२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेका “हाई प्रोफाइल”हरूलाई कोरोना संक्रमण

  • २०७७ कार्तिक २०, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १५४२ पाठक संख्या
  • नेपालमा कोरोना भाइरस संक्रमण ‘भुसको आगो’ झैं समुदायमै सल्कँदै रहेको पछिल्ला तथ्याङ्कहरूले पुष्टि गरीरहेको छ । यस संक्रमणले के धनी के गरीब के साना के ठुला कसैलाई बाँकी राखेको छैन । अब त लाग्दैछ, काभ्रेमा कोरोना संक्रमण भनेको ठुलाबडा र मान्यहरूको रोगका रूपमा त कतै परिचित हुने होइन !

    पछिल्ला दृष्टान्तहरूले पनि त्यही संकेत गरिरहेको आभाष हुन्छ । हुनतः औसत काभ्रेलीहरूको पहुँचमा कोरोनाको आरटी–पिसिआर टेष्ट नभएर पनि होला, समुदायमा संक्रमणको अवस्थाको बारेमा आँकलन गर्न नसकिएको हो । तर, हामीले मान्दै आएका ठुलाबडा र मान्यहरूले टेष्टको अवसर पाउनु भएरै होला संक्रमित भएको बेलैमा थाहा पाउनु भयो, उपचार सुविधा र आइसोलेसनमा बस्ने पर्याप्त समय पाउनु भयो र बेलैमा निको पनि हुनु भयो ।
    यसरी संक्रमितहरूको सूचीमा जिल्लाकै सबैभन्दा हाइ प्रोफाइल हुनुहुने पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सांसद गोकुलप्रसाद बाँस्कोटा रहनु भएको छ । संक्रमण फैलिइरहेका बेलामासमेत पार्टीका कार्यक्रमहरूमा सबैभन्दा बढी सक्रियता र सहभागिता उहाँकै देखिन्थ्यो । बाँस्कोटा यतिखेर कोरोना जितेर आरामले बस्नु भएको छ । तर उहाँ सँगसँगै कार्यक्रमहरूमा सहभागिता जनाउने नेता कार्यकर्ताहरूमा यो संक्रमणको अवस्था कस्तो रहेको होला भन्ने आम चासो रहँदै आएको छ ।

    कोरोना भाइरसको संक्रमण नेपाल भित्रनुभन्दा अल्लि अगाडि मुटुको उपचार गराएर घरैमा आराम गरिरहनु भएका पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे पनि कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत बस्नु प¥यो । उहाँले पनि कोरोना संक्रमणलाई जितेर फर्कनु भयो । नेपाली काँग्रेस ट्रेड युनियन विभाग प्रमुख एवं केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंको पनौतीस्थित निवासमा त उहाँले क्वारेन्टिनझैं प्रबन्ध मिलाउनु भएको थियो । परिवारका सबै सदस्यका खाने भाँडावर्तनहरू लगायत ‘हाइजिन’ का सामग्रीहरू सबैलाई अलग अलग थियो । घरमा आउनेहरूलाई समेत आँगनमै दूरी कायम राखेर मास्कबिना भेटघाट गर्नु हुन्नथियो । तैपनि उहाँ र उहाँकी अर्धाङ्गिनीमा कोरोना संक्रमण देखियो । अहिले होम आइसोलेसनमै रहेर दुबै जना स्वास्थ्य लाभ लिइरहनु भएको छ ।
    स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्र हुँदै भैंसेपाटी गाउँभरि नै सल्किएको कोरोना संक्रमणले जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी र उहाँको परिवारलाई पनि गाँज्यो । स्वअनुशासनमा रहने बानीका कारण उहाँले कोरोनालाई सहजै जित्नु भयो र परिवारले पनि । यस्तै, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जू र उहाँकी अर्धाङ्गिनीले कोरोना संक्रमण जित्नु भएको अवस्था छ । संक्रमण पुष्टि हुनुभन्दा अघिल्लो दिनसम्म नगरक्षेत्रका विकास निर्माणको अनुमगनमा उहाँ सक्रिया हुनुहुन्थ्यो । धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्मालाई समेत कोरोना संक्रमण देखिएको छ । बनेपाका नगर प्रमुख लक्ष्मी नरसिंह बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, केही वडाध्यक्षहरू अहिले पनि कोरोना संक्रमणसँग लडिरहनु भएको छ । पुण्यमाता करिडोर निर्माण कार्यसहित अन्य विकास निर्माण कार्यको अनुमगनमा सधैं खटिइरहने उपप्रमुखलाई कन्ट्याक्टकै कारण कोरोना संक्रमण भएको अनुमान गरिएको छ ।

    पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने यतिखेर कोरोना संक्रमणकै कारण होम आइसोलेसनमा रहनु भएको छ । कात्तिक ५ गते नगर प्रमुख न्यौपाने, प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईं र संविधानसभा सदस्य रामहरि सुवेदीलगायतको टोली पनौती–२, नयाँगाउँमा दशैंको शुभकामना र पार्टीको कार्यक्रममा सहभागी हुनुभएको विवरणलाई फेसबुकमा फोटोसहित हेमराज हुमागाईंले पोष्ट गर्नु भएको थियो । त्यसलगत्तैको परीक्षणमा न्यौपानेलाई कोरोना देखिएको थियो । उहाँको सोमबार दोस्रो कोरोना टेष्ट गरिएको छ । यो समाचार तयार पर्दासम्म नतिजा आइसकेको छैन । बेथानचोक गाउँपालिकाका प्रमुख प्रेमबहादुर तिमल्सिनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणको पुष्टि हुनुभन्दा तीन दिन अघिमात्रै तिमिल्सना चक्लाबन्दी अभियानका लागि आलु सुपरजोनका प्रमुखसहित कामीडाँडा र भुग्देउक्षेत्रको निरीक्षणमा जानु भएको थियो । काभ्रे जिल्लास्तरिय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर(डिसिसिएमसी) का संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई सोमबार कोरोना पोजिपटभ देखिएपछि जिल्ला प्रशासन कार्यालयका अत्यावश्यकबाहेकका सबै सेवा मंगलबारदेखि एक साताका लागि स्थगित गरिएको छ । कार्यालयका अन्य कर्मचारीहरूमा समेत कोरोनासँग मिल्ने लक्षण देखिएकाले सेवा स्थगित गर्नु परेको सहायक प्रजिअ लक्ष्मीदेवी होमागाईं खतिवडाले जारी गर्नु भएको सार्वजनिक सूचनामा उल्लेख छ । प्रजिअ पोखरेलकी अर्धाङ्गिनीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि पोखरेलल आफू र १८ र १३ वर्षीया छोरीको कोरोना परीक्षण गराउनु भएकोमा परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरेलले कोरोना संक्रमण पुष्टी भए पनि आफु र दुवै छोरीमा कुनै पनि लक्षण नदेखिएको बताउनु भएको छ । आफुहरूमा करिब एक हप्ताअघि सामान्य जिउ दुख्ने र रूघा लाग्ने भएपनि अहिले त्यस्तो कुनै समस्या नरहेको उहाँको भनाई छ । कोरोना संक्रमण पुष्टि भएपछि प्रजिअ पोखरेलको परिवार होम आइसोलेसनमा हुनुहन्छ । प्रजिअ पोखरेल संयोजक रहेको डिसिसिएमसीले घटस्थापनाको अघिल्लो दिन कोरोना संक्रमण फैलन सक्ने भन्दै जिल्लाका मठमन्दिरहरूमा भीडभाड र दर्शनका लागि प्रवेश बन्द गराउने निर्णय गरेको थियो । तर त्यसकै निर्णयकर्ता र नियमनकर्ता रहनु भएको प्रजिअ पोखेरल स्वयं नै प्रमुख अतिथि बनेर बनेपा–३, ठूलो वनमा रहेको शुभ चामुण्डादेवीको प्राणप्रतिष्ठा गर्नु भएको थियो । त्यस्तै पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनालाई समेत कोरोना पोजेटिभ देखिएको छ । उनी होम आईसोलेसनमा छन् ।

    उता, रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरू दाहाल कार्यालयको कामकै सिलसिलामा कोरानो संक्रमति हुनु भएको थियो । होम आइसोलेसनमा रहेर उपचारपश्चात निको भइ हाल पालिकामा सेवा दिन थालिसक्नु भएको छ । उहाँलाई पनि कार्यालयमा टेण्डर खोल्ने दिनमा भएको भीडभाडका क्रममा कन्ट्याक्टबाट कोरोना संक्रमण सरेको अनुमान गरिएको थियो । अहिले पनि जिल्लाका प्रमुख राजनीतिक दलहरू तिहार, नयाँ वर्षलगायतका पर्वहरूका नाममा पार्टी प्रवेश कार्यक्रमहरू आयोजना गरिरहेका छन् । संविधान सभा सदस्य तीर्थ लामाले सोमबारमात्रै नमोबुद्ध–५ मा सोही वडास्थित नेपाली काँग्रेस कमिटीद्वारा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमको प्रमुख आतिथ्यता गर्नु भएको छ । उक्त कार्यक्रममा नेकपा पार्टी परित्याग गरि १ सय ५० भन्दा बढिको संख्यामा नेपाली कांग्रेस पार्टी प्रवेश गरेका नव प्रवेशी कार्यकर्ताहरूलाई स्वागत गर्नु भएको थियो । यी माथिका दृष्टान्तहरूले के देखाउँछ भने समुदाय र काभ्रेली नागरिकहरूलाई कोरोना संक्रमणबाट बच्नका लागि सल्लाह सुझाव दिनु पर्ने ठूलाबडा र मान्यहरू नै ‘रोल मोडल’ बन्नुको साटो यसतो विपतमा समेत लापरवाह ढङ्गले व्यवहार गरीरहनु भएको छ । आम नागरिकलाई कोरोनाबाट बच्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरूजस्तै पटक–पटक हात धुने, मास्क लगाउने, भीडभाडमा नजाने, जेष्ठ नागरिक र बालबालिकाहरूलाई विशेष ध्यान दिनेजस्ता कुराहरूमा वास्तै गर्न छाडेका छन् । समुदायमा कोरोना संक्रमण बढ्दै जानुमा यतिखेर ठुला बडा र मान्यहरूले गरकै हेपाहा प्रवृत्ति र लापरवाहीलाई देखेका÷भोगेका आम नागरिकहरूले कोरोना भाइरसलाई सामान्य रूपमा लिन थालेको महामारीविज्ञहरूको बुझाई रहेको छ ।

    पलाञ्चोक साप्ताहिकबाट साभार

    प्रतिक्रिया दिनुहोस