२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

स्थानीय जनप्रतिनिधिको मर्यादाक्रम के हुन्छ ? (रोलक्रम अनुसार)

  • २०७९ अषाढ २३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ११२१ पाठक संख्या
  • राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा क्रियाशील रहेकाहरूको सम्मानका लागि भन्दै गृह मन्त्रालयले मर्यादाक्रम तोकेको छ । औपचारिक कार्यक्रमहरूमा आसन ग्रहण गराउने र मन्तव्य राख्ने सन्दर्भमा त्यो मर्यादाक्रम लागू हुन्छ । तर, गृहले तोकेको सो मर्यादाक्रमले जिल्ला समन्वय प्रमुख उपप्रमुख स्थानीय तहका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्षबाहेक जनप्रतिनिधिबारे बोलेको छैन ।

    जसकारण स्थानीय तहमा अहिले बैठक पुस्तिकामा कसको नाम अगाडि लेख्नेदेखि कसलाई पहिले आसन ग्रहण गराउने भन्नेसम्म विवादको विषय बनिरहेको छ । स्थानीय जनप्रतिनिधिको मर्यादाक्रमबारे प्रस्ट व्यवस्था नहुँदा विशेष गरी महिला र दलित महिला जनप्रतिनिधिहरूले आफूहरूको प्रतिनिधित्व र उपस्थितिलाई महत्त्व नदिइएको भन्दै गुनासो गरिरहेका छन् ।

    स्थानीय तहको मर्यादाक्रममा नगरपालिकाको हकमा सामान्यतः मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरू हुन्छन् भने गाउँपालिकाको हकमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरू हुन्छन् । तर, वडा सदस्यको हकमा त्यसको निर्धारण गर्ने आधार छैन । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया भने कानुनले गरेको व्यवस्थाबमोजिम मतपत्रको आधारमा मर्यादाक्रम बनाउन सकिने बताउँछन् । थपलियाका अनुसार ‘वडा कार्यालयमा वडाध्यक्ष मर्यादाक्रममा सबैभन्दा माथि हुन्छ । मतपत्रमा वडाध्यक्षपछि क्रमशः महिला सदस्य, दलित महिला सदस्य र अन्य सदस्य हुने व्यवस्था छ । यही क्रमलाई मर्यादाक्रम मान्न सकिन्छ । सामान्य आसन ग्रहण गर्ने, बैठक पुस्तिकामा उपस्थिति उठाउने जस्ता कुरामा यो मर्यादाक्रम मान्न सकिन्छ ।’ अन्य सदस्यमध्ये भने वर्णानुक्रमका आधारमा मर्यादा निर्धारण गर्न सकिने उनी बताउँछन् ।

    सरकारले तोकेको मर्यादाक्रम औपचारिक कार्यक्रममा आसन ग्रहण र मन्तव्य राख्ने क्रमका लागि हो । त्यसबाहेक सुरक्षाको दृष्टिकोणले समेत मर्यादालाई महत्त्व दिने गरिएको छ ।

    सरकारले तोकेको मर्यादाक्रममा स्थानीय तहका जनप्रतिनिधिमध्ये काठमाडौं महानगरपालिकाका प्रमुख सबैभन्दा माथि छन् । त्यसपछि मर्यादाक्रममा क्रमशः जिल्ला समन्वय समितिका प्रमुख र काठमाडौंबाहेकका महानगरपालिकाका प्रमुखहरू, उपमहानगरपालिकाका प्रमुख, काठमाडौं महानगरपालिकाका उपप्रमुख, काठमाडौंबाहेक महानगरपालिकाका उपप्रमुख, जिल्ला समन्वय समतिका उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपमहानगरपालिकाका उपप्रमुख, नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्ष छन् ।

    प्रतिक्रिया दिनुहोस