२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विराटनगरमा थप चार संक्रमितको मृत्यु

  • २०७७ कार्तिक ३, सोमबार मा प्रकाशित ३ साल अघि
  • ५१० पाठक संख्या
  • विराटनगरमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–२ की ६० वर्षीया महिला, विराटनगर–३ का ६६ वर्षीय पुरुष, ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय र पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

    उनका अनुसार विराटनगर–२ की महिलाको कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । उनलाई असोज १९ गते कोरोना पुष्टि भएको थियो ।

    त्यस्तै विराटनगर–३ र ग्रामथान–४ का पुरुषको नोबेल अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको छ । ग्रामथानका पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकोमा स्वाब परीक्षण गराउँदा असोज २९ गते कोरोना पुष्टि भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

    विराटनगर–३ का पुरुषलाई असोज २७ गते कोरोना पुष्टि भएको थियो । उनलाई शरीरमा अक्सिजन र रगतमा सुगरको मात्रा कमी हुनुका साथै श्वासप्रश्वासमा समस्या आएपछि आइतबार साँझ अस्पताल भर्ना गराएकोमा उपचारकै क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।

    यस्तै, पथरीशनिश्चरे–१ का पुरुषको न्युरो अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ । उनलाई कोरोनाको लक्षण देखिएपछि स्वाब संकलन गरी परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजिटिभ आएको थियो । ती व्यक्ति मिर्गौलासम्बन्धी रोगले पीडित रहेको अस्पतालका प्रबन्धक राजेश भट्टराईले जानकारी दिए । यससँगै प्रदेश १ मा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस