२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

सम्झनाको बलात्कार पछि हत्या गर्ने बोहोराले सोही गाउँमा अर्की बालिकालाई पनि बलात्कार गरेको खुलासा

  • २०७७ आश्विन ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • ५६९ पाठक संख्या
  • बझाङ मष्टा गाउँपालिका २ कि १२ बर्षिय बालिका सम्झना विश्वकर्माको बलात्कार पछि हत्या गरेका युवाले नै १ महिना अघि अर्को बलात्कार गरेको खुलेको छ ।

    एक महिना अघि घट्टमा मकै पिस्न आएकी एक १४ बर्षिय बालिकालाई बलात्कार पछि कुटपिट गरेको घटना बाहिरिएको छ । सम्झनाको बलात्कार पछि हत्या गर्ने स्थानीय २० बर्षीय राजेन्द्र बोहराले गत साउन २९ गते सोही ठाउँकी १४ बर्षीया बालिकालाई बलात्कार गरेका थिए । तर ३१ गते आफन्तहरुसँग बसेर बलत्कारको केश मिलापत्र गरेको पाइएको छ ।

    गल्ती भएको भन्दै ५०० रुपैयाँ राखेर पीडित बालिकाको खुट्टा ढोगेपछि मिलापत्र गरेको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले जनकारी दिए ।

    मिलापत्रमा बालिकाको गर्भ रहे त्यसको जिम्मा बोहोराले लिने भन्ने कागजसमेत गराइएको थियो । बालिका बलात्कारको घटना गाउँमै मिलाएपछि बोहोराले थप अपराध गर्न आट गरेको हुनसक्ने अनुसन्धानमा खुलेको छ । ‘त्यो बेला उनीमाथि कारबाही भएको भए यस्तो जघन्य अपराध हुने थिएन । पहिलो पटक घटना मिलाएपछि अपराधीको मनोबल बढेको हो’ प्रहरी श्रोतले भन्यो ।

    गत बुधबार साँझ करिब ४ बजे गोठमा गाईवस्तुलाई घाँस हाल्न घरबाट हिँडेकी बझाङ मष्टा गाउँपालिका–२ कि १२ बर्षीया विश्वकर्मा साँझसम्म नफर्किएपछि खोज्दै जाने क्रममा शिवमाण्डौ मन्दिरमा बलात्कार पछि हत्या गरिएको अवस्थामा बालिकाको शव भेटियो ।

    अभियुक्त बोहोरालाई प्रहरीले पक्राउ गरेको छ । बोहोराले सम्झनाको बलात्कारपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्काले बताए ।

    प्रतिक्रिया दिनुहोस