२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपा बैठक सुरु, प्रधानमन्त्री केहि बेर बसेर बाहिरिए

  • २०७७ भाद्र २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३६५ पाठक संख्या
  • नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक डेढ महिना पछि बालुवाटारमा बसेको छ ।

    आन्तरिक विवादका कारण झण्डै डेढ महिना अघि स्थगित बैठक विवाद समाधानउन्मुख भएपछि शुक्रबार बैठक बसेको हो । बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ ।

    गत असार १० गतेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय चर्किएपछि साउन १३ पछि अनिश्चितकालका लागि स्थगित भएको थियो ।

    यो विचमा पार्टी नै फुटाउने तहसम्म पुगेका नेताहरुबीच पटक पटकको सम्वाद र विवाद समाधान गर्न कार्यदल गठन गरेर विवादलाई समाधानतर्फ लगेपछि बैठक पुन बस्ने बातावरण बनेको हो ।

    गत साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्ष ओली र प्रचण्डले बैठकका एजेण्डा तयार गरेका छन् । कार्यदललाई नै आधार बनाएर तयार एजेण्डामा दुई अध्यक्षको जिम्मेवारीबारे प्रस्ट पार्नेदेखि चैतमा महाधिवेसन गर्ने, निश्चित मापदण्डका आधारमा मन्त्रि तथा राजनीतिक नियुक्ति गर्ने, पार्टी एकताका बाँकी काम असोज महिनामा सक्ने, लगायतका विषय समेटिएका छन् ।

    तर प्रस्तावमा बरिष्ठ नेता माधवकुमार नेपाल भने सन्तुष्ट हुन सकेका छैनन ।

    त्यस्तै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा बसेको पार्टी स्थायी समिति बैठकमा एकैछिन बसेर बाहिरिएका छन् । अर्का कार्यकारी अध्यक्ष प्रचण्डलाई बैठकको अध्यक्षता गर्न जिम्मा दिएर उनी बैठकबाट बाहिरिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस