२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

चण्डेश्वरी मन्दिरबाट गोसाईस्थानसम्म १६ सय सिंढी निर्माण हुने

  • २०७७ मंसिर २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • १६३१ पाठक संख्या
  • बनेपा नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत योजना अनुसार चण्डेश्वरी मन्दिरबाट गोसाईस्थानसम्म १ हजार ६ सय वटा सिंढी निर्माणका लागि डिपिआर तयारी गरी सरोकारवालासँग परामर्श गरिएको छ ।

    ‘बनेपा नगरपालिकामा आउने पर्यटकहरु तथा नगरबासीहरुको हितका लागि मन्दिरसँगको खोला छेउबाट गोसाईस्थानसम्म पदमार्ग निर्माण गर्ने उद्देश्यले १ हजार ६ सय वटा सिँढी निर्माण गर्न लागिएको छ’– नगर प्रमुख लक्ष्मीनरसिं बादेले भने –‘धार्मिक, ऐतिहासिक, साँस्कृतिक हिसाबले महत्वपूर्ण दुई प्रमुख धार्मिक स्थल जोड्ने पदमार्गले बनेपाको समृद्धमा थप ईटा थप्ने छ ।’

    जिल्ला समन्वय प्रमुख उद्धब के.सीले योजना अत्यन्तै राम्रो भएकाले योजना निर्माण गर्दा उक्त क्षेत्रमा पार्किङ्ग, विभिन्न जात जातिका विरुवा तथा फुलहरु, पानी, लगायत पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए । बनेपा नगरपालिकाका पूर्व नगर प्रमुख डा.सुरेन्द्र बहादुर बादे श्रेष्ठले उक्त सिँढीमा नगरपालिकाले योजना बनाई स्थानीय बासिन्दाको समेत सहभागिताका लागि आब्हान गर्न अनुरोध गरे ।

    नगर प्रमुख लक्ष्मी नरसिं बादेले नगरपालिका भित्र धेरै पर्यटक स्थल रहेको हुँदा उक्त योजना सम्पन्न पश्चात थप आन्तरीक पर्यटकको आर्कषक स्थल बन्ने बताए । प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले चण्डेश्वरी मन्दिर हुँदै गोसाइसर््थानसम्म निर्माणका लागी १ हजार ६ सय सिँढी निर्माण सँगै उक्त स्थानमा २ वटा पार्किङ्ग, २ वटा शौचालय, पिकनिक स्पोर्ट, बगैचा, जिम सेन्टर, मर्निङवाक रुट, भ्युटावर लगायत निर्माण हुने बताए ।

    डिभिजन बन अधिकृत देवीचन्द्र पोखरेलले प्रदेश सरकार वन मन्त्रालय सँग स्विकृत लिई योजना अगाडि बढाउनु पर्ने बताए ।

    कार्यक्रममा गोसाईस्थान सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र थापा, चण्डेश्वरी बन उपभोक्ता समितिका सचिव हर्षनारायण कर्माचार्य, वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ६ का वडा अध्यक्ष सचितानन्द के.सी, नगरपालिका जनसम्पर्क अधिकृत जुजुभाई सुद्धाकार, चण्डेश्वरी छाना सुधार समितिका सदस्य नेपाल सुधार भैल, संस्कृतबिद् ज्ञानकाजी मानन्धर, समाजसेवी हरिभक्त भोछिभोया, बनेपा नगरपालिका ईन्जिनियर सुरेसकुमार श्रेष्ठ, चण्डेश्वरी टोल सुधार समितिका अध्यक्ष श्याम सेवाचार्य लगायत संघ संस्थाहरुको सहभागीता रहेको थियो ।

    आगामी २ वर्ष सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त योजना निर्माणका लागि नगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ मा २ करोड ५० लाख र संघीय सरकार पर्यटन मन्त्रालयबाट ३ करोड ३० लाख गरी जम्मा ५ करोड ८० लाखमा निर्माण हुने नगरपालिकाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस