२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ओमानमा नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ जग्गा प्राप्ति

  • २०७७ भाद्र ९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ७७४ पाठक संख्या
  • ओमन/ नेपाल सरकार र ओमान सरकारबीच नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ जग्गा प्राप्ति सम्बन्धी सम्झौता भएको छ ।

    मंगलबार ओमानको परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) महामहिम मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबि र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले सयुक्त हस्ताक्षर गर्नुभयो ।

    नेपाली दूतावास भएको देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको छ । उक्त सम्झौता अनुरूप ओमानको कूटनीतिक हाताभित्र ४१०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ भने उक्त अवधि पश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइने जनाईएको छ ।

    हस्ताक्षर कार्यक्रमपश्चात् भएको भेटमा महामहिम मोहम्मद विन नासिरले नेपाल लगायत सम्पूर्ण मुलुकहरूसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको बताउँदै नेपालसँगको सम्बन्धको विशेष महत्व रहेको बताउनु भयो । भेटमा नेपाल र ओमानबीच द्विपक्षीय व्यपार, लगानी, पर्यटन लगायतका क्षेत्रमा समेत आगामी दिनमा सहकार्य बढाउँदै लानु पर्ने धारणा साटासाट गर्नुभयो ।

    खाडी क्षेत्रमा ओमानको आफ्नै छुट्टै पहिचान र अस्तित्व रहँदै आएको छ । क्षेत्रीय शान्ति र विकासमा ओमानको भूमिकाको विश्वले सराहना गर्दै आइरहेको छ । समग्र खाडी क्षेत्रमै ओमानको उपस्थिति एक शान्तिप्रेमी राष्ट्रको रूपमा रहेको छ । ओमानको खाडी र हर्मुज स्ट्रेटजस्तो रणनीतिक तथा व्यपारिक मार्गसँग प्रत्यक्ष सरोकार राख्ने ओमानको भविष्यगत रणनीति र दीर्घकालीन योजनाले पनि यस राज्यसँगको दीर्घकालिन् सुमधुर सम्बन्ध स्थापित गर्नु नेपालका लागि सामरिक तथा रणनीतिक हिसाबले पनि महत्वपूर्ण हुने देखिन्छ ।

    यो सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास बन्ने ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिनुभयो । आफ्नै भवन हुँदा दूतावासको बर्षेनी घर भाडामा हुने खर्चमा व्यापक कटौती भई दिर्घकालिन् रूपमा मुलुकलाई आर्थिक रूपमा समेत बोझ कम हुने राजदूत ढकालको भनाई छ । विदेशी राजधानीमा नेपाली दूतावासको आफ्नै मौलिक एवम् कलात्मक भवन हुनु देशकै लागि एक गर्वको विषय त निश्चय हो नै साथसाथै उक्त भवनको निर्माणपश्चात् ओमानमा बस्ने नेपालीहरूलाई पनि दैनिक सेवा लिन थप सहज हुने दूतावासले जनाएको छ ।

    उक्त हस्ताक्षर कार्यक्रममा परराष्ट्र मन्त्रालय ओमानका अन्य पदाधिकारीहरू तथा नेपाली दूतावासका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस