काभ्रेको पाँचखाल ९ मा रहेको पलाञ्चोक भगवती र बनेपा नगरपालिका ५ मा रहेको चण्डेश्वरी मन्दिर प्रवेश गर्ने मूलद्वारबाटै दर्शन र पूजा गर्न थालिएको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना टाँसेर शक्तिपीठ र मन्दिरमा प्रवेश निषेध गरेपछि प्रवेशद्वारबाटै दर्शन गर्न थालिएको हो। मन्दिरमा दर्शन गर्न जानेहरु मूल प्रवेशद्वारबाट नै दर्शन र पूजा गरी फर्कने गरेका छन्।
बनेपा नगरपालिका ५ मा रहेको चण्डेश्वरी मन्दिर
प्रशासन कार्यालयले विषम परिस्थितिमा बडादशैंँमा घटस्थापनादेखि नवरात्रभर जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरका साथै स्थापना गरिने दुर्गाभवानीको पण्डालमा समेत सर्वसाधारणको भीड अत्यधिक भई कोरोना संक्रमणको सम्भावित जोखिम हुने भएकाले सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ। विगत वर्षहरुमा मन्दिर परिसरमा दर्शनार्थीको ठूलो घुइँचो हुने गरेको थियो।
बनेपाको चण्डश्वरी मन्दिरका पुजारी लक्ष्मण कर्मचार्यले कोरोना भाइरस संक्रमण जोखिमका कारण प्रवेशमा निषेध गरिएपछि बाहिरबाट नै दर्शन गर्ने ब्यवस्था मिलाइएको बताए।
प्रसिद्ध एवं ऐतिहासिक पलाञ्चोक भगवती मन्दिरमा पनि मुल गेट भन्दा बाहिरबाटै पुजा हुँदै आएको छ । हरेक वर्ष राष्ट्रपतिबाट महाअष्टमीमा पूजा र दर्शन गर्ने पलाञ्चोकमा यस बर्ष राष्ट्रपतिको भ्रमण स्थगन भएको वडाध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । सर्वसाधारण दर्शनका लागि आए पनि बाहिरबाट नै दर्शन गरी फर्कने गरेको र बलिपूजा पूर्ण रुपमा निषेध गरिएको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस