२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

२१ दिनभित्र उखुको भुक्तानी दिने उखु किसान र सरकार विच सहमति, आन्दोलन स्थगित

  • २०७७ पौष १३, सोमबार मा प्रकाशित २ साल अघि
  • ७५९ पाठक संख्या
  • उखु किसानको १६ दिनको आन्दोलनपछि सरकार र आन्दोलनरत किसानबीच सहमति भएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा चिनी मिलहरूले २१ दिन भित्र भुक्तानी उपलब्ध गराउने सहमति भएको छ ।

    किसानहरूको आन्दोलनकै बीच श्रीराम सुगर मिल्सले यसको ३५ करोड बक्यौतामध्ये २६ करोड ८६ लाख रुपैँया भुक्तानी गरेको छ । त्यस्तै अन्नपूर्ण सुगर मिल्सले १७ करोड बक्यौतामध्ये ५ करोड ३६ लाख भुक्तानी दिएको छ । इन्दिरा सुगर मिल्सले यसको ४ करोड ७० लाख बक्यौतामध्ये डेढ करोड तत्काल भुक्तानी गर्ने र बाँकी २१ दिन भित्र भुक्तानी गर्ने प्रतिबद्धता गरेको छ । लुम्बिनी सुगर मिल्सले ८ करोड ४१ लख भुक्तानी दिन बाँकी छ । यसका सञ्चालक मनिषकुमार अग्रवालको निधन भएपछि उखु किसानको भुक्तानी केही वर्षदेखि अवरुद्ध भएको छ ।

    उखु किसान संघर्ष समितिका प्रतिनिधिहरू र मन्त्रालयबीच भएको वार्तामा उखु किसान र चिनी मिल सञ्चालकहरूका समस्याका सम्बन्धमा समेत अध्ययन गरी दीर्घकालीन समाधान सिफारिश गर्नेगरी १२० दिनभित्र प्रतिवेदन पेश गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, उखु किसान र चिनी उत्पादक संघका प्रतिनिधि रहने गरी एक प्राविधिक समिति गठन गर्ने सहमति भएको छ ।

    उखु किसानले माग गरे बमोजिम जिल्ला प्रशासन कार्यालयले लगाएको तौला काँटा सम्बन्धि नियम हटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सहमत भएको छ । सरकार र उखु किसानबीचको सहमतिपत्रमा मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मी र उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस