२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

८० बर्षिय बृद्धको पैसा चोर्नेलाई उन्मुक्ती दिन दौडधुप

  • २०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ७०५ पाठक संख्या
  • फालमेटार/ खानीखोला गाउँपालिका वडा नं ३ का ८० बर्षिय मगर सिं स्याङतानको रकम चोर्दा चोर्दै रंगेहात समातिएका एक युवालाई उन्मुक्ती दिन वडा अध्यक्ष लगायत विभिन्न नेताहरु दौडधुपमा लागेका छन् ।


    ८० बर्षिय बृद्ध तामाङको घरमा रहेको सन्दुस फुटाएर २ लाख ५० हजार नगद लुट्ने स्थानीय छेवाङ दोङलाई जोगाउन बडा अध्यक्ष जयबहादुर लुंगेली, वडा सदस्य बयान सिं थिङ, स्थानीय निसान मोक्तान लगायतकाहरु दौडधुपमा लागेका हुन । गत असार २३ गते आफु घर बाहिर रहेको बेलामा छेवाङ घर भित्र पसेको बृद्ध मगरसिं स्याङतानले जानकारी दिए । सन्दुसको ताला फुटाउँदै गर्दा ढ्वाङ ढ्वाङ आवाज आएर भित्र जाँदा निज छेवाङलाई बृद्ध आफैले रंगेहात भेटेका  थिए । बृद्धका अनुसार छेवाङले आफुलाई घचेटेर भागेका थिए । ‘म सँग भैंसि बेचेको ५० हजार, व्याज उठाएको १ लाख २० हजार, भुकम्पको ५० हजार, बृद्धभत्ता ३० हजार गरि २ लाख ५० हजार नगद थियो ।’–बृद्धले भने–चोरले चोरेको प्रत्यक्ष भेटे पनि चोरले उन्मुक्ती पाउन लागेको गुनासो गरे ।

    नगद लुटेपछि बृद्धले असार २८ गते खानीखोला गाउँपालिका अन्र्तगत न्यायीक समितिमा उजुरी गरेका थिए । न्यायीक समिति संयोजक गाउँपालिका उपाध्यक्ष रुक्मीणि गुरुङले यस्ता मुद्धा फौजदारी अन्र्तगत पर्ने भएकोले प्रहरीमा उजुरी हाल्न सुझाएकी थिईन । बृद्धले प्रहरी चौकी तालढुंगामा उजुरी हालेपछि गत साउन ११ गते छलफल भएको थियो । त्यस अवधिमा नगद चोर्ने छेवाङले आफुले नगद चोरेको स्वीकार गरेका थिए । तालढुंगा प्रहरीले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा पठाएपछि वडा नं ३ का वडा अध्यक्ष जयबहादुर लुंगेलीले छेवाङलाई बुझेर ल्याएका थिए ।

    तर जिल्लामा आईसकेपछि एकाएक नेताहरुको दवावमा छेवाङले चोरेको हैन भन्दै प्रहरीमा छुटाउन लागे । अझ छेवाङलाई नेपाली कुरा गर्नै आउँदैन भनेर दोभाषे राखेर कुरा गराएका थिए । स्थानीयका अनुसार छेवाङलाई भने नेपाली कुरा गर्न आउने बताए । जिल्लामा ल्याइसकेपछि नेकपाका नेताहरु इन्द्रबहादुर थिङ, गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल, वडा अध्यक्ष जयबहादुर लुंगेली, स्थानीय निसान मोक्तान लगायतको दवावमा जिल्ला प्रहरी कार्यालय काभ्रेले छेवाङलाई १० दिनको सामान्य तारिख राखेर छोडिदिएको छ । छेवाङलाई निसान मोक्तानले बुझेर ल्याएका थिए ।

    बृद्ध मगरसिं का अनुसार जिल्ला प्रहरी कार्यालय धुलिखेलले ३ महिनामा रकम पाउनुहुन्छ भन्दै पठाएको बताए ।

    प्रतिक्रिया दिनुहोस