२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

धुलिखेल–खावा सडक १० महिनामा १० प्रतिशत काम, काममा ढिलाइ भएपछि ७ दिने ‘अल्टिमेटम’

  • २०७९ चैत्र २८, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३१७ पाठक संख्या
  • पछिल्लो समय स्थानीय लगायत अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डमा यात्रा गर्ने यात्रुहरुले निकै सास्ती बेहोर्नुपरेको छ ।

    उक्त सडकखण्डमा स्थानीयले कष्टकर यात्रा गर्नुपरेपछि धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तार र स्तरोन्नतीको काम समयमानै सम्पन्न गर्न काभ्रेका जनप्रतिनिधि, प्रशासन तथा सडक डिभिजन कार्यालय भक्तपुरले ताकेता गरेको छ । सडक बिस्तार तथा स्तरोन्नती काम सुरु भएको १० महिना हुँदा जम्मा १० प्रतिशत मात्र काम भएपछि निर्माण पक्ष गौरी–पार्वती निर्माण सेवा प्रालि प्रति सबैले आक्रोश पोखेका छन ।

    निर्माण सुरू भएको ४७ प्रतिशत समय बितिसक्दा १० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासैनीले जानकारी दिए । निर्माण व्यवसायीको लापरवाहीका कारण निर्माण कार्यमा ढिलासुस्ती भएको ठोकुवा गर्दै एक हप्ता भित्र सडक निर्माणका गति नलिए ठेक्का नै खारेज गर्ने चेतावनी दिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय, धुलिखेलले आयोजना गरेको सरोकारवालाहरु बीच भएको छलफलमा डिभिजन प्रमुख मेघराज मरासिनीले मरासिनीले पटक पटक लिखित र मौखिक रुपमा ताकेता गर्दा पनि ठेकेदार संपर्कमा नआएकोले बाध्य भई ३ दिने स्पष्टीकरण सोधेका थियौं । स्पष्टिकरण पनि चित्तबुझ्दो आएन । उनले भने ‘अब ७ दिन हेछौं, ७ दिनभित्र चित्तबुझ्दो गरी तिव्रगतिमा काम गरेन भने कारवाही अगाडि बढाउनेछौं । संझौता रद्ध गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारवाही अगाडि बढाउनेछौं ।’

    सडक खण्डको विस्तार र स्तरोन्नती कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रा.लि बिच २२ महिनामा कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ । ३० करोड ७८ लाख २ हजार ३० रुपैंयाको लागतमा उक्त सडक खण्डको बिस्तार तथा स्तरोन्नतीको कार्यलाई गौरी–पार्वती निर्माण सेवा प्रा.लिले २० करोड १९ लाख ४६ हजार ५०१ रुपैंयामा ठेक्का सम्झौता गरेको थियो । मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै उक्त सडकखण्डमा ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डीबीएम र आस्पाल कालोपत्रे हुने सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मरासैनीले जानकारी दिए ।

    ढिलासुस्तीको कारण खोज्न र कामलाई तिब्र पार्न सडक डिभिजन कार्यालय भक्तपुरले पटक–पटक पत्राचार गर्दा पनि निर्माण व्यवसायीले बेवास्ता गरेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेका पहलमा मंगलबार धुलिखेलमा सरोकारवाला निकायहरुविचमा छलफल भएको थियो । ६ महिनाको अवधिमा मात्रै कार्यालयले निर्माण व्यवसायीलाई ९ वटा पत्राचार गरेकोमा सडक स्तरोन्नति तथा विस्तारमा भएको ढिलाइका विषयमा निर्माण पक्षले कुनै जानकारी नदिएपछि विभाग ठेक्का रद्ध गर्ने प्रकृयामा पुगेको छ ।

    बैठकमा जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले कामलाई तिब्रता दिन निर्माण व्यवसायीलाई एक हप्ताको समय सिमा तोकिएको बताए । ‘धुलिखेलबाट केराघारीसम्म यात्रु सहजै पुग्न सक्ने स्थिती छैन, खाल्डा–खुल्डी धेरै छन्, यात्रुहरुलाई धेरै सकस छ, यात्रुलाई सकस दिएर निर्माण व्यवसायी आनन्द बस्न पाउने छैनन् ।’ भोलिबाटै खाल्डा–खुल्डी पुर्ने कामलाई अघि बढाउन प्रमुख गौतमले निर्देशन दिए ।

    निर्माण व्यवसायीले भोलिबाटै कामलाई तिब्रता दिन अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले निर्माण व्यवसायीलाई कामलाई तिब्रता दिन एक हप्ताको अल्टिमेटम दिएको समय सिममा पनि निर्माण व्यवसायीले कामलाई तिब्रता नदिएमा कानुन बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने जानकारी दिए ।

    छलफलमा सवारी साधनले तोकिएको भन्दा बढी भार बोकेका कारण सडक दुर्घटना हुने र सडक समेत बिग्रिने हुँदा तौल पुल सञ्चालनमा ल्याउन कारवाही अगाडि बढाउने, विद्यार्थी र जेष्ठ नागरिकलाई नेपाल सरकारद्वारा तोकिएको सहुलियत उपलब्ध गराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय भएको छ ।

    माटो र ढुंगा सप्लाईले काममा ढिलाई

    ठेकेदारले सडक विस्तारका क्रममा ‘कटिङ’ बाट निस्किएको माटो र ढुंगा सप्लाईको कारणले काममा ढिलाई भएको बुझिएको छ ।

    विस्तार र स्तरोन्नतीकोे क्रममा कटिङबाट निस्किएको माटो र ढुंगा पेटी ठेकेदार मार्फत दैनिक चाहिनेजतिमात्र एयरपोर्टमा लैजाने भएका कारण निर्माणमा ढिलाई भएको हो । अझ गौरी–पार्वती निर्माण सेवा प्रा।लिका इन्जिनियर थानेश्वर प्रसाद शाहले धुलिखेलमा भएको सर्वपक्षीय भेलामा पेटी ठेकदार शम्भु प्रसाद कार्कीले माटो र ढुंगानै चोरेर बेचेको भन्न भ्याए । उनका अनुसार कटिङबाट निस्किएको ३० हजार घन मिटर माटो र ढुंगा काठमाडौं स्थित एयरपोर्ट लैजानुपर्ने भन्दै लाने गरिएको जानकारी दिए । यसका ठेक्काका पेटी ठेकदार शम्भु प्रसाद कार्कीबाट बदमासी भएको छ । यहाँको माटो र ढुंगा चोरी भएको छ,’ शाहले भने ,‘हामीले कयौं पटक रोक्न प्रयास गर्यौ, तर सकेनौं । उनका अनुसार, आफूलाई कति फाइदा हुन्छ, त्यही अनुसार नै कटिङ गरिन्छ, सडक बिस्तार तथा स्तरोन्नती कार्यमा ढिलाई हुनु यो पनि एउटा कारण हो ।’

    अनाधिकृत रुपमा सडक खन्ने नाममा माटो र ढुंगा चोरी भएको रोक्न जिल्ला प्रशासन कार्यालयले आजैबाट निर्देशन दिने प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिए । उनका अनुसार, यस विषयमा सुरक्षाको टोलीलाई अनुगमन गर्न पठाउने र सो कार्य गरेको पाइएमा कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाइनेछ ।

     

    प्रतिक्रिया दिनुहोस