२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सन्दीप लामिछानेविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी

  • २०७९ आश्विन १०, सोमबार मा प्रकाशित १ साल अघि
  • २८२ पाठक संख्या
  • नाबालिग किशोरी बलात्कारको आरोपमा सम्पर्कविहीन रहेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ ।

    नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले लामिछानेविरुद्ध फरारसूचीमा राख्दै डिफ्युजन नोटिस जारी गरेको हो । उनीविरुद्ध तीन दिनअघि (शुक्रबार) नोटिस जारी भएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

    उक्त नोटिस जारी भएसँगै लामिछाने इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीको फरारसूचीमा परेका छन् । यी देशमा लामिछाने भेटिए सम्बन्धित देशका प्रहरीले उनलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउन सक्छन् ।

    जाहेरी परेको भोलिपल्ट भदौ २३ मा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । अदालतको आदेशलगत्तै उनी फरारसूचीमा समेटिएका थिए । त्यसको भोलिपल्ट २४ गते फेसबुक र ट्विटरमार्फत आफू निर्दोष रहेको दाबी गर्दै छिट्टै नेपाल फर्किएर कानुनी लडाइँ लड्ने बताएका उनी अहिलेसम्म नेपाल फर्किएका छैनन् । फेसबुकमा उनले आफू कुन देशमा रहेको भन्नेबारे पनि केही खुलाएका छैनन् ।

    आइतबार पनि उनले पुनः फेसबुकमार्फत आफूमाथि लागेको आरोप निराधार रहेको भन्दै कानुनी उपचार खोज्ने बताएका थिए । त्यसको भोलिपल्टै प्रहरीको अनुरोधमा उनलाई इन्टरपोलले डिफ्युजन नोटिसमा समेटेको हो ।

    प्रतिक्रिया दिनुहोस