२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पत्रकार महासंघ काभ्रेको ३० औं स्थापना दिवस तथा बार्षिक साधारणसभा सम्पन्न

  • २०७९ पौष ४, सोमबार मा प्रकाशित १ साल अघि
  • २९८ पाठक संख्या
  • पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ काभ्रे शाखाको ३० औं स्थापना दिवस एवं साधारणसभा शनिवार पञ्चकन्या व्याङक्वेट बनेपामासम्पन्न भएको छ ।

    महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ, रुकमिणी राना बराइली, प्रदेशसभा सदस्यहरु कञ्चनचन्द्र वादे, तीर्थ लामा, रत्न ढकाल, र लक्ष्मण लम्साल  लगायतका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामनासहित सम्मान गरिएको थियो । यस्तै तीनवटै तहको निर्वाचन सम्पन्न गराउन भूमिका खेलने काभ्रेका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, निर्वाचन कार्यालयका प्रमुख लगायतलाई कदरपत्र प्रदान गरिएको थियो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघसँगको सहकार्यमा पत्रकारहरुको वृत्ति विकासका लागि ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने काठमाडौं विश्वविद्यालयलाई सम्मान गरिएको थियो । पत्रकारिता क्षेत्रमा लामो समय क्रियाशिल भई वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट पाँचखाल नगरपालिकाको उपप्रमुखमा निर्वाचित सूर्यमाया दनुवार र बेथानचोक गाउँपालिका वडा नं. १ को अध्यक्षमा निर्वाचित मधुसुदन तिमल्सिनालाई पनि सम्मान गरिएको थियो ।

    कार्यक्रममा महासंघ केन्द्रीय अध्यक्ष पोख्रेल, सचिव गोविन्द चौलागाईं, प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ, रुकमिणी राना बराइली, प्रदेशसभा सदस्यहरु कञ्चनचन्द्र वादे तीर्थ लामा, रत्न ढकाल र लक्ष्मण लम्साल, महासंघ प्रदेश अध्यक्ष शिव देवकोटा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष भोला थापा,  प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी,  प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष सन्तोष चौलागाईंले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा महासंघ काभ्रेका उपाध्यक्ष विनोद न्यौपानेले धन्यवाद मन्तव्य राखेका थिए भने कार्यक्रमको सभापतित्व अध्यक्ष बद्रिप्रसाद तिमल्सिनाले गरेका थिए ।

    शनिवार नै महासंघको वन्दसत्र प्रदेश अध्यक्ष शिव देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । वन्दसत्रले सचिव कपिल कोइरालाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष केदारनाथ तिमल्सिनाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । वन्दसत्रमा प्रदेश अध्यक्ष देवकोटा, महासचिव कृष्ण सारु मगर, पूर्वअध्यक्षहरु भोजराज तिमल्सिना, महेशराज पौडेल, निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, सल्लाहकार नवराज बजगाईं लगायतले पत्रकारहरुको साझा संस्था महासंघ आगामी दिनमा गर्ने कामहरुका बारेमा चर्चा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस