२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

बुद्धचित्त प्रकरण : दुईजना थुनामा, दुईजना हिरासत मुक्त, ६ जनालाई पक्राउ पुर्जी

एउटै प्रकृतिको मुद्धामा कसैको अंग पुग्ने कसैको नपुग्ने गरेर अदालतमा मुद्धा दायर भएपछि प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय माथीनै संका उठेको छ ।
  • २०८१ जेष्ठ २९, मंगलबार मा प्रकाशित १ हप्ता अघि
  • १९४ पाठक संख्या
  • काभ्रेको रोशी गाउँपालिका–५,सिसाखानीमा रहेको करोडौं रुपैयाँ मुल्य बराबरको बुद्धचित्तको रुख काटिएको प्रकरणमा पक्राउ परेका दुई जना हिरासत मुक्त, २ जनालाई थुनामा र ६ जनालाई पक्राउ पुर्जी जारी भएको छ ।

    ५४ करोड ९९ लाख ७ सय ८० रुपैया क्षतिपुर्ति मागदावी गरेर जिल्ला प्रहरी कार्यालय, काभ्रेले विष्फोटक पदार्थ, आपराधिक उपद्रव र संगठित अपराधको कसूरमा संलग्नतामा अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा पेश भएको मुद्धामा अंग नपुगेको भन्दै दुईजनालाई हिरासत मुक्त गरिएको हो । एउटै प्रकृतिको मुद्धामा कसैको अंग पुग्ने कसैको नपुग्ने गरेर अदालतमा मुद्धा दायर भएपछि प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय माथीनै संका उठेको छ । सरकारी वकिलको कार्यालयले अंग नपुगेको भन्दै प्रभात भनिने दुर्गाबहादुर तामाङ र धिरज भन्ने श्यामकृष्ण मैनालीलाई दूईमहिना हिरासत राखेर छाडिएको छ । कसुरदार नठहरिएका धिरज भन्ने श्यामकृष्ण मैनाली भने अघिल्लो मुद्दाको फैसला बमोजिम पुनः पक्राउ गरेर जिल्ला कारागार पठाएको छ । उनलाई अघिल्लो बुद्धचित्त लुटपाटको केशमा फैसला भएको ९ वर्ष कैद र ९० हजार जरिवना तोकिएको थियो ।

    जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश राजेन्द्र नेपालको आदेशअनुसार बुद्धचित्त प्रकरणमा पक्राउ परेका सिजन भनिने मानबहादुर तामाङ, महाविर पुन भनिने विश्वनाथ चौधरीलाई पुर्पक्षमा राख्ने आदेश दिएको छ । विश्वनाथ चितवनमा अर्कै मुद्धामा सजाय भोगिरहेकाले जिल्ला झिकाउने आदेश भएको छ । उनीहरुले रुख काट्ने योजना बनाएपछि अष्ट्रेलियामा रहेका कविन्द्र तामाङ र छिमेकी देश चिनमा रहेका याङ कैलिङलाई रुख काट्नु केहि दिन अघि नेपाल झिकाएका थिए । रुख काट्ने योजना बनाउँदै प्रस्ताव समेत लगेका मानबहादुरको योजनामा सागर भनिने रामकृष्ण मैनाली, विजय हुमागाई, असल मोक्तान र अजय भनिने रामजी श्रेष्ठ लाई समेत पक्राउ पुर्जी जारी भएको छ ।

    सिजन भनिने मानबहादुर तामाङले बुद्धचित्त रुख काटिनुअघि ‘गेम इज ओभर’ भन्दै परिवारका सदस्यलाई धम्कीपूर्ण म्यासेज पठाएको खुलेको थियो ।

    चौधरीले भने रुख काटिएपछि आफूहरुको पार्टीको निर्णय बमोजिम काटिएको भन्दै विज्ञप्ति जारी गरेका थिए । उनले रुख काट्ने प्रस्ताव सागर मैनालीले ल्याएको समेत खुलाएका छन् । तर, मैनालीले के नियतले पार्टीको नाममा नचाहिँदो कार्य गरेको त्यसबारे थाहा नभएको उनले बयान दिएका थिए ।

    बाँकी फरार प्रतिवादीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस