२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

बनेपा-६ वडा महिला मञ्चको नेतृत्वमा नानुदेवी

  • २०८१ अषाढ २३, आईतबार मा प्रकाशित १ हप्ता अघि
  • ६८ पाठक संख्या
  • बनेपा नगरपालिका –६, बुडोलमा वडा महिला मञ्च पुर्नगठन तथा वनभोज कार्यक्रम संपन्न भएको छ ।

    शनिबार बनेपा–६, को गोसाईंकुण्ड पिकनिक स्थलमा संघीय सांसद गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नानुदेवी कुईकेलको नेतृत्वमा वडा महिला मञ्च पुर्नगठन भएको हो । जसमा उपाध्यक्षमा सविना थापा मगर, सचिवमा हिरा दुलाल, कोषाध्यक्ष रमा मिश्र भुजेल, उपसचिवमा रिता न्यौपाने चिमौरिया लगायत २१ जना चुनिएका छन । 

    कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संघीय सांसद बाँस्कोटाले महिला सशक्तिकरण विना मुलुकको विकास संभव नहुने बताए । 

    आर्थिक रुपमा महिला सशक्तिकरणको विषय जोडतोडले अगाडि आए पनि नेपालका महिलाले आर्थिक क्रियाकलापमा सहभागिताको अवसर नपाएको सांसद बाँस्कोटाले उल्लेख गरे ।

    पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबै क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताएका छन् । सबै क्षेत्रमा अनिवार्य ३३ प्रतिशत महिलाको सहभागिता गर्नैपर्छ, त्यसमा पनि सक्षम महिलाको सहभागिता होस्, सांसद बाँस्कोटाले भने । उनले महिलाको नेतृत्व क्षमताको विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । 

    बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले ६ नं. वडा विकासको संभावना बोकेको र वडाध्यक्ष पनि विकासको लागि जे गर्न नि तयार हुने स्वभावको भएको बताए । उपप्रमुख विमला सापकोटाले गृहिणीलाई उद्यमी बनाउने कार्यक्रम नगरले सञ्चालन गरिरहेको जानकारी दिए ।

    कार्यक्रमको सभापतित्व गर्दै  वडाध्यक्ष सचितानन्द के.सी.ले वडाको विकासमा सहकार्य गर्न वडा महिला मञ्च गठन गरिएको जानकारी दिए । वडाको विकासको लागि जस्तोसुकै कदम चाल्न आफु तयार रहेको बताए ।

    वडा सदस्य लालकृष्ण तिमल्सिनाको सञ्चालनमा भएको कार्यक्रममा पुर्व वडाध्यक्ष कृष्णबुद्ध बजगाईले शुभकामना मन्तव्य राखेका थिए । प्राध्यापक भोला के.सी.ले मातृभक्ति सम्बन्धि कविता वाचन गर्नुका साथै कलाकार धनपति दाहालले विभिन्न प्रस्तुति राख्दै सहभागीहरुलाई छमछम नचाएका थिए ।

    प्रतिक्रिया दिनुहोस