२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

बेथानचोक कप भलिवलको उपाधि खानीखोलालाई

  • २०८१ जेष्ठ १२, शनिबार मा प्रकाशित ४ हप्ता अघि
  • ७५ पाठक संख्या
  • बेथानचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको पाँचौं बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिवल प्रतियोगिता २०८० को उपाधि खानीखोला गाउँपालिकाले जितेको छ ।

    मण्डनदेउपुर नगरपालिकाको टिम दोस्रो हुँदा आयोजक बेथानचोक र महाभारतले तेस्रो स्थानमा चित्त बुझाएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ८० हजार, द्वितीयले रु. ५० हजार, तृतीयले २०/२० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । ढुंखर्कस्थित पार्वती मा.वि.को खेल मैदानमा आयोजित प्रतियोगितामा कूल १७ वटा टिम आमनेसामने भएका थिए ।

    यस्तै प्रतियोगितामा विधागत तर्फ बेष्ट स्पाइकर मण्डनदेउपुर नगरपालिका टिममा केशव गौतम, बेष्ट ब्लकरमा मण्डनदेउपुरकै सुरेशकुमार श्रेष्ठ, बेष्ट सेटरमा खानीखोला गाउँपालिकाका सुवास थोकर, बेष्ठ डिफेण्डर मण्डनदेउपुरका प्रविण सापकोटा र बेष्ठ सर्भरको उपाधि खानीखोलाका मनराज आलेमगरले जित्नु भयो । प्रतियोगिताका उत्कृष्ट खेलाडीको उपाधि खानीखोला कै उमेस रानामगर घोषित भए ।

    पुरस्कार वितरण कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले खेलकुद क्षेत्रमा लगानी गर्न गाउँपालिका प्रतिबद्ध भएको बताए । खेलले भाइचारा बढाउने बताउँदै सबैको आफ्नो क्षमता र खेल कौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको र खेलाडीको खेल कौशललाई थप निखार्दै विभिन्न प्रतियोगितामा पालिकाको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्ने विश्वास समेत व्यक्त गरे 

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना,  बेथानचोक गाउँपालिका खेलकुद शाखा प्रमुख सिताराम तिमल्सिना लगायतले मन्तव्य राखेका थिए ।

    समापन कार्यक्रमा मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपाल, बेथानचोक गाउँपालिकाका वडा अध्यक्षहरु मधुसुधन तिमल्सिना, पुरुषोत्तम तिमल्सिना, राजकुमार वाइबा लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस