२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

धुलिखेल-नगरकोट पर्यटकीय सडक कालोपत्रे गरिँदै

  • २०७७ कार्तिक २१, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • १००७ पाठक संख्या
  • धुलिखेल, बनेपा र मण्डनदेउपुर नगरपालिका गरी तीन  नगरपालिकालाई जोड्ने सो सडकखण्ड निर्माण कार्य सम्पन्न भएपछि पर्यटकीय क्षेत्रको विकाससँगै त्यसले व्यावसायिकरूपले स्थानीयवासीको समेत आर्थिकस्तरमा वृद्धि हुने र जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ ।

    प्रदेशसभा सदस्य हुमागाईँले भने, ‘प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय, पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकबाट धुलिखेल-रविओपी-टनचोक-नगरकोट सडकको १८ किलोमिटर सडकको बाँसघारीदेखि गोसाइँस्थानसम्मको एक किलोमिटर कालोपत्रे गर्ने कामसमेत अन्तिम चरणमा पुगेको छ ।’ पर्यटनको लागि अति महत्वपूर्ण सडक भएकाले सो सडक सम्पन्न भएपछि नगरकोटको पर्यटकलाई धुलिखेलसम्म ल्याउन र त्यहाँबाट प्रसिद्ध धार्मिकस्थल नमोबुद्धसम्म जानका लागि निकै सहज हुने उनको भनाइ छ । सडकलाई प्राथमिकतामा राखेर क्रमागत योजनाको रूपमा विकास गर्ने र बहुवर्षीय योजनाको रुपमा स्वीकृत गरेर लैजाने विषयमा कुरा भइरहेको प्रदेशसभा सदस्य हुमागाईँले बताए ।

    त्यससँगै वाग्मती प्रदेश सरकारले पर्यटन पैदलमार्गका लागि नगरकोटबाट टनचोकधुलिखेल-नमोबुद्ध हुँदै तेमालसम्मको क्षेत्रलाई समेटेर निर्माण गर्ने परिकल्पना गरी डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) समेत सम्पन्न गरिसकेको उनले बताए ।

    त्यस्तै वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा बिपी राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको लाँकुरीभज्ञ्याङ-कुशादेवी-पनौती-नमोबुद्ध-चौकीडाँडा सडकको निर्माण कार्यलाई तीव्रता दिइएको छ । सो सडक निर्माण कार्य सम्पन्न भएपछि काठमाडौँबाट बाहिरिने र उपत्यका भित्रिने महत्वपूर्ण मार्ग बन्नेछ । वाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट करिब रु ६१ करोड विनियोजन भई निर्माण कार्य भइरहेको उक्त सडकखण्डको र्यालेदेखि दाहालटारसम्मको १६ किलोमिटरको स्तरोन्नतिको काम करिब अन्तिम चरणमा पुगेको छ ।

    उक्त सडक सञ्चालनमा आएपछि अरनिको र बिपी राजमार्गमा सवारी चाप कम हुनेछ । सडकखण्डको नमोबुद्ध नगरपालिका वडा नं ९, १० र ११ का बासिन्दा तथा रोशी गाउँ पालिकाका १, २, ३, ४ र ५ नम्बर वडाका बासिन्दालाई सहज हुने भएको छ । नेपाल सरकारले १२८ वैकल्पिक राजमार्ग बनाउँदै छ । एनएच ५० अन्तर्गत यो सडक निर्माण भइरहेको छ । जिल्लाकै तेस्रो ठूलो सडकका रूपमा निर्माण भइरहेको सडक ११ मिटर चौडाइको बन्नेछ ।

    प्रदेश सरकारले काभ्रेपलाञ्चोकको २ नं निर्वाचन क्षेत्र ख अन्तर्गत ११ वटा सडकको डिपिआर सम्पन्न गरिसकेको जनाएको छ । नाला-काशीभञ्ज्याङ-नयाँगाउँ-हिले-कुन्ता सडकको निर्माण कार्य प्रारम्भ भइसकेको प्रदेशसभा सदस्य हुमागाईँले बताए । सडकसँगै आठ वटा पुल, भवन र सिँचाइसहित २५ वटा योजनाको डिपिआर तयार गर्ने काम सम्पन्न भइसकेको उनको भनाइ छ । रासस

    तस्वीर भेजराज शाहको फेसबुकबाट

    प्रतिक्रिया दिनुहोस