२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

सदरमुकाम रहेको धुलिखेल नगरको देवीटार जाने बाटो : हिउँदमा धुलाम्मे, वर्षामा हिलाम्मे

  • २०७९ कार्तिक २२, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३६३ पाठक संख्या
  • जिल्ला सदरमुकाम रहेको नगरपालिका धुलिखेल । सोही नगरपालिकाको वडा नम्बर १, देवीटार । तर, नगरपालिकाको केन्द्र धुलिखेल बजार पुग्न सिधा सडक सञ्जाल छैन । १४ किलोमिटर दूरीमा रहेको देवीटार छिमेकी बनेपा नगरपालिका हुँदै पुग्नुपर्छ । कच्ची र जीर्ण सडकका कारण हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडकमा स्थानीय कष्टकर यात्रा गर्दै आएका छन् ।

    वर्षायाम सुरु नहुँदै धुलिखेल–१ देवीटारका कृषकलाई एउटै चिन्ता हुन्छ, आफ्ना उत्पादनलाई बजारसम्म कसरी पुर्‍याउने ? वर्षा लागेपछि हिँडेरै तरकारीका भारी बोकेर बनेपा बजार पुग्नुबाहेक अर्को विकल्प छैन । वर्षाले बाटो बिग्रिएपछि गाउँमा गाडी चल्दैनन् ।

    देवीटारकी ५० वर्षीया छायाँ तामाङ गत महिना हिँडेरै अम्बा बेच्न बनेपासम्म पुगिन् । असोज महिनामा लगातार तीन दिन परेको पानीले सडक बिग्रिएकाले गाउँमा गाडी नचलेपछि अम्बा बेच्न हिँडेरै बनेपासम्म पुग्नु परेको उनले सुनाइन् । भारी बोकेर बनेपासम्म पुग्न दुई घण्टा समय लाग्ने उनले बताइन् । देवीटारवासीको स्थानीय बजार बनेपा हो । बनेपाबाट देवीटारसम्मको दूरी ११ किलोमिटर छ । ‘किनमेल गर्न होस् या तरकारी बेच्न बनेपा नै पुग्नुपर्छ, वर्षामा पानी परेपछि गाउँमा गाडी चल्दैन,’ छायाँले भनिन्, ‘मोटर नचलेको बेलामा हामी व्यापारीलाई धेरै समस्या हुन्छ, हिँडेरै जानुबाहेक अर्को विकल्प छैन ।’

    स्थानीय ३८ वर्षीय बिचारी तामाङको पनि उस्तै गुनासो छ । ‘गाउँमा कसैलाई गाह्रो–साह्रो परेमा के गर्ने रु कसरी अस्पतालसम्म पुर्‍याउने रु,’ उनले भने, ‘पानीले बाटो बिग्रिएपछि एम्बुलेन्ससमेत आउन सक्दैन, स्ट्रेचरमा बिरामी लिएर अस्पताल जानुपर्ने अवस्थासमेत आउँछ ।’

    देवीटारकी ५० वर्षीया कान्छी तामाङ सडकको स्तरन्नोति नहुँदा जनजीवनमा असहज भएको बताउँछिन् । उनका अनुसार वर्षामा स्कुलरकलेज पढ्ने केटाकेटी, तरकारी बेच्ने व्यापारीलाई धेरै गाह्रो हुन्छ । ‘बाटो मात्रै अलिकति राम्रो भए पनि सहज हुन्थ्यो, हिउँदमा धुलाम्मे अनि वर्षामा हिलाम्मे भएर हिँड्नै गाह्रो,’ उनले भनिन्, ‘वर्षौंपछि बाटो बन्यो, तर हिउँदमा मात्रै राम्रोसँग चल्छ, वर्षा लागेपछि मोटर गाडी गुड्दैनन्, गाउँ नै शून्य जस्तै हुन्छ ।’

    सडक र यातायातका साधन नपुग्दा स्थानीयले लामो समयसम्म सास्ती खेप्नुपर्‍यो । भारी बोकेर घण्टौँ हिँड्नुपरेको छायाँ सम्झन्छिन् । ‘उबेला त यहाँ गोरेटो बाटो थियो, नाकको डाँडी नै ठोकिने जस्ता उकालो थिए,’ उनी भन्छिन्, ‘भारी बोकेर हिँड्दा कैयौं पटक घुँडा ठोक्किएर घाउ त कति भए कति, पहिले हेरिकन अहिले त धेरै राम्रो भएको हो, तर वर्षामा चाहिँ हामीलाई अलि समस्या छ ।’

    लामो समयको संघर्षपछि देवीटारमा सडक पुगेको साविक देविटार गाविसका अध्यक्ष दावा लामाले बताए । देवीटारमा सडक पुगेको २५ वर्ष र यातायातका साधन पुगेको २२ वर्ष भयो । ‘२०५३ साल अघिसम्म गोरेटो बाटो थियो, त्यस बेला जिल्ला विकास समितिका सभापति कृष्णप्रसाद सापकोटाको सक्रियतामा सडकको ट्रयाक खोल्ने कार्य सुरु भयो,’ उनले भने, ‘२०५४ मा गाउँमा आएको विश्व खाद्य कार्यक्रमले तीन वर्षसम्म सडकको ट्य्राक खोल्ने काममा मद्दत गर्‍यो, बाटो खन्न स्थानीयले पनि सघाए, २०५७ मा एक्स्काभेटर लगाएर बाटो खुलाउने काम भएपछि यहाँ गाडी गुड्न थालेको हो ।’

    सडकको स्तरोन्नति भएसँगै यातायातका साधन सञ्चालनमा आए पनि वर्षायाममा स्थानीयले अझै पनि उस्तै समस्या भोग्नुपरेको यथार्थ स्वीर्काछन्, धुलिखेल नगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तबहादुर लामा । ‘स्थानीयको समस्यालाई मध्यनजर गर्दै बाटोको स्तरोन्नतिको कामलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘अहिले ‘डुडामुख–देवीटार–घुमाउनेचौर–फेदी सडकको स्तरोन्नति हुँदै कालोपत्रेका लागि काम अघि बढेको छ ।’

    २०७४ मा सो क्षेत्रबाट निर्वाचित सांसद लक्ष्मण लम्सालले आफ्नो पहलमा ‘डुडामुख–देवीटार–घुमाउनेचौर–फेदी’ सडकको स्तरोन्नति हुँदै कालोपत्रे काम भइरहेको भन्दै छिट्टै स्थानीयका दुस्खका दिन जाने बताए । २०७४ मा आफूले जनतासँग गरेको प्रतिबद्धताअनुसार सडक स्तरोन्नतिको काम भइरहेको र यस कामले चाँडै पूर्णता पाउने उनले बताए । ‘यहाँका जनताको जीवनस्तर सुधार गर्न र यहाँको विकासको पहिलो आधार नै सडक भएकाले पहिलो प्राथमिकतामा राखेर बाटोको स्तरोन्नतिको काम अघि बढाइएको छ,’ उनले भने, ‘अबको एक वर्ष भित्रमा यहाँको बाटो कालोपत्रे हुनेछ, सडकसँगै यहाँ पूर्वाधारका अन्य विकासका कामहरु पनि थपिँदै जानेछन् ।’

    ‘डुडामुख–देवीटार–घुमाउनेचौर–फेदी’ सडकको स्तरोन्नतिको लागि प्रदेश सरकारले २६ करोड बजेट बिनियोजन गरेको थियो । उक्त बजेटको ४० प्रतिशत काम सम्पन्न भइसकेको र निर्धारित समयमा यस कामले पूर्णता पाउने साविक गाविस अध्यक्ष दावा लामाले बताए । उनका अनुसार कार्ययोजना अनुसार २०८० असार मसान्तसम्म ‘डुडामुख–देवीटार–घुमाउनेचौर–फेदी’ सडकको स्तरोन्नति र कालोपत्रे हुनेछ ।

    इकान्तिपुरडटकमबाट

    प्रतिक्रिया दिनुहोस