२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

  • २०७७ कार्तिक ७, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३७० पाठक संख्या
  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

    शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो । शाहीको विरुद्धमा परेको अविश्वासको प्रस्तावको पक्षमा शून्य मत परेको थियो भने प्रस्ताव दर्ता गराउने कुनै पनि सांसदहरु बैठकमा उपस्थित भएनन ।

    यसअघि २५ असोजमा नेकपाकै नेता यामलाल कँडेलसहित १८ जना प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर पछि नौ जनाले अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए ।

    ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन् ।

    प्रमुख सचेतक सीता नेपालीको अध्यक्षतामा आज बसेको दलको बैठकमा पूर्वमाओवादी पक्षका १० जना र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ८ जना उपस्थित थिए । पूर्वमाओवादीका एक जना सांसद ठम्मर विष्ट काठमाडौंमा छन् । उनले मुख्यमन्त्री शाहीप्रति लिखित समर्थनको पत्र पठाएका थिए ।

    अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका पूर्वमाओवादी पक्षका सांसदहरु धर्मराज रेग्मी र पुष्पा घर्ती भने आजको बैठकमा सहभागी थिएनन् ।

    प्रतिक्रिया दिनुहोस