२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आफूविरुद्ध गुटबन्दी भयो म बैठक नै बोलाउँदिन : प्रधानमन्त्री

  • २०७७ कार्तिक २२, शनिबार मा प्रकाशित ३ साल अघि
  • ६८४ पाठक संख्या
  • नेकपाका कार्यकारी अध्यक्षसहित सचिवालयका बहुमत सदस्यले बैठकको माग गर्दै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका छन् । तर, अध्यक्ष ओलीले आफ्नाविरुद्ध गुटबन्दी भएको भन्दै बैठक बोलाउन अस्वीकार गरेका छन् ।

    कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ शनिबार सामूहिक रुपमा बालुवाटार पुगेर ओलीलाई पत्र बुझाएका थिए । उनीहरुले स्थायी कमिटी निर्णय कार्यान्वयन, कोभिडको अवस्था, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफलको माग गर्दै पत्र बुझाएका छन् ।

    प्रवक्ता श्रेष्ठले पार्टी एकता रक्षाका लागि तथा समग्र विषयमा छलफल गर्न बैठक बोलाउन लिखित माग गरिएको बताए ।

    तर, पत्र बुझाउन गएका सचिवालयका सदस्य र ओलीबीच तिक्तातापूर्ण संवाद भएको थियो । ओलीले गुटबन्दी भएको र आफूले बैठक बोलाउन नसक्ने जवाफ दिएको सचिवालयका एक सदस्यले बताए । ती सदस्यका अनुसार बैठक डाक्न माग गर्दै बालुवाटार पुगेका सचिवालयका बहुमत सदस्यलाई ओलीले उल्टै प्रश्न गरे, ुगुटबन्दी भयो, बैठक किन बस्ने ?

    पत्र बुझाउनुअघि सचिवालयका पाँच नेताले पार्टी मुख्यालय धुम्वाराहीमा छलफलसमेत गरेका थिए । शुक्रबार कार्यकारी अध्यक्ष दाहालले सचिवालयको बोलाएको अनौपचारिक बैठकमा अर्का अध्यक्ष ओलीलाई बैठक बोलाउन माग गर्दै पत्र लेख्ने निर्णय भएको थियो । पत्रअनुसार बैठक बोलाउन ओली तयार नभए औपचारिक बैठकको तयारीमा लाग्ने सचिवालयका बहुमत सदस्यहरुको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस