२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

वागमती मुख्यमन्त्रीविरुद्धको अविश्‍वास प्रस्ताव मतदानबाट टुंग्याइने

  • २०७७ पौष १८, शनिबार मा प्रकाशित ३ साल अघि
  • ७७६ पाठक संख्या
  • वागमती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध पेस भएको अविश्वासको प्रस्ताव मतदान प्रक्रियाबाट टुंग्याइने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार अविश्वासको प्रस्तावलाई मतदान प्रक्रियाबाट टुंग्याउनका लागि आन्तरिक तयारी सुरु भइसकेको छ ।

    वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले अविश्वास प्रस्तावको विषय प्रदेशसभाको बैठकबाट प्रक्रियागत ढंगबाट टुंग्याइने बताएका छन् । ‘नियम, कानुन र प्रदेश सभाको नियमावलीअनुसार मतदान प्रक्रियाबाटै यस विषय टुंगिनेछ । बैठक सुरु भएपछि कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार प्रक्रिया अगाडि बढाइने छ,’ श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक माघ ६ गतेलाई बोलाउने तयारी भइरहेको बताए । सभा सञ्चालन गर्ने विषयमा सभामुखले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलसँग संवाद गरिसकेका छन् । ‘संवेदनशील र महत्वपूर्ण विषय भएकाले सबै दलसँग परामर्श गरेर प्रक्रिया अगाडि बढाइनेछ,’ सभामुख श्रेष्ठले भने ।

    करिब साढे पाँच महिनाको अन्योलपछि प्रदेशसभाको बैठक आह्वानसँगै प्रदेशसभामा दर्ता भएको र सर्वत्र चासोको रुपमा हेरिएको अविश्वासको प्रस्ताव टुंग्याउने गरी प्रदेशसभा सचिवालयले प्रक्रिया अगाडि बढाउन लागेको हो । आफ्नै दलबाट अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभाको बैठक आह्वान गर्नेमा सर्वत्र शंका गरिएको थियो । उक्त शंकालाई चिर्दै मुख्यमन्त्री पौडेलले प्रदेशसभा बैठक माघ ७ गतेका लागि आह्वान गर्न सिफारिस गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको सातौं अधिवेशन माघ ७ गते दिउँसो ३ बजेका लागि बोलाउन प्रदेश प्रमुख विष्णु प्रसाईंलाई पत्राचार गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस