२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मेथिनकोट अस्पतालमा ५ सय भन्दा बढीलाई खोप लगाइने

  • २०७७ माघ १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ८५८ पाठक संख्या
  • नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पतालमा पनि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बीच मेथिनकोट अस्पतालबाट पहिलो चरणमा खोप लगाउन सुरुवात गरिएको हो ।

    काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यता तथा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाको विशेष आथित्यतामा भएको कार्यक्रममा मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। रामशरण श्रेष्ठले पहिलो खोप लगाएसँगै खोप अभियान सुरु गरिएको थियो । श्रेष्ठलाई मेथिनकोट अस्पतालमा कार्यरत सिअनमी कोशल्या न्यौपानेले पहिलो खोप लगाइदिएकी थिइन् । त्यसअघि प्रमुख जिल्ला अधिकारी पोखरेल र जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा। नरेन्द्रकुमार झाले नगर प्रमुख तिमल्सिना र डा। श्रेष्ठलाई खोप हस्तान्तरण गरेका थिए ।

    मेथिनकोट अस्पतालबाट नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिका, रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक, सरसफाईकर्मी तथा स्वास्थ्य क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई खोप लगाइनेछ । जसमध्ये नमोबुद्ध नगरपालिकाका स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्सचालक, सरसफाईकर्मी लगायत २ सय ३० जना, रोशी गाउँपालिकाका १ सय ५०, तेमाल गाउँपालिकाका १ सय १९ र महाभारत गाउँपालिकाका ९३ जना रहेका छन् । यसमा केही पालिकामा कार्यरत स्वास्थ्य क्षेत्रको सुरक्षामा संलग्न सुरक्षाकर्मी, सरसफाईकर्मी र एम्बुलेन्स चालकको संख्या थप हुने मेथिनकोट अस्पतालका हेल्थ असिस्टेन्ट शोभाकान्त आचार्यले जानकारी दिए । पहिलो चरणको खोप अभियान यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।

    कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नमोबुद्ध नगरपालिकाका प्रमुख टि।पी शर्मा तिमल्सिना, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झा, मेथिनकोट अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवं नमोबुद्ध ४ का वडाअध्यक्ष उद्धवप्रसाद काफ्ले, मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामशरण श्रेष्ठले खोप अभियानबारे मन्तब्य राखेका थिए ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भुपेन्द्रवहादुर खत्री, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, जिल्ला समन्वय अधिकारी केशव प्रसाद रिजाल लगायतको उपस्थिति थियो । यसअघि काभ्रेको धुलिखेलस्थित धुलिखेल अस्पतालबाट बुधबार खोप कार्यक्रम सुरु गरिएको थियो । काभ्रेमा पहिलो चरणमा ३ हजार ५ सय ८१ जनालाई कोरोनावरुद्धको खोप लगाइनेछ ।

    प्रतिक्रिया दिनुहोस