२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

ब्रह्मायणी मेलाको पौराणिक साख जोगाउन चुनौती

  • २०८० चैत्र १३, मंगलबार मा प्रकाशित २ हप्ता अघि
  • ९९५ पाठक संख्या
  • काभ्रेको मण्डनदेउपुरस्थित ऐतिहासिक मध्येको एक ब्रम्हायणी जात्रामा कुनै समय हजारौंको संख्यामा दर्शनार्थीहरु भेला हुन्थे ।

    पाइला राख्नेसम्मको ठाँउ नहुने देखि भीडमा मान्छे हराउनेसम्मा घटना हुने गर्दथे । हाल यो उपस्थितमा निकै ह्रास हुँदै गएको छ। बढ्दो सहरीकरण र बेरोजगारीको कारण विदेशीने बढेसँगै मेलाको रौनकता पनि लोप हुँदै गएको छ । मेलामा हुने विभिन्न किसिमका भजन, कृतन, मारुनी नाच, लोक बाजा तथा लोकदोहोरीले गुञ्जायमान हुने गाउँ वर्तमान अवस्थासम्म आइपुग्दा चकमन्न जस्तै बन्दै गएको छ ।

    जात्राको चाम घटेपनि यो बर्ष पनि काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका स्थित  ब्रह्मायणी माताको रथ यात्रा गरिएको छ। 

    नगरपालिकाको वडा नम्बर पाँचमा रहेको उक्त मन्दिरबाट माताको मूर्तिलाई वडा नम्बर छ स्थित गैरिबिसौना माईपाटीमा राखिएको हो । हरेक वर्ष फाल्गुन शुक्ल पूर्णिमाको दिन देखि सुरु हुने रथ यात्रा तीन दिन सम्म चल्ने स्थानीयहरूले बताएका छन् ।

    परापूर्व कालदेखि चल्दै आएको जात्रामा सबै जातजाति, भाषाभाषी र जन समुदायको सहभागिता रहने छ। उक्त दिन सूर्यास्त पछि (माई अन्माएपछि) खाना खान नहुने स्थानीय चूडामणि डोटेलले बताए । 

    उनका अनुसार “, माईलाई गहना लगाएर, शृङ्गार गरी भजन कीर्तन गाएर बाजा बजाई अन्माउने गरिन्छ। माईलाई बेहुली झैँ सजाएर मन्दिर परिसरबाट रथ यात्रा सहित गैरिबिसौनस्थित माइतीघर माईपाटिमा ल्याउने चलन छ । 

    त्यसको भोलीपल्ट रातको १२ बजे पुन रथ यात्रा गरी “घुमाउने “भन्ने स्थानमा माईको मावली लैजाने गरिएको छ।” पूर्णिमाको पर्सिपल्ट बिहान मावलीबाट मन्दिरमा नै लगिन्छ। ब्रह्मायणी माईकाे उत्पत्ति विक्रम सम्वत १४०८ भदौ महिनामा दुलालहरूको भण्डारमा  भएको जन विश्वास रही आएको छ। 

    माईको उत्पत्ति भएको स्थानमा दुलाल परिवारको घर थियो । दुलाल परिवार त्यसपछि माई उत्पन्न भएको स्थानबाट स्थानान्तरण भई केही तल भदौरेमा बस्न थाले । सो स्थानमा मन्दिर बनाई माईको स्थापना गरिएको थियो । दुलालको परिवारमा माईको उत्पत्ति भएकाले दुलालहरूको परिवारमा सुत्केरी पर्दा पनि पूजाआजा गर्दा कुनै भार नलाग्ने मन्दिरका पुजारी तिलकमान बज्राचार्यले बताए । 

    सुत्केरी महिला बसेको ठाउँमा रातको समयमा जमिन उचाल्ने र  कम्पन दिने हुन थाल्यो । त्यसपछि उनका श्रीमान् आएर हेर्दा केही नदेखेपछि पुनः सोही स्थानमा सुत्केरी सुतेको र फेरी पनि कम्पन दिन थालेपछि त्यस स्थानमा कोदालोले खन्दा माई को तालु काटियो र माई को उत्पत्ति भएको इतिहास पाइन्छ । 

    यस मन्दिरमा पुजारीको १४ चौधौँ पुस्ताले पूजा गर्दै आएको छ। त्यहाँको ऐतिहासिक पुरानो मूर्ति २०२८/ २९ सालतिर चोरी भएको अनुमान गरिन्छ। हाल स्थानीयहरूको सक्रियतामा नयाँ मूर्ति ल्याएर राखेको स्थानीय युवा प्रदीप न्यौपानेले बताए ।

    उति बेला जात्रा सञ्चालनार्थ ब्रह्मायणी माईकाे गुठी स्थापना गरिएको थियो ,सो गुठीबाट मन्दिरमा चिउरा दिने गुठी, दाउरा दिने गुठी, बाजा बजाउने लगायतका गुठीहरू थिए ।हाल सो गुठीहरू लोप हुँदै गएका छन् ।

    यो मण्डनदेउपुर नगरपालिका भित्रको ठुलो धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको मेला हो। स्थानीयहरूका अनुसार यो मन्दिरलाई व्यवस्थित गर्न र हराएको मूर्ति खोजी गर्नको निम्ति स्थानीय सरकार तथा पुरातत्त्व विभागले पहलकदमी लिनु पर्ने आवश्यकता देखिन्छ। ऐतिहासिक महत्त्व रहेको, धार्मिक आस्था बोकेको यस जात्राको समयमै प्रवर्द्धन, संरक्षण र जगेर्ना नगर्ने हो भने यस  परम्परा लोभ हुने अवस्थामा पुग्ने निश्चितप्राय छ ।

    प्रतिक्रिया दिनुहोस