिनिधित्व सुनिश्चित गराइनेछ । 

     अधिवेशन उदघाटन पूर्व चारदोबाटोमा भेला भएर तिनदोबाटो पुरानो बजार हुदै कार्यक्रम स्थलसम्म र्याली निकालिएको थियो ।

    प्रतिक्रिया दिनुहोस