२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

११ अफगानी नागरिकले भने ‘बरू जेलमै राखिदेऊ देश फर्किए हाम्रो ज्यान खत्तम हुन्छ’

  • २०७८ कार्तिक ८, सोमबार मा प्रकाशित २ साल अघि
  • ११६७ पाठक संख्या
  • आइतबार राती केन्द्रीय अनुसन्धान ब्युरोलाई एउटा सूचना आयो, अफगान नागरिकहरू काठमाडौंमा गैर कानुनी रूपमा बसिरहेका छन्।

    काठमाडौंको अन्तराष्ट्रिय विमानस्थल वरिपरिका क्षेत्रमा उनीहरू बसिरहेका छन् भन्ने खबर पाएपछि प्रहरीको टोली खटियो।

    उनीहरू कहाँ बसेका छन् भनेर प्रहरीले गत रातीदेखि नै खोज्न थालेको थियो। त्यसैबीच प्रहरीले सिनामंगलस्थित फेसबुक नामक होटलमा बसिरहेका छन् भन्ने थाहा पायो।

    प्रहरीले राती नै उनीहरूलाई नियन्त्रणमा लिएन। आइतबार बिहान मात्र ब्युरो त्यहाँ पुगेर ११ जना अफगान नागरिकलाई नियन्त्रणमा लियो।

    अफगान नागरिकहरूले होटलका दुइटा कोठा लिएका थिए। एउटा कोठामा एकै परिवारका पाँच जना थिए। अर्कोमा ६ जना।

    ुउनीहरू सबै जनासँग आधार कार्ड रहेछ। आउँदा भारतको आधार कार्ड देखाएपछि हामीले प्रवेश दिएका हौं। भारतको काश्मीरको कार्ड रहेछ, होटलका म्यानेजर छवि लामिछानेले भने, कार्ड देखाएर बस्न आएपछि दिन त पर्‍यो।’

    उनीहरू नेपालमा अवैध रूपमा बसिरहेको भन्नेबारे पनि आज मात्रै थाहा पाएको लामिछानेले बताए।

    एउटै होटलमा दुइटा कोठा लिएर बसे पनि उनीहरूबीच खासै चिनजान नभएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। एकै कोठामा बसेका छ जना भित्रैकाले पनि एकअर्कालाई राम्ररी नचिनेको बयान दिएका छन्।

    एकअर्कालाई नचिन्ने उनीहरू कसरी एउटै होटलमा बस्न पुगे भन्ने कुरा खुलेको छैन। कसैले उनीहरूलाई सहयोग गरेर नेपाल आइपुगेको हुनुपर्ने आशंका गरिएको छ।

    उताबाट एक्लाएक्लै आएका र नेपाल आएपछि मात्रै एकअर्कालाई चिनेको उनीहरूको भनाइ छ।

    पक्राउ पर्ने अफगानहरूमध्ये तीन जना महिला छन्। अरू बाँकी पुरूष। उनीहरू आठदेखि ४१ वर्षसम्मका भएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए।

    महतोका अनुसार परिवारमा आठ वर्षीय बालक, ११ र १७ वर्षीया बालिका पनि छन्। बुवा भनिएका व्यक्ति पहिले गैरसरकारी संस्थामा काम गर्थे। यता अरू पनि कोही वर्कसपहरूमा काम गर्ने गरेको ब्युरोले जनाएको छ।

    ब्युरोले पक्राउ गरेका अफगान नागरिकको पहिचान भने खुलाउन चाहेन।

    अफगानिस्तानबाट नेपाल कसरी र किन आइपुगे भन्ने प्रश्नको उत्तर खोज्न ब्युरोले उनीहरूलाई नियन्त्रणमा लिएर महाराजगन्जस्थित कार्यालयमा ल्यायो। उनीहरूमाथि सोधपुछ गर्न भाषागत समस्या हुन सक्थ्यो। तर परिवारका बुवा भन्नेले अंग्रेजी भाषा बोल्न जान्दथे। अर्को समूहबाट एक पुरूषले हिन्दी बुझ्ने रहेछन्।

    प्रहरीले उनीहरूलाई दुइटा समूह बनाएर सोधपुछ गरेको हो। त्यसो गर्दा उनीहरू भारतको दिल्लीबाट स्थलमार्ग हुँदै रूपन्देहीको सुनौली नाकाबाट नेपाल भित्रिएको कुरा खुलेको छ।

    छ जनाको समूह २६ दिनअघि नै काठमाडौं आइपुगेको प्रहरी उपरीक्षक महतोले बताए। पाँच जनाको परिवार भने पाँच दिनअघि मात्रै आइपुगेका थिए। छ जना असोज १२ गतेदेखि होटलमा बस्न थालेका थिए।

    दिल्लीसम्म भने उनीहरू वैध तरिकाले नै पुगेका थिए। प्रहरीका अनुसार उनीहरूले अफगानिस्तानको राजधानी काबुल गत जुनजुलाइमै छाडेका थिए।

    त्यो समय अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने घोषणा गरेका थिए। बाइडेनले अगस्ट ३१ गतेसम्म काबुलबाट सबै सेना फिर्ता गर्ने घोषणा गरेका थिए।

    यहाँ बरू जेलमै भए पनि राखिदेऊ तर देश फर्किए हाम्रो ज्यान खत्तम हुन्छ भन्ने उनीहरूको भनाइ छ।’

    यद्यपी उनीहरूले तालिबानकै कारणले देश छाडेको हो वा होइन भन्नेबारे आफूले भन्न नसकेको प्रहरी उपरीक्षक महतो बताउँछन्।

     

    गृहको अनुरोध परिचयपत्र नहुनेलाई घर भाडामा नदिनूः

    यहीबीच गृह मन्त्रालयले परिचय पत्र नभएका व्यक्तिलाई घर भाडामा नदिन अनुरोध गरेको छ।

    विदेशी नागरिकहरू परिचयपत्र लुकाएर अनधिकृत रूपमा नेपालमा बसोबास गरिरहेको भन्दै मन्त्रालयले परिचयपत्र नभएकालाई भाडामा नदिन अनुरोध गरेको हो। मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुरोध गरेको हो।

    पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको छ मन्त्रालयले भनेको छ, पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कसैलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ।

    साथै पहिचान नखुलेका विदेशी नागरिक देखिए वा भेटिए नजिकको प्रहरी चौकीमा खबर गर्न समेत अनुरोध गरेको छ।

    सेतोपाटी डटकमबाट

    प्रतिक्रिया दिनुहोस