२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

पनौती ५ बालश्रममुक्त वडा घोषणा

  • २०८० फागुन १५, मंगलबार मा प्रकाशित १ महिना अघि
  • ८१ पाठक संख्या
  • पनौती नगरपालिका वडा नं. ५ लाई बालश्रममूक्त वडा घोषणा गरीएको छ ।

    मंगलबार वडा कार्यालय प्रांगणमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडा नं. ५ लाई बालश्रममूक्त वडा घोषणा गरिएको हो ।

     

    पनौती नगरका नगर प्रमुख रामशरण भण्डारीले बालश्रम कानुन विपरितको कार्य र सामाजिक अपराध भएकाले बालबालिकाहरुलाई श्रममा लगाउने कामलाई पूर्ण रुपमा निरुत्साहित गर्नुपर्ने बताए ।

    कार्यक्रममा वडा अध्यक्ष विनोद खत्रीले वडाका हरेक श्रम हुने क्षेत्रलाई निगरानी गरिने र बालबालिकाहरुको प्रयोग भएको पाईएमा कानुन बमोजिम कारबाहिको प्रकृयामा जाने बताउँदै बालश्रममुक्त घोषणालाई व्यवहारिक कार्यान्वयनमा सम्बन्धित सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताए ।

    त्यस वडामा अनुगमन गर्दा ९ जना बालबालिकाहरु वडा बाहिरको भेटिएकाले उनीहरु सबैलाई विद्यालय जाने वातावरण बनेको छ ।

    कार्यक्रममा नगरपालिकाका उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, नगरपालिकाका शिक्षा शाखा निर्देशक प्रणराज न्यौपाने, वडाका महिला सदस्य उजेली मिजार लगायतले मन्तव्य राखेका थिए ।

    बालश्रममूक्त घोषण सभामा वडामा सञ्चालन भएका होटल, कलकारखाना लगायतका सञ्चालकहरु एवं विभिन्न संसस्थाहरुलाई बालश्रममूक्त वडा घोषणमा सहयोग गरेको बापत प्रसंशापत्रले सम्मान गरिएको थियो । कार्यक्रममा बिभिन्न व्यक्तित्व तथा बिद्यार्थी भाई बहिनीहरूलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा वडाका विभिन्न विद्यालयका विद्यार्थीहरुको साङ्गतीक प्रस्तुती समेत रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस