२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपा विवादको चेपुवामा काभ्रे क्याम्पस, समानुपातिक उमेदवारलाई ठगी मुद्धा, कार्बाही गराउन अखिलदेखि पूर्बमन्त्रिसम्म लागे

  • २०७७ कार्तिक ५, बुधबार मा प्रकाशित ३ साल अघि
  • १५८८ पाठक संख्या
  • काभ्रेमा भएको नेकपाको विवाद शैक्षिक संस्थामा समेत जोडिएको छ । अहिले नेकपा भित्रको बिवादले उग्ररुप लिएपछि आफ्नै नेताहरुलाई ठगी मुद्धा लगाएर भागारे भाग बनाइदिएका छन् ।

    अझ भनौ नेकपा बनेपाको नगरभित्रको बिवादको कारण आफनै समानुपातिक उमेदवार लगायत नेताहरुलाई ठगी मुद्धा लागेको छ । समानुपातिक उमेदवार एबं काभ्रेका पुराना नेता लम्बोदर कायस्थ लगायतलाई आफ्नै पार्टीका बिद्यार्थी संगठनका अध्यक्ष उपेन्द्र सापकोटाको नेतृत्वमा ठगी मुद्धा दर्ता गराइएको हो । काभ्रे बहुमुखी क्याम्पसका अध्यक्ष समेत रहेका कायस्थ, तथा नेकपाकै नेताहरु सञ्चालक समिति सदस्य कृपेन्द्र श्रेष्ठ र क्याम्पस प्रमुख के.जी. बैद्धारलाई नेकपा निकट अनेरास्ववियू काभ्रेले सोही क्याम्पसमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई ललाई फकाई अभिभावक मार्फत मुद्धा दर्ता गर्न लगाइएको खुलासा समेत भएको छ ।
    उनीहरुलाई उक्साएर विद्यार्थीका अभिभावक मार्फत इलाका प्रहरी कार्यालय बनेपामा मुद्धा दायर भयो । ठगी भएको भन्दै जाहेरी दिनेहरुमा विद्यार्थीका अभिभावकहरु रुपेशका बुबा उद्धब दाहाल, सुदिपको बुवा लक्ष्मण दाहाल, राजन बहादुरको आमा नर्वदा थापा, प्रतिक्षा थापाको आमा रस्मिता थापा र दीपिका श्रेष्ठका बुबा रामचन्द्र श्रेष्ठ छन् । उनीहरुले क्याम्पससले ठगेको भन्दै मुद्धा हालेका थिए ।

    झुटो बिवरण भएको भन्दै दुई जनाको जाहेरी फिर्ता
    ठगीको जाहेरी दिएर मुद्धा हाल्ने ५ जना मध्ये २ जनाले उजुरी फिर्ता लिएका छन् । झुटो उजुरी बनाएर हस्ताक्षर गर्न लगाएर सहभागी गराएको भन्दै उनीहरुले उजुरी फिर्ता लिएको जानकारी दिए । उनीहरुले इलाका प्रहरी कार्यालय गएर कुनै पनि कानुनी प्रकृयामा सहभागि नहुने भन्दै कागज गरेर फर्किएका छन् । फिर्ता लिनेमा प्रतिक्षा थापाको आमा रस्मिता थापा र दीपिका श्रेष्ठका बुबा रामचन्द्र श्रेष्ठ छन् । कानुनी प्रकृयामा सहभागि नहुने भनेर जाहेरी फिर्ता लिएको दीपिकाका बुबा रामचन्द्र श्रेष्ठले मिडियाचोकलाई जानकारी दिए । दुबै जना कक्षा १२ का विदार्थी हुन् । जाहेरी हाल्नेहरु पनि सुविधा लिने, पढ्छु भनेर सबै प्रकृयामा सहभागि हुने अनि ठगी भयो भनेर उजुरी हालेका क्याम्पस प्रशासनले जनाएको छ । उजुरी हालेका उद्धव दाहालको छोरा रुपेशले कम्प्युटर साइन्स पढ्ने भनेर साउन १७ गते र असोजको १ गते क्याम्पसमा पैसा बुझाएको देखिएको छ । अझ उनी क्याम्पसको आन्तरिक परीक्षामा सहभागि हुन पुष ४ गते पैसा पनि तिरेको क्याम्पस प्रशासनले जनाएको छ । यदि विषयमा ठगीएकै भए किन क्याम्पसको सबै प्रकृयामा सहभागी भएको क्याम्पस प्रमुख केजी बैद्धारले प्रतिप्रश्न गरे । क्याम्पसबाट सुदिप दाहालले पनि छात्रवृति पाएर अध्ययन गरिरहेका थिए । राजन बहादुर थापाले उजुरी कर्ता मध्ये सबैभन्दा बढि छात्रवृति पाएका विद्यार्थी हुन् । अपाङ्गता समेत भएका राजनले पढाईमा छुट साथै थप छात्रवृति लिएका थिए ।

    कसरी भयो मुद्धा दरार ?

    पहिलो कारण : प्रकृया

    पहिलो कारण उच्च माध्यमिक शिक्षा २०७५ सालमा खारेजी गरी स्थानीय तहलाई शैक्षिक अधिकार दिएको थियो । क्याम्पसले माध्यमिक सम्मको पठनपाठन गर्न स्थानीय पालिकाको स्वीकृति लिएर पढाउन सक्ने व्यवस्था गरेअनुरुप बनेपा नगरपालिकाबाट स्वीकृति पत्र लिएको थियो . क्याम्पस प्रशासनले २०७५ साल साउन ११ गते बनेपा नगरपालिकासँग स्वीकृत लिएको र त्यहि स्वीकृतिलाई आधार मानेर पठनपाठन शुरु भई बिद्यार्थीहरु परीक्षमा सम्मिलित भई परीक्षा फल समेत प्रकाशन गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

    क्याम्पसले बनेपा नगरपालिकाबाट लिएको अनुमति

    नयाँ शैक्षिक सत्र २०७६ सालमा पुनः पठनपाठनलाई सुचारु गर्न खोज्दा नगरपालिकाको स्वीकृतिलाई अमान्य मान्दै परीक्षा बोर्डले रसायन बिज्ञान र भौतिक बिज्ञान थप गरी जिपिएको आधारमा कम्प्युटर साइन्स र एकाउन्टीङ ग्रुपको रजिष्टेशन गरिने अन्यथा नहुने परिपत्र गरेपछि बिद्यार्थीहरुसँग सरसल्लाह गरी बिद्यार्थीको रुचि र चाहना मुताविक जिपिएको आधारमा रजिष्टेशन फारम भरी करिब २ महिना पठनपाठन गरेको थियो । ‘नियमानुसार हामीले गरेका हौं, शुरुमा उच्च माध्यमिक परिषद् खारेज हुने भएपछि स्थानीय सरकारलाई अधिकार दियो, हामीले त्यसैमा टेकेर स्थानीय सरकारसँग अनुमति लियौं र पठन पाठन गरायौं, पठन पाठन भएको त्यति समय पछि कसरी ठगीको कुरा आयो भन्ने कुरामा क्याम्पस प्रशासननै अनभिज्ञ छ ।’–क्याम्पस प्रमुख बैद्धारको भनाई छ ।

    यहि विषयलाई लिएर पटक पटक क्याम्पससँग विभिन्न बहानामा निहुँ खोजिरहेका अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनका संयोजक उपेन्द्र शर्माले बखेडा सृजना गरी कलेजमा बिना जानकारी तालाबन्दी गरेका थिए । बिद्यार्थी समस्याको विषयमा क्याम्पस प्रशासन, विद्यार्थी संगठनका अध्यक्षहरु सहभागि भएकोे २०७६ माघ १७ गते भएको बैठकले क्याम्पसले पढाएको विषयमा स्नातक तहमा भर्ना हुन चाहेको विषयमा कुनै समस्या उत्पन्न भए क्याम्पसले जिम्मेवारी लिने, समस्या भएमा सम्पूर्ण शुल्क फिर्ता दिने, यदि विषय थप गर्नुपर्ने भए संसोधन गरेका विषयबस्तुको निशुल्क कक्षा सञ्चालन गर्ने सहमति गरेको थियो । सहमति भएको कुरामा कुनै समस्या नआईकन अनेरास्ववियूका अध्यक्ष शमाको उक्साहटमा विद्यार्थीले उजुरी हालेको क्याम्पस प्रशासनको ठम्याई छ । ‘हामीले विद्यार्थीलाई स्नातक पढ्दा समस्या परे सबै जिम्मेवारी लिन्छौं भनेका हौं तर कक्षा ११ मा पनि सहभागि हुने अनि कक्षा १२ को पनि पढाइको मध्यममा नपुग्दै क्याम्पस प्रसासन विरुद्ध ठगी भयो भनेर मुद्धा हाल्ने यो त मिलेननी ।’–क्याम्पसका एक सञ्चालक सदस्यले बताए । ‘सुविधा र सबै प्रक्रृयामा सहभागि हुने अनि अखिलका अध्यक्षको उक्साहटमा अन्य कलेजमा निःशुल्क पढाउने, हाम्रो कलेजबाट क्षतिपुर्ति दिलाउने भनेर मुद्धा हाल्ने ?’–क्याम्पस प्रशासनले भन्यो । विद्यार्थीहरुले पनि चार ठाउँमा हस्ताक्षर गरेर परीक्षाको विषयगत फारम भरेर परीक्षा दिएका थिए । विद्यार्थीलाई उचालेर मुद्धा हाल्न उक्साउने स्वयं अनेरास्ववियूका संयोजक शर्माले क्याम्पस सँग भएको सम्झौता लगत्तै सामाजिक संजाल फेसबुकमा स्टेटस लेख्दै विद्यार्थी र कलेज विचमा सम्झौता भएको उल्नेख गरेका थिए ।

    अखिलका अध्यक्ष शर्माले फेसबुकमा लेखेको स्टेटस

    त्यस्तै विद्यार्थीहरुकै सहभागितामा माघ २८ गते बार्ता संयोजक कृपेन्द्र श्रेष्ठको रोहबरमा बैठक बसेर विद्यार्थीले सहमति गरेका थिए । तर समस्या समाधानको मसी नसुक्दै २१ सदस्यीय क्याम्पस सञ्चालक समितिमध्ये अध्यक्ष , सदस्य र क्याम्पस प्रमुखलाई मात्र बिपक्षी बनाई मुद्धा दर्ता गर्नुले क्याम्पसका अधिकारीहरु नियतबश सुनियोजित तरीकाले गराइएको बताउँदै आएका छन् ।

    विद्यार्थी र क्याम्पस प्रशासन विच भएको सम्झौता

    अदालतले क्याम्पसका अध्यक्ष, सदस्य तथा क्याम्पस प्रमुख बिरुद्ध असोज पहिलो साता पक्राउ पुर्जि जारी गरेपछि उनीहरुलाई पक्राउ गर्न प्रहरीले निकै पछ्यायो । तर पार्टीको उउटा खेमा र स्थानीयहरुको जिल्ला प्रशासनसँग गुनासो र दबाब बढेपछि प्रहरी प्रशासन अध्ययनमा ब्यस्त रहेको बताउँदै आएको छ । शुरुका दिनमा अपराधी करार गर्न लागि परेका पूर्व मन्त्रि गोकुल बाँस्कोटा पछिल्ला दिनमा मौन बसेको बुझिएको छ । तर उनका निकटतम सहयोगीहरु भने अझैं पनि कार्बाही गराउन कम्मर कसेर लागेका छन् ।

    दोश्रो कारण : फरक समूह

    उजुरी हाल्न उक्साउने र आरोपित तीनै जना एउटै पार्टीका हुन । कार्वाहिको लागि दवाव दिने ओली समूहका हुन भने आरोपित लम्बोदर र कृपेन्द्र नेपाल समूहका तथा केजी पूर्व माओवादीका नेताहरुसँग विचार मिल्ने बामपन्थी  हुन् । तीनै जनालाई ओली समूहको निर्देशन अबज्ञा गर्दै आएकोले राजनीतिबाट पूर्ण रुपमा बिदाइ गर्न यस किसिमको प्रपञ्च रचिएको बनेपा नगरका जानकारहरु बताउन थालेका छन् । अझ लम्बोदर कायस्थ त जिन्दगीभरी कम्युनिष्ट राजनीतिमा खर्चेका व्यक्ती हुन । उनी आफ्नै नेता र कार्यकर्ताहरुबाट पिडीत बनेपछि बिरामी श्रीमतिलाई एक्लै छोडेर गुमनाम लुकेर हिड्न बाध्य भएका छन् । लोकतान्त्रिक गणतन्त्रका लागि लडेका उनी नेताको दास नबनेकाले पिडीत हुनु परेको नेकपा भित्र चर्चा हुन थालेको छ । सामन्तीको अन्त्य गर्न हिडेंको आफू महासामन्तीको चक्रब्युहमा परेको कायस्थ बताउछन् । ‘कोही कसैले करौडौं खाँदा कार्बाही नहुने आफुहरुले चन्दा उठाएर क्याम्पस चलाउँदा मुद्धा खेप्नुपर्ने कस्तो गणतन्त्र ल्याइएछ ?’–उनी उल्टै प्रश्न गर्छन । लम्बोदर कायस्थ काभ्रेका पुराना राजनीतिज्ञमा गनिन्छन् । २०७४ को स्थानीय निर्वाचनमा मेयरको टिकट नदिएपछि उनलाई २०७४ को निर्वाचनमा समानुपातिक उमेदवार बनाइएको थियो । उनी पछिल्ला दिनमा माधब नेपाल समूहसँग नजिक भएको बुझेपछि उनी माथि राजनैतिक आक्रमण हुन थालेको थियो । आरोपित अर्का व्यक्ती केजी बैद्धारलाई तात्कालिन नेकपा एमालेका केही नेताहरुले क्याम्पस प्रमुख बाट हटाउन चाहानछन् । केजीलाई हटाउन पनि कायस्थले सहयोग नगरेको आरोप नेकपामा एक खेमाले बेला बखत लगाउँदै आउका छन् । पूर्र्व मन्त्रि गोकूल बाँस्कोटा आफना समर्थक बाहेक कोही पनि देख्न नसक्ने स्वभाब भएका नेता भएकाले उनीसँग असमति राख्नेहरुलाई ठेगान लगाउन पनि यस्तो खेल खेलेको हुन सक्ने तर्क राख्नेहरुको पनि कमी छैन । यसैगरी के.जी बैदारलाई माओबादी समर्थक र पूर्ब अनेरास्वबियु नेता कृपेन्द्र श्रेष्ठलाई रघुबर चौं प्रधानको मान्छेका रुपमा हेर्ने नेतृत्वका आँखाका कारण लामो इतिहास बोकेको क्याम्पस र सामाजिक पहिचान बोकेका ब्यक्तिहरुको चरित्रमा समेत दाग लगाउने प्रयत्न भएको देखिन्छ ।

    अनेरास्वबियूका संयोजक उपेन्द्र शर्मा यही बिषयलाई लिएर क्याम्पस प्रशासनसँग संगठन चलाउने खर्च जुटाउन चाहन्थे तर क्याम्पस प्रशासनले उनलाई खासै पुछेन । सबैतिरबाट अखिलको आफ्नो स्वार्थ पुरा हुन नसकेपछि ५ जना अभिभावकलाई कलेज विरुद्ध नभई व्यक्तिगत रिसिबी साध्न मुद्धा हालेको देखिन्छ । सत्तारुढ दल ,त्यसमाथी पूर्र्वमन्त्रिको मानिसलाई अबहेलना गरेको ठानेर उनले क्याम्पस प्रशासनलाई ठेगान लगाउन गरेको यो कदम यतिखेर गलापासो भएर खडा भएको छ । हेरौं यो घटनामा बिद्यार्थीहरुको हितका लागि लडेको पुष्ट्याई कसरी गर्छन् शर्माले ? कोरोनाको महामारी र लकडाउनको लामो समयमा बिद्यार्थीहरुमाथी परेको चौतर्फि मारका बारेमा शर्माको संगठनले के योगदान गर्यो सर्बत्र चासोको बिषय बनेको छ । न कि नेताको डम्फु बजाएर झोली भर्ने काममा मस्त र ब्यस्त हुन कि ? समस्यामा परेकाहरुको सहयोगी पनि बन्ने हुन् ? त्यो भने हेर्न बाँकी छ ।

    प्रजातन्त्रवादी प्राध्यापक संघको काभ्रे क्याम्पसका बारे विज्ञप्ती

    काभ्रे क्याम्पसको परिस्थितिका बारेमा प्रजातन्त्रवादी प्राध्यापक संघले काभ्रे क्याम्पसका बारे विज्ञप्ती जारी गरेको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका उपाध्यक्ष अनन्त ढुंगानाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,– एउटा कुनै कलेजको मात्र नभएर सम्पूर्ण पब्लिक क्याम्पस प्रतिको गलत सोचको उपज हो। पब्लिक क्याम्पसमा शिक्षाको राजनीति गर्ने हो नकि राजनैतिक पार्टीको यो घटना कुनै बिद्यार्थी संगठनको कारणले मात्र घटेको होइन , यो त गलत राजनैतिक अभ्यासको उपज हो भन्ने मैंले ठानेको छु। अनेरास्ववियु जस्तो जिम्मेवार बिद्यार्थी संगठनको गैर जिम्मेवारपुर्ण हर्कत झन् आजको शैक्षिक अराजकताको कारण बन्न गयो। सफल क्याम्पस र प्रमुख दुबै प्रति गम्भीर रुपमा प्रस्तुत भएको घटना खेदजनक छ। तुरुन्त क्याम्पस प्रमुखको राय बमोजिम स्थानीय निकायको सहयोगमा समस्या समाधान गर्न प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल को उपाध्यक्ष को हैसियतले हार्दिक अनुरोध गर्दछु। साथै पब्लिक क्याम्पस संघ केन्द्रिय समितिको र बाग्मती प्रदेश एकाइको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

    प्रतिक्रिया दिनुहोस