२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

उद्योगबाणिज्य महासंघको अधिवेशन मंसिर ११ र १२ मा हुने

  • २०७७ आश्विन ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ६९५ पाठक संख्या
  • निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ को साधारणसभा तथा निर्वाचन आउँदो मंसिर हुने भएको छ ।

    महासंघ पदाधिकारी समितिको शुक्रबार राजधानीमा बसेको बैठकले मंसिर ११ र १२ गते काठमाडौंमा साधारणसभा गर्ने सहमति गरेको हो । पदाधिकारी समितिको यो निर्णय कार्यकारिणी समितिको पूर्ण बैठकमा पेश गरिने र समितिले अनुमोदन गरेमात्र कार्यान्वयनमा आउने भएको छ । दुवै पक्ष सहमत भएकाले कार्यकारिणी समितिले अनुमोदन गर्ने सम्भावना रहेको जनाइएको छ ।
    नियमित कार्यतालिकाअनुसार चैत २८ र २९ गते काठमाडौंमा हुनुपर्ने साधारणसभा कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण स्थगित भएको थियो । त्यसयता जेठ र साउनमा साधारणसभा गर्ने मिति तय भए पनि निर्धारित समयअगावै स्थागित गरिँदै आएको थियो । साधारणसभाको मोडालिटी तय गर्न कार्यकारिणी समितिका ६ जना सदस्य रहेको समितिले दिएको सुझावपछि बसेको पदाधिकारी बैठकले नयाँ मिति प्रस्ताव गरेको अध्यक्ष भवानी राणाले जानकारी दिइन् । उनका अनुसार शुक्रबार बसेको पदाधिकारी बैठकले नेपालीका मुख्य चाडपर्व सकिएपछि काठमाडौंमै साधारणसभा गर्न उपयुक्त हुने ठानेर मंसिर ११ र १२ का लागि मिति तय गरिएको हो ।
    महासंघ कार्यकारिणी समितिको बैठक अर्को साता बस्नेछ । पदाधिकारी बैठकमा असोज ११ वा १२ गते कार्यकारिणी समिति बैठक राख्ने विषयमा छलफल भएको छ । समितिको सुझावअनुसार महासंघ साधारणसभाको उद्घाटन भर्चुअल माध्यमबाट गर्ने विषयमा दुवै पक्ष सहमत भए पनि निर्वाचनको मोडालिटीबारे टुंगो लागेको छैन । समितिले बस्तुगत, जिल्लानगर तथा एशोसिएट समूहको छुट्टाछुट्टै स्थानमा निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको थियो । जिल्लानगरको निर्वाचन काठमाडौंमा सम्भव नभए प्रदेशस्तरमा गर्ने र मतगणना काठमाडौंमा गर्नसकिने सुझाव रहे पनि यसमा भने जिल्लानगरका प्रतिनिधिले असहमति जनाउँदै आएका छन् ।
    महासंघ निर्वाचनका लागि उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले आफ्नो टिम यसअघि नै घोषणा गरिसकेका छन् । पछिल्लोपटक निर्वाचन स्थगित भए पनि उम्मेदवारहरूले भेटघाट तथा सम्पर्कलाई भने जारी नै राखेका छन् । महासंघ निर्वाचन मंसिरमा भए पनि नयाँ कार्यकारिणी समितिको कार्यकाल भने गत चैतबाटै गणना हुने व्यवस्था छ । यसकारण नयाँ कार्यसमितिको कार्यकाल अढाई वर्षभन्दा कममात्र हुनेछ ।

    प्रतिक्रिया दिनुहोस