२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

च्याउ खेतिले दिलाएको सफलता 

  • २०७७ कार्तिक २०, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १८४० पाठक संख्या
  • सरिता थापा, किसान बनेपा–१० जनगाल, काभ्रे

    ‘भर्खर भर्खरै बिहे भएको थियो । घरमा पाहुना हुनुहुन्थ्यो त्यो समयमा ।’ बनेपा नगरपालिका वडा नं १० जनगालका सरिता थापा भन्नुहुन्छ, ‘घर छेउकै बारिमा एक दिन राम्रो च्याउ उम्रिएको रहेछ मैले त्यसलाई घरमा ल्याएर पकाए मलाई त्यसको स्वाद एकदमै मन प¥यो । च्याउ त अरु बेलमा पनि खाएको हो तर त्यो दिनको स्वाद मलाई एकदमै मन प¥यो । च्याउको कारण परिवारबाट खाना मिठो बनाउदिरहिछे बुहारीले भन्नुभयो । तारिफ सुनेर म पनि मख्ख परे ।
    त्योे दिनबाट मलाई सधै च्याउ नै मात्र तरकारी भए भन्ने जस्तो लाग्यो । तर बारीमा त एक छाकलाई पुग्ने मात्र उम्रिएको थियो । केही दिनमा मैले बजारबाट श्रीमानलाई च्याउको बीउ ल्याउनको लागि अनुरोध गरें । उहाँले ल्याइदिनुभएको बीउ मैले रोपें र राम्रोसँग उम्रियो पनि । लगभग एक बर्ष जस्तो त राम्रो नै भयो । घरपरिवारलाई पुग्ने मात्र उमारेर खाने गरियो । त्यसपछि मलाई च्याउको व्यवसायीक खेती नै गर्नुपर्छ जस्तो लाग्यो । मैले व्यवसाय गर्ने योजना बनाएँ र घरमा सल्लाह गरें उहाँहरुको अनुमती अनुसार यो पेशामा म अहिले आवद्ध छु ।’

    थापाले एउटा झुप्रोबाट च्याउ खेती शुरु गर्नुभएको थियो । २०५९ मा च्याउ खेती शुरु गरेका केसी अहिले ७ रोपनी क्षेत्रफलमा च्याउ लगाउनुभएको छ । पहिले घर घरमा नाङ्गो खुट्टा च्याउ लिएर जाने थापा अहिले आफ्नै गाडीमा हिड्नुहुन्छ । उहाँले च्याउ बेचेरै आफु सन्तुष्ट हुने गरी जग्गा समेत किन्नुभएको छ । सुरुवाती दिनमा अरुको बचन र खटन सहेर काम गर्नेे शान्त स्वाभावका थापाले अरुलाई काम समेत दिनुभएको छ । कन्ने र गोब्रे च्याउ लगाउँदै आउनुभएको उहाँले दैनिक एक सय दश किलो च्याउ उत्पादन गर्नुहुन्छ । सिजनको समयमा त उहाँकोमा कहिलेकाहीँ दिनमा अरु समयमा भन्दा डबल पनि उत्पादन हुन्छ । ‘हाम्रो नेपाली माटोमा हामी सुन फलाउन सक्छौँ, तर हामीले चाहनु पर्यो,’ थापाले भन्नुभयो, ‘मेहनत गरे जुन पेशाबाट जुन ठाउँमा पनि कमाउन सक्छौँ । मैले पनि सुरुमा त के गर्ने कसो गर्ने केही काम पाए पनि हुन्थ्यो भन्ने सोच्ने गर्दथे तर अहिले म यो पेशामा सफल नै छु भन्ने लाग्छ ।’
    उहाँले च्याउ खेतीको लागि तालिम समेत लिनुभएको छ । गाउँका स्थानीयवासीलाई आयआर्जनका लागि एउटा संस्थाले च्याउखेती तालिम दिएको थियो । सोही अवसरमा उहाँले पनि तालिम लिनुभएको हो । शुरुमा उहाँ सहित १० जनाले तालिम लिएका थिए । अहिले व्यवसायमा लाग्ने भने उहाँमात्र हुनुहुन्छ । त्यो बेला ग्रामीण कृषक समूह गठन गरेर च्याउ खेती शुरु भएको थापा सम्झिनुहुन्छ । उक्त समूह अहिले पनि छ । तर व्यवसाय गर्नेको भने छैन । अहिले मासिक तिन सय बचत गर्छन् । सामान्य खेती किसानी गरेर जीविका चलाउन उहाँलाई पहिले मेलापात नै जानुपथ्र्यो । त्यो बेलाको खेती पनि वन्यजन्तुले खाइदिन्थ्यो । अहिले आफ्नो जीवन फेरिएको उहाँले बताउनुभयो । च्याउबाट खर्च कटाएर मासिक रु ७० हजार सम्म न्यूनतम कमाई हुने उहाँको भनाइ छ । उहाँका अनुसार अहिले च्याउको बजार भाउ पनि राम्रो नै छ ।

    उहाँको श्रीमान्को विगतमा मलेशियामा मजदुरी गरेको अनुभव छ । त्यसपछि नेपाल आएर जग्गा नापीमा समेत काम गर्नुभयो । अहिले भने श्रीमान श्रीमति नै यो पेशामा आवद्ध हुनुहुन्छ । ‘जब च्याउ खेती शुरु भयो दुःखका दिन गए,’ थापाले भन्नुभयो, ‘अहिलेको पेशाबाट निक्कै आनन्दित छु मेरो २ वटा छोराहरु छन् । उनीहरुको रेखदेख पढाई सबै खर्च म यही च्याउ खेतीबाट जुटाउने गर्दछु ।’ झुप्रोबाट खेती शुरु गरेका उहाँको अहिले च्याउका ५ वटा ठूला घर छन् । उहाँलाई उहाँको घरपरिवारसँगै उहाँका श्रीमानले काममा सहयोग गर्नुहुन्छ । ‘उहाँले बजार हेर्नुहुन्छ, यहाँको व्यवस्थापन म स्वयं गर्छु,’ थापाले भन्नुभयो । च्याउको मौसमका बेला ६ देखी ७ जना सम्म कामदार राख्ने गरिन्छ । अहिले व्यावसायिक च्याउ खेतीका सफल किसानको रुपमा केसी परिवार छन् । च्याउ बेचेर गाडी, मोटरसाइकल सहित केही जग्गा समेत जोडिसक्नुभएको छ थापाका परिवारले ।

    झुप्रोमा च्याउ खेती गर्दा पहिलो पटक १० किलोग्राम उत्पादन भयो । ‘त्यो बेलाको खुशीको सीमा नै भएन,’ थापाले भन्नुभयो । विस्तारै उहाँले खेती बढाउनुभयो । शुरुमा उतपादन भएको सामान बेच्न थापाका श्रीमान श्रीमती गाउँ गाउँ डुल्नुहुन्थ्यो । अहिले मानिसहरु र व्यापारी घर घरमा नै आउने गर्दछन् । बाँकी रहेको खुद्रा पसलमा लगेर बेच्ने गनुएभएको छ । केही वर्ष यसरी बित्यो । घरघरमा नै गएर च्याउ बेचेको कमाईको सहारामा कमाएको पैसाले उहाँले खेती विस्तार गर्नुभयो । कमाइ बढेपछि उहाँले मोटरसाइकल किनेर त्यसमै राखेर च्याउ बेच्नुभयो । अहिले उहाँ कारमा च्याउ लैजानुहुन्छ । पहिले साइकलमा गाउँगाउँ डुलाउने उहाँलाई अब त्यसरी दुःख गर्नुपर्दैन । घरमै लिन आउँछन् । नभए थोक पसलमा लैजानुहुन्छ । सरकारी सहयोग भने अहिलेसम्म एक रुपैयाँ पनि नपाएको गुनासो थापाका भनाई छ । अहिले थापा च्याउको बीउ समेत उत्पादन गर्नुहुन्छ । लागत अनुसारको मूल्य नपाउँदा भने उहाँ अलि दुःखी लाग्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘च्याउखेती सिकेर अरुलाई सीप समेत बाँड्नुभएको । अहिले ५० जना भन्दा धेरैलाई च्याउ खेती गर्ने शिप सिकाइसकेको छु । आफुले अरुलाई समेत रोजगारी दिन सकेको र शिप दिन सकेकोमा म निकै नै खुसी छु र आफ्नो पेशा प्रती सन्तुष्ट पनि छु । मलाई मेरो परिवारले मात्र होइन समाजमा पनि सबैले राम्रो नै मान्नुहुन्छ ।’

    विवाह भए पछि केही गर्न सकिदैँन भन्ने महिलाहरुको लागि विवाह पछि नै व्यवसाय सुरु गर्नुभएर सफल बन्नुभएका थापा समाजका उदाहरणिय पात्र हुनुहुन्छ ।

    पलाञ्चोक साप्ताहिकबाट साभार

    प्रतिक्रिया दिनुहोस