२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

६ महिनापछि अन्तर्राष्ट्रिय उडान, पहिलो चरणमा ८ देशलाई मात्र फुकुवा

  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ३ साल अघि
  • ४२१ पाठक संख्या
  • काठमाडौं / सरकारले कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिवन्ध विभिन्न ८ वटा देशका हकमा फुकुवा गरेको छ । गत चैत १० गतेबाट कुनै पनि देशका विमानले नेपालमा उडान भर्न नपाउने गरी प्रतिवन्ध लगाइएको थियो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिवन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको हो । नियमित उडान भर्न मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, यूएई र कतारले मात्र पाउनेछन् ।

    यो तालिका १ सेप्टेबरबाट लागु भई एक महिनासम्म कायम रहनेछ । यी देशबाट पनि पर्यटक र गैरआवासीय नेपाली भने अहिले नेपाल आउन पाउने छैनन् । नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारी, विकास साझेदारी संघ संस्थाका कर्मचारी तथा प्रतिनिधि सरकारी आमन्त्रणमा आउने व्यक्तिले मात्र नेपाल प्रवेशको अनुमति पाउनेछन् ।

    सरकारले स्वदेशी दुई वायुसेवा कम्पनीलाई कुल २९ वटा उडानको अनुमति दिएको छ । त्यसमध्ये नेपाल एयरलाइन्सको भागमा १७ र हिमालयको भागमा १२ उडान परेको छ । विदेशी वायुसेवा कम्पनीले भने ३१ वटा उडानको अनुमति पाएका छन् । १ सेप्टेबरपछि चार्टर्ड उडानमा भने स्वदेशी वायुसेवा कम्पनीबाटै उडान हुने भएको छ ।

    मन्त्रालयको तथ्यांक अनुसार सेप्टेम्बरभर कुल २७ वटा चार्टर्ड उडान हुनेछन् । सरकारले पिसिआर परीक्षण सम्भव नहुने मुलुकबाट आउने नेपाली नागरिकलाई लक्षित गर्दै आगामी एक महिनाका लागि चार्टर्ड उडानको अनुमति दिएको हो । सेप्टेबर महिनाका लागि माल्दिभ्स, साउदी अरब, ओमान, कुवेत र कतारमा चार्टर्ड फ्लाइटका लागि उडान तोकेको हो ।

    प्रतिक्रिया दिनुहोस