२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

युक्रेनको नियन्त्रणमा रहेका मण्डन देउपुरका सिद्धार्थ ढकालले पठाए परिवारलाई सन्देश

  • २०८१ अषाढ २१, शुक्रबार मा प्रकाशित १ हप्ता अघि
  • १३७ पाठक संख्या
  • युक्रेनको नियन्त्रणमा रहेका मण्डन देउपुर नगरपालिका–६, काभ्रेका सिद्धार्थ ढकालको सन्देश रेडक्रसमार्फत परिवारसम्म आइपुगेको छ ।

    रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)को पहलमा युक्रेनको नियन्त्रणमा रहेका ढकालको सन्देश सहितको पत्र किभस्थित रेडक्रस सोसाइटीका अधिकारीहरूले नेपाल रेडक्रस सोसाइटीलाई पठाएका हुन् । नेपाल रेडक्रस सोसाइटी काभ्रेका स्टोर प्रमुख गोकुल बानियाको नेतृत्वमा ढकालको परिवारमा पुगेर पत्र दिएका थिए ।

    ढकालको पत्रमा लेखेका छन म पूर्ण स्वस्थ छु, कुनै चोटपटक छैन’, ‘म चाँडै आउँछु, हुनसक्छ युद्ध रोकिएपछि अथवा अर्को विकल्प नेपाल सरकारको सहयोग भयो भने म अझै चाँडै आउन सक्छु ।’

    उनले रुसी सरकारले पनि पहल गर्‍यो भने आफू छुट्न सक्ने उनले भनेका छन् । ‘चिन्ता गर्नुस्, सबै कुरा ठिक छ । आशा राख्नुस्, म यथाशिघ्र फर्किन सकुँ,’ पत्रमा भनिएको छ । सिद्धार्थले ९ अप्रिल २०२४ (२७ चैत २०८०) मा यो पत्रमा हस्ताक्षर गरेका छन् ।

    कक्षा १२ सकेर उच्च शिक्षा अध्ययन गर्न भन्दै रुस गएका सिद्धार्थ २५ भदौ २०८० मा नेपालबाट मस्को उडेका थिए । त्यहाँ बिचौलियाले ठगेपछि उनी रुसी सेनामा भर्ना हुन बाध्य भएका थिए । १३ मंसिर २०८० मा उनले बुबा बिरुलाई अडियो म्यासेज पठाएर आफू युद्धको फ्रन्टलाइनमा जान लागेको र ८/१० दिन कुरा नहुन पनि सक्ने बताएका थिए । त्यसयता सम्पर्कविहीन भएका छोराको एकाएक बन्धक बनाएको भिडियो सन्देश सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    सरकारले उद्दारका लागि पर्याप्त पहल नगरेको सिद्धार्थको परिवारले  गुनासो गरेको छ ।

    विपद् तथा संकट व्यवस्थापन विभागका प्रमुख सागर श्रेष्ठका अनुसार, नेपालबाट ५ जनाले आफ्नो परिवारको सदस्य कुन अवस्थामा छन् भन्ने पत्ता लगाइदिन भनेर ‘ट्रेसिङ रिक्वेस्ट’ पठाएका थिए ।

    प्रतिक्रिया दिनुहोस