२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नमोबुद्ध, रोशी र तेमालको प्रथम त्रैमासिक समिक्षा

चालु आर्थिक बर्षको तीन महिनामा रोशीमा चालु तर्फ २१.७९ प्रतिशत तथा पूँजिगत तर्फ ५.३, तेमालमा पूजिगत तर्फ ३.९८ प्रतिशत तथा चालुतर्फ १८.८८, नमोबुद्ध पूजिगत तर्फ ६.७ प्रतिशत तथा चालुतर्फ २१.७९ प्रतिशत आर्थिक प्रगती
  • २०८० कार्तिक १६, बिहिबार मा प्रकाशित ८ महिना अघि
  • ४४८ पाठक संख्या
  • जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र तेमाल गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको छ ।

    नमोबुद्ध नगरपालिकाको व्यवस्थापनमा नगरको सभाहलमा आयोजना भएको समिक्षामा जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रमुख, वडाअध्यक्ष, सञ्चारकर्मी र कर्मचारीको उपस्थिती थियो । समिक्षामा चालु आर्थिक बर्षको ३ महिनाको अवधीमा भएको आर्थिक, भौतिक प्रगतिको समिक्षा गरिएको हो ।

    रोशी गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ र तेमाल गाउँपालिकाकोतर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे र नमोबुद्ध नगरपालिकाको तर्फबाट योजना अधिकृत विष्णुकुमार अधिकारीले प्रस्तुती गरेका थिए । रोशीका प्रमुख प्रशासकीय अधिकृत तामाङका अनुसार रोशीमा गत तीन महिनामा चालु तर्फ २१ दशमलब ७९ प्रतिशत तथा पूँजिगत तर्फ ५ दशमलब ३ प्रतिशत खर्च भएको जानकारी दिए । त्यस्तै तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले पूजिगत तर्फ ३ दशमलब ९८ प्रतिशत तथा चालुतर्फ १८ दशमलब ८८ प्रतिशत प्रगती भएको जानकारी दिए । नमोबुद्ध नगरपालिकाका योजना अधिकृत अधिकारीका अनुसार कुल बजेट ७४ करोड रहेकोमा हाल सम्म पूजिगत तर्फ ६ दशमलब ७ प्रतिशत तथा चालुतर्फ २१ दशमलब ७९ प्रतिशत प्रगती भएको जानकारी दिए ।

    कार्यक्रमको उद्धघाटन गर्दै खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले जिल्लाको विकासको लागि लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए । उनले आफूले प्रदेश सरकारबाट काभ्रेमा उल्लेख्य बजेट विनियोजन गराएको भन्दै ती योजना सफल बनाउन सबै तहले सहयोग गर्नुपर्ने बताए ।

    जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले जिल्लाका १३ वटै स्थानीयलाई ६ वटा कल्ष्टरमा विभाजन गरेर प्रथम त्रैमासिक अवधीको समिक्षा गरिने बताए । प्राप्त सुझाव र निष्कर्ष प्रदेश र संघ सरकारलाई पनि पठाउने उनले जानकारी दिए । उनका अनुसार पाँचखाल र मण्डनदेउपुर, भुम्लु र चौरी देउराली, बनेपा र धुलिखेल, पनौती र बेथानचोक, महाभारत र खानीखोला गरेर समिक्षा कार्यक्रम राखिने जानकारी दिए । जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले यस्ता समिक्षाले एक अर्को पालिकाबाट सिकाइ हुने धारणा राखे ।

    नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले योजना तर्जुमादेखि नै आफूले सबै नगरपालिकामा सबै राजनीतिक दललाई समावेश गराएर अघि बढेको भन्दै सबैका सामुहिक प्रयासमा विकास गरिने बताए । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले योजना बनाउँदा जनतालाई केन्द्रीत गरेर बनाउने भन्दै संविधान, स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार अनुसार नै काम अघि बढाएको बताए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विकास र सेवा प्रवाहमा शान्ती सुरक्षा पहिलो शर्त भएको भन्दै स्थानीय सरकारसंग हातेमालो गरेर अघि बढ्ने बताइन् । तेमाल गाउँपालिका उपाध्यक्ष दलमान (डिएम) थोकरले संघ र प्रदेश सरकार समेतको समन्वयमा गाउँपालिकामा विभिन्न खाले योजना सञ्चालन गरिएको बताए । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले स्थानीय तहका कामकारबाही गतिविधीलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेको भन्दै सञ्चार क्षेत्रले रचनात्मक प्रतिपक्षको भुमिका खेल्ने बताए ।

    कार्यक्रममा तेमाल गाउँपालिकाबाट नेपाली काँग्रेसका सभापति ज्ञानबहादुर लामा, माओवादी केन्द्रका समिर लामा, रोशी गाउँपालिकाबाट नेपाली काँग्रेसका सभापति दुधराज लामा, राप्रपाबाट कुबेर गौतम, नमोबुद्ध नगरपालिकाबाट नेपाली काँग्रेसका कार्यबहाक सभापति इन्द्र दाहाल, नेकपा एमालेबाट कृष्ण खनाल, नेकपा एसबाट कृष्ण लामा, नेकपा माओवादी केन्द्रबाट मिण्डु लामा, रास्वपाबाट पुस्कर न्यौपाने लगायले प्रसतुती बारे आ आफ्नो धारणा राखेका थिए ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख भाग्यन्द्र पुरुष ढकाल, राष्ट्रिय अनुसन्धान काभ्रेका प्रमुख राजन प्रजापति, जिल्ला समन्वय समितिका प्रवक्ता अप्सरा ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस