२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गुट उपगुटले ग्रस्त नेकपा काभ्रे

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ११३५ पाठक संख्या
  • नेकपा काभ्रेको अवस्था यतिबेला गुटगत राजनीतिको दुस्चक्रमा फसेर हलचल गर्न नसक्ने अवस्थामा पुगेको छ । केन्द्रको निर्देशनमा एकसय तीस जनाको जिल्ला कमिटी बने पनि त्यसको दशप्रतिशत मनोनित हुन सकेको छैन । अध्यक्ष र सचिव एकातर्फ र ईन्चार्ज एकातर्फ भएकाले मनोनित हुन नसकेको जानकारहरु बताउँछन् ।

    यद्यपी, सचिव र ईन्चार्जको भागवण्डा नमिल्नु नै काभ्रे नेकपाको निकास ननिस्कनुको कारण रहेको बुझिएको छ । जिल्ला कमिटी मनोनयन भए पनि सचिवालय, विभाग र फ्रयाक्सनहरु बन्न सकेको छैनन् । जसलाई गोकुल र टोकबहादुरको तानातानले अल्झाईरहेको छ । जिल्लाको राजनीतिमा हावी हुने अभिष्टले मरेर लागेका गोकुल र टोकबहादुरको दाउपेचका शिकार यतिबेला काभ्रे नेकपा बनेको छ । ईञ्चार्ज र सचिवको चेपुवामा परेकी अध्यक्ष रुकु चौलागाई न अघि बढ्नु न पछि हट्ने अवस्थामा पुगेकी छन् । माओवादी खेमामा गंगाबहादुर तामाङ् र दिननाथ गौतमहरु पूर्व माओवादी धार छोडेर पूर्व एमालेको गोकुल गुटमा सामेल भए पनि पार्टी फुट्न सक्ने अवस्था आएका बेला संकलित हस्ताक्षर अभियानका क्रममा गंगाबहादुर तामाङले ओली गुटमा हस्ताक्षर गर्न मानेनन् र पछि पार्टी एकताको पक्षमा हस्ताक्षर गरेका हुन् । यसबाट काभ्रे नेकपाको आन्तरीक सन्तुलनसमेत थप खल्बलिन पुगेको छ ।

    पार्टीका तल्ला कमिटीहरु बनाएर जान नेकपा काभ्रे असफल भएको छ । जनप्रतिनिधीहरु पार्टी नै हामी मात्रै हौं भने जसरी मनलाग्दी कुदेका छन् । उनीहरुलाई यस बिचमा पार्टी कुन चराको नाउँ हो भन्ने सम्म याद थिएन । पार्टी फुट्छ भन्ने अवस्था रहि रहँदा सम्म नयाँ एमालेको झुल्केघाम चिन्ह लिएर उठ्ने त हो नि भनेर हिंडेका जनप्रतिनिधिहरु अहिले पार्टी एकता कायम हुने अवस्थामा आईपुगे पछि फेरी पार्टी खोज्न लागेका छन् ।

    पार्टीका नीति, विधि र पद्धति मिचेर कोरोनाको महामारीमासमेत कहिले मदन भण्डारी फाउण्डेशनको नाउँमा त कहिले हुँदै नभएको वडा पार्टी कमिटीको नाउँमा मान्छेको भिड बटुलेर कार्यक्रम गरेको पार्टी कै अधिकाँश नेता कार्यकर्ताहरुलाई मन परेको छैन । भित्र भित्रै मुर्मुरिएर बसेका ईमान्दार कार्यकर्ता कुनैपनि बेला भड्किने अवस्थामा पुगेकै छन् । पनौती नगरपालिकाका मेयरले आफैद्वारा हस्ताक्षरित कुनै पनि सभा सम्मेलन नगर्न उर्दी जारी गरेको भोली पल्ट, जिल्ला प्रशासन र आफ्नै निर्णयको धज्जी उडाउँदै बल्थलीमा गरिएको पार्टी प्रवेश कार्यक्रमको पार्टी भित्रै चर्को आलोचना हुन पुग्यो । गोकुल गुटका अघिपछि लाग्नेहरुको रवैयाले भित्र भित्रै तातिएका नेकपाका कार्यकर्ताहरु कै अर्काे समूह र यीनीहरु बिचमा मुठभेड समेत नहोला भन्न सक्ने स्थिति जिल्लामा बनिसकेको छैन । पार्टीमा योगदान गर्ने भन्दा पनि भजन गाउनेहरुको भिड बोकेर हिंड्ने, जता गए पनि तिनलाई संगै लगेर तालि पिट्न लगाउने र पार्टी नेताहरु कै विरुद्ध बिषबमन गर्ने गराउने कार्यको उचित बेला उचित जवाफ दिने रणनीतिमा जिल्ला अध्यक्ष र सचिव रहेको बुझिन्छ । भिडको बिरुद्ध कडा अभिव्यक्ति दिने गोकुल बाँस्कोटा आफैं भिड जम्मा गर्दै हिंडेर पार्टीको गरिमा खस्काएको भन्दै कार्यकर्ताहरु समेत आक्रोशित बनेका छन् । जनता कोरोनाको जोखिममा परेका बेला समुदायलाई थप जोखिम पार्न भिड जम्मा गर्दै दौडिएका बास्कोटासंग नेकपा कै धेरै कार्यकर्ता निराश बनेको एक जिल्ला नेताको गुनासो छ ।
    स्थानीय चुनाव अघि नै विप्लव नेतृत्वको नेकपाबाट सत्ताधारी नेकपामा प्रवेश गरेका पचास जना भन्दा बढि स्थानीय कार्यकर्ताहरुलाई पुनः पार्टी प्रवेशको नाटक मञ्चन गराई नवप्रवेशीहरु सबैजना काँग्रेसको भएको होहल्ला मच्चाउन आफैं उत्रेका बाँस्कोटा प्रति स्थानीयहरु नै दंग परेका छन् । पार्टी प्रवेशको नाउँमा पार्टी कमिटी नै नभएको ठाउँमा पार्टीको नाउँ भजाएर कार्यक्रम गरेकोमा नेकपाको अर्काे पक्ष पुरै असन्तुष्ट छ ।
    यस्तै यस्तै गतिविधिका कारण नेकपा एउटा भए पनि नेकपाका नेता कार्यकर्ताको मन अनेकतामा विभिजित छ । जसको प्रभाव जिल्ला कमिटिको बैठक सपथ खान बसे पछि बस्न नसक्नुले पनि दर्शाई दिएको छ । तल्ला कमिटीमा ठुलो भाग खोज्ने पूर्व एमाले र त्यसको पनि ओली गुटको अभिष्ट कुनै पनि अवस्थामा पुरा हुन नदिने सोचमा अध्यक्ष र सचिव रहेको श्रोतको दावी छ ।

    व्यक्तिका व्यक्तिगत काम गरिदिएर, केहि बजेट व्यवस्था गरिदिएर, आगामी चुनावमा तँलाई यो पदको टिकट दिलाई दिन्छु भनेर फोस्रो आश्वासन बाँडेर काभ्रेमा ओलीगुटले काम गरेको अर्काे पक्षको आरोप छ । विगतमा माकुने गुटबाट टिकट पाएर चुनाव जितेकाहरु समेतलाई पुनः टिकट दिलाउँछु वा माथिल्लो पदको टिकट भनेर फकाएको श्रोतले बतायो । उपप्रमूख भएकाहरुले प्रमूखको पद खोज्नु अन्यथा नभए पनि अर्काको फोस्रो आश्वासनका भरमा कित्ता फेर्नु राजनीतिक बेईमानी भएकोले बेईमानहरु भबिष्यमा फेला पर्ने चेतावनी अर्काे पक्षले दिएको छ । सत्ताको स्वादले लिप्तहरुको भूमिका र सत्ताप्रति व्यक्तिगत मोह नभएका ईमान्दार नेता कार्यकर्ताहरु बिचको अन्तरविरोध भित्र भित्रै चुलिएर गएको काभ्रे नेकपाको एकता प्रक्रिया पार्टी महाधिवेशन सम्म पनि पुरा हुन नसक्ने स्थिति रहेको नेकपा काभ्रे पेरिफेरीमा चर्चा छ ।

     

    यो समाचार काभ्रेबाट शुक्रवार प्रकाशित हुने बेथानचोक साप्ताहिकबाट लिइएको हो ।

    प्रतिक्रिया दिनुहोस