२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

अविरल वर्षाका कारण बीपी र अरनिको राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध

  • २०८१ अषाढ २२, शनिबार मा प्रकाशित १ हप्ता अघि
  • १३९ पाठक संख्या
  • गए रातिदेखि परेको अविरल वर्षाका कारण उत्तरी नाका जोड़ने अरनिको राजमार्ग र पूर्वी जिल्ला जोड्ने बीपी राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । 

    जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार  वर्षाका कारण बीपी राजमार्गको विभिन्न खहरे खोलाहरु रोशी गाउँपालिका –८ को नार्के, चारसयबेँसी, वडा नम्बर–९ स्थित मङ्गल जनविजय मावि अगाडि, वडा नम्बर– ११ कालढुङ्गा र  वडा नम्बर –१२ माम्तिस्थित खहरे खोलाबाट लेदो आई रामजार्ग अवरुद्ध भएको छ ।

    अवरुद्ध सडक खुलाउन इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाई सडक खुलाउने प्रयास भइरहेको छ । प्रहरी नायव उपरीक्षक श्रेष्ठले अवरुद्ध सडकमध्ये रोशी गाउँपालिका –७ लासकोटस्थित अवरुद्ध सडक स्काभेटर र जेसिभीको सहायताले एकतर्फी खुलाइएको बताए । 

    यसैबिच अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका –८ स्थित ५२ किलोमा खहरेखोलामा आएको लेदोको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन पाँचखाल नगरपालिकासँग सहकार्य गरेर जेसिभीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

    अरनिको राजमार्गकै धुलीखेल-खावा सडकमा रूख ढलेर अवरुद्ध भएको र त्यसलाई हटाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

    बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिका जोडिएका खोपासीचलाल ढुङ्गखर्क च्याम्र्याङबेसी सुकुमफेदी फापरवारि सडकमा ग्वाभान्ज्यङ खण्ड र पार्थली खण्ड  अवरुद्ध भएको छ ।

    प्रतिक्रिया दिनुहोस