२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

चर्चामा रोशीको तीनधारे ‘बाहुबली’ झरना (फोटो फिचर)

  • २०७७ भाद्र २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • २४६८ पाठक संख्या
  • यो हप्ता काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं २ काफलडाँडामा रहेको तीन धारे (बाहुबली) झरना चर्चामा छ । त्यस ठाउँमा पुगेका पर्यटकहरुले दक्षिण भारतमा बनेको बाहुबली फिल्ममा जस्तै झरना भएकोले तीनधारा झरनालाई बाहुबली झरनाको रुपमा समेत चिन्ने गरेका हुन ।

    अहिले झरना अवलोकन गर्नको लागि दैनिक ४ सय देखि ५ सयको हाराहारीमा आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । अझ विदाको दिन अन्य दिनको तुलनामा दोब्बर मान्छेहरु झरना अवलोकन गर्न आईपुग्ने रोशी २ का वडा अध्यक्ष पोते तामाङले जानकारी दिनुभयो ।

    देश नै कोरोनाको कहरमा रहेको बेला केहि छिन भएपनि ‘मुड फ्रेश’ गर्नको लागि आन्तरिक पर्यटकहरु झरना हेर्न पुगेका छन् ।


    २०२८ सालमै पर्यटकीय क्षेत्रको रुपमा सुचिकृत भएपनि त्यत्ति धेरै चर्चामा नआएको झरनाको विषयमा गाउँपालिकाले पर्यटन विकासको सम्भाव्यता अध्ययन विज्ञ टोली गठन गरेर अध्ययन गर्ने क्रममा पुनः झरनाको विषयमा चर्चा शुरु भएको हो । गाउँपालिकाले यो झरना भन्दा केहि तल रहेको महाबिर झरना तथा कमल कुण्डलाई पनि पर्यटकीय गन्तब्यको रुपमा लैजान लागेको छ ।

    तीनधारे भन्दा केहि तल रहेको महाभिर झरना

    गाउँपालिका अध्यक्ष दलबहादुर (डिबी) लामाले गाउँपालिका भित्र पर्यटन विकासको सम्भाव्यता अध्ययन गरेर पुस्तक नै प्रकाशन गरेको जानकारी दिनुभयो । उहाँले तीनधारा झरनालाई सबैभन्दा बढी पर्यटन विकासको सम्भावना भएको स्थानको रुपमा लिएको समेत जानकारी दिनुभयो । अध्यक्ष लामाले महाभारत श्रृखलामा रहेका वडा नं २ को तीन धारा झरना, वडा नं. ३ को तारा खस्यो लेक, वडा नं. १२ को ग्याङडाँडालाई मुख्य पर्यटन क्षेत्रको रुपमा लिएको जानकारी दिनुभयो ।

    मनोरम दृश्यावलोकन समेत गर्न सकिने तीनधारा झरना पुग्न भने सडक केहि मर्मत गर्नुपर्ने देखिन्छ । कच्ची सडक रातो माटो पानी परेपछि त्यहाँ पुगेका पर्यटकले हैरानी भोगेका छन् । झरनामा आन्तरिक पर्यटकको घुइचो भएपछि बुधवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल, वडा अध्यक्षहरु पोते तामाङ र श्रीदास लामा, अधिकृत छैठौ जय गजुरेल, इन्जिनियर निर्मल लामा लगायतको टोली त्यस ठाउँको अध्ययनको लागि पुगेको थियो ।

    ‘झरना निकै सुन्दर छ, यहाँ सम्म आउन केहि बाटोको समस्या देखियो,–प्रमुख प्रशासकीय अधिकृत दाहालले भन्नुभयो, गाउँपालिकाले पहिलो प्राथमिकतामा सडकको काम गर्नेछ ।’ उहाँका अनुसार प्रदेश सरकारबाट आएको बजेटले नपुगेको गाउँपालिकाले थपेर भएपनि सडकको निर्माणमा लाग्ने बताउनुभयो । उहाँले तत्कालै झरना निर झर्ने ठाउँमा सिढि निर्माणको लागि गाउँपालिकाबाट बजेट उपलब्ध गराउने जानकारी दिनुभयो ।

    भरना पुग्न के गर्ने ?

    झरना भएको ठाउँमा पुग्न धुलिखेल–नमोबुद्ध– दाप्चा– पिपलटार गहते – फलामेसाँघु– नारायणटार हुँदै काफलडाँडा जान सकिन्छ । आर्को रुट धुलिखेल– भकुण्डे – दाप्चा डराउनेपाखरी– पिपलटार, फलामेसाँघु– नारायणटार– काफलडाँडा हुँदै झरना पुग्न सकिन्छ । त्यस्तै कटुञ्जे चौकी डाँडा–पोटा खोला–सिसाखानी –महादेवटार–शिखरआम्वोटे – नारायणटार– काफलडाँडा जान सकिन्छ । किलोमिटरको हिसावमा धुलिखेलबाट भकुण्डे २१ किलोमिटर, भकुण्डेबाट फलामेसाँघु १५ किलोमिटर, फलामेसाँघुबाट काफलडाँडा ९ किलोमिटर र त्यहाँबाट झरना पुग्न १ किलोमिटर पैदल हिड्नुपर्छ ।

    धुलिखेल नमोबुद्ध हुँदै जाँदा काभ्रेभञ्याङ सम्म पिच बाँकी सबै कच्ची पर्छ । भकुण्डे हुँदै जाँदा भकुण्डेबाट कच्ची सडकको यात्रा गर्नुपर्छ । तर कच्चीबाटोमा यात्रा गर्नुपरेपनि मनमोहक दृष्य र प्राकृतिक सुरन्दरता सबैको मानसपटलमा ताजा हुने हुँदा यात्रा सहजै तीनधारा झरना सम्म गर्न सकिन्छ । झरनामा विशेषगरी काभ्रेका विभिन्न ठाउँ लगायत काठमाडौं उपत्यका, सिन्धुपाल्चोक र सिन्धुलिबाट समेतका व्यक्तिहरु आइसकेका छन् ।

    आन्तरिक पर्यटक त्यस ठाउँमा पुगेपछि स्थानीय भने दंग छन् । पहिला त त्यत्तिका मान्छेहरु त्यस ठाउँमा पुग्दा दंग भए, दोश्रो त्यहाँ उत्पादन भएको सामाग्री बिक्न थाल्यो । त्यस भेगका मानिसहरु आफ्ना घरबारीमा उत्पादन भएका सामाग्रीहरु बाटोभरी बेच्न थालेका छन् ।

    त्यहाँ मात्र हैन त्यहाँ पुग्न प्रयोग हुने रुट दाप्चा क्षेत्र, गहते, फलामे साँघु, शिखर आम्बोटेमा समेत व्यापार बढेको उनीहरुको भनाई छ ।

    झरना भएको ठाउँमा तत्काल गर्नुपर्ने काम

    झरना भएको स्थानमा गाउँपालिका तथा वडा कार्यालयले केहि कुरामा भने ख्याल गर्नुपर्ने छ । पानी झरेको ठाउँमा आन्तरिक पर्यटकहरु फोटो खिच्न वा नुहाउन जाँदा चिप्लने डर छ । यसलाई कम गर्न केहि उपाय नपनाएमा कुनै दुर्घटना हुँदैन भन्न सकिदैन । नुहाउन सावन, स्याम्पु प्रयोग गर्न बन्देज लगाउनुपर्छ । त्यस्तै पर्यटकहरु मार्फत लगिएका चाउचाउ, कोल्ड ड्रिङ्स तथा हार्ड ड्रिङ्सका बोटलहरु जताततै फालिएका छन् । त्यसलाई अहिलेदेखिनै व्यवस्थापन गर्न सकिएन भने त्यसले ठुलो समस्या निम्त्याउँछ । यसको लागि विशेषगरी वडा कार्यालय र स्थानीय बासिन्दा, स्थानीय क्लबको ध्यान जान जरुरी छ । त्यसरी लगिएका खानेकुरा खाने निश्चित ठाउँ तोकेर फोहोर पनि संकलन गर्न सके दिगो रुपमा त्यस ठाउँलाई सुन्दर बनाउन सकिन्छ ।


    यस्तो सकसका विच पनि आन्तरिक पर्यटकहरु पुगेका छन् भने त्यसमा केहि सुधार गरे त्यस भेगको मुहारै परिवर्तन हुनेमा दुईमत छैन् । झरनासम्म पुग्न चाहिने सबै प्रकारको पूर्वाधारहरु तयार गरे नेपालकै एक पर्यटन गन्तव्य हुने सम्भावना देखिन्छ । यसमा गाउँपालिका तथा प्रदेश र संघीय सरकारले सहयोग गर्नु आबश्यक छ ।

    प्रतिक्रिया दिनुहोस