२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

आगामी बिहिबार देखि केयूमा अन्तर्राष्ट्रिय उपकुलपति सभा

  • २०८० माघ २९, सोमबार मा प्रकाशित २ महिना अघि
  • १०२ पाठक संख्या
  • काठमाडौं विश्वविद्यालय (केयू) मा अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा नेपाल-भारत उच्च शिक्षा शिखर सम्मेलन हुने भएको छ । आगामी बिहीबार र शुक्रबार हुने कार्यक्रममा नेपाल, भारत, बंगलादेश, मलेसिया, थाइल्याण्ड लगायत देशका १ सय ५० जना उपककुलपति र शिक्षाविद्को सहभागिता रहने केयूले जनाएको छ।

    सभा तथा सम्मेलनमा विश्वले उच्च शिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा, भुमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण मुल बिषय रहने काठमाडौं विश्वविद्यालयका प्रवक्ता एकुमाया पुनले बताइन् । उनका अनुसार अधिकांश सहभागीहरु भारतीय विश्वविद्यालयबाट हुने र युरोप, अफ्रिकाका विश्वविद्यालयको प्रतिनिधिहरुको पनि सहभागिता रहनेछ ।

    सम्मेलनले उच्च शिक्षण संस्थामा भुमण्डलीकरणको प्रभाव पत्ता लगाउने, अन्तर्राष्ट्रिय सहयोग र विचारहरुको आदानप्रदानलाई प्रोत्साहित गरिने पुनको भनाइ छ । सभाले साझा सञ्जाल निर्माण, साझेदारी अभ्यास तथा पारस्परिक सहयोग आदानप्रदानको वातारण समेत बनाउने आशा गरिएको उनले बताइन् ।

    ‘सभाले विभिन्न क्षेत्रका शैक्षिक समुदायहरु बिशेष गरी दक्षिण एसियाली क्षेत्र भित्रका शैक्षिक समुदायहरुबीच सांस्कृतिक विचार आदानप्रदानलाई पनि बढवा दिनेछ,’ प्रवक्ता पुनले भनिन्, ‘सभाको अवधिमा सहभागीहरुले उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिहरु बारेमा छलफल गर्नेछन्, जसमा विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान र पाठ्यक्रम विकास सहितका बिषयहरु समावेश छन् ।’

    भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाडौं विश्वविद्यालयको तत्वावधानमा कार्यक्रम आयोजना हुने जनाइएको छ । संघ सन् १९२५ मा स्थापित लामो र ऐतिहासिक विकासत भएको संस्था हो । यसमा केयू सहित बंगलादेश, भुटान, काजकिस्तान, मलेसिया, मरिसस, थाइल्याण्ड, संयुक्त अरब, बेलायतका १३ विश्वविद्यालयहरु एसोसिएट सदस्य छन् । नेपालका विश्वविद्यालयका उपकुलपतिहरु पनि सभा तथा सम्मेलनमा सहभागी हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस