२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

भारतमा मोमो बेचेर अर्बपति बनेका पात्लेखेतका विनोद हुमागाईं

  • २०८० मंसिर २३, शनिबार मा प्रकाशित ४ महिना अघि
  • २७६ पाठक संख्या
  • मोमो बेचेर अर्बपति ? हो काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतका विनोद हुमागाई भारतमा मोमो बेचेर अर्बपति बनेका हुन् । उनको मोमोको ब्राण्ड नाम हो ‘वाउ मोमो’ ।

    भारतमा सबैजसो ठूला शहरका ठूला मल, सुपरमार्केट, फुड पार्क तथा अन्य व्यस्त बजारहरूमा ‘वाउ मोमो’ देख्न सकिन्छ । नदेखियोस् पनि किन ? भारत पुग्ने जो–कोही नेपालीलाई आफ्नै जस्तो लाग्ने यो रेस्टुराँका विभिन्न ३० भन्दा बढी शहरहरूमा ६०० भन्दा बढी आउटलेट खुलिसकेका छन् ।

    आजभन्दा १५ वर्षअघि सन् २००८ मा ३० हजार भारु लगानीमा एक नेपाली युवाले भारतीय साथीसँग मिलेर खोलेको यो रेस्टुराँको चेनले वास्तवमा भारतीयहरूको स्वाद नै परिवर्तन गरिदिएको छ । एक दशक अघिसम्म नेपालको रैथाने खाजा मोमोका बारेमा सुन्दै नसुनेका भारतीयहरूको जिब्रोमा अहिले त्यसैको स्वाद झुन्डिएको छ ।

    अहिले रेस्टुराँहरूमा मात्रै होइन, दिल्ली, कोलकाता, मुम्बई लगायत अधिकांश भारतीय शहरका गल्ली–गल्लीमा ठेलागाडामा समेत मोमो खानेहरूको भीड देखिन्छ । भारतमा मोमोका पारखी र पसलहरू धेरै अघिदेखि नै थिए । तर यसलाई एउटा खानाको परिकार मात्रै नभएर ‘क्याटगोरी’ कै रूपमा स्थापित गर्ने काम विनोद हुमागाईं र उनका साथी सागर जगदीश दर्यानीले सुरु गरेको वाउ मोमो १ ले नै गरेको हो ।

    त्यही मोमोको ब्रान्डले विनोद लगायत उनका साझेदारहरूलाई स्थापित गर्दैछ । बीकम पढ्दै गरेका युवाहरूले सन् २००८ मा ३० हजार भारुमा ६ फिट लम्बाइ र ६ फिट चौडाइको एउटा सानो कियोस्कबाट सुरु भएको वाउ मोमोले गत आर्थिक वर्षमा ४ अर्ब ९० करोड भारतीय रुपैयाँ ९करिब ७ अर्ब ८४ करोड नेपाली रुपैयाँ० को कारोबार गरेको छ । यो वर्ष ६ अर्ब ५० करोडदेखि ६ अर्ब ६० करोडसम्मको कारोबार गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

    विनोदका बुवा कामको सिलसिलामा कोलकाता गएका थिए । उतै जन्मेका विनोदको बाल्यकाल भने काभ्रेमै बित्यो । तर, स्कुल र कलेज भने उनले कोलकातामै पढ्ने अवसर पाए ।

    कोलकाताको सेन्ट जेभियर्स कलेजमा बीकम तेस्रो वर्षमा पढ्ने साथीहरू समूह बनाएर अध्ययन गर्थे । उनी र उनका साथी सागर कलेजपछि व्यवसाय नै गर्न चाहन्थे । ‘ग्रुप स्टडी’ गर्ने क्रममा उनीहरूले के व्यवसाय गर्ने भन्ने विषयमा मन्थन गरे ।

    ‘म नेपाली, मोमोको स्वाद जिब्रोमा थियो । भारतमा पनि दार्जीलिङ लगायतमा यो परिकार लोकप्रिय थियो । यसलाई भारतभर स्थापित गर्न सकिन्छ भन्ने लाग्यो । मोमो व्यापार गरौं भनेर मैले प्रस्ताव गरें । उसले पनि नेपालीले बनाएको मोमो खाएको रहेछ । तुरुन्तै सहमत भयो’, विनोदले भने ।

    अब उनीहरूलाई लगानीको लागि थप पूँजी आवश्यक भयो । त्यसपछि उनीहरूले एन्जल इन्भेस्टरहरूबाट पहिलो चरणको लगानी उठाए । त्यतिबेला नै कम्पनीको मूल्यांकन १०० करोड भयो र त्यसको १० प्रतिशत अर्थात् १० करोड भारु इन्डियन एन्जल नेटवर्कबाट उठाए । त्यसले उनीहरूलाई सञ्जाल विस्तार गर्न सजिलो भयो ।

    उनीहरूको व्यापार वार्षिक ५० देखि ६० प्रतिशतका दरले बढिरहेको थियो । त्यसलगत्तै सन् २०१७ मा दोस्रो चरणमा र २०१९ मा तेस्रो चरणमा उनीहरूले फन्ड संकलन गरे । सन् २०१९ मा उनीहरूको कम्पनीको मूल्य ८ अर्ब ६० करोड तय भयो र उनीहरूले टाइगर ग्लोबल म्यानेजमेन्टबाट १ अर्ब ३० करोड रुपैयाँ पूँजी भित्र्याए ।

    आजका दिनमा विभिन्न एजेन्सीले गरेको मूल्यांकनका आधारमा कम्पनीको मूल्य २९ अर्बदेखि ३४ अर्ब भारुसम्म रहेको हुमागाईंले बताए ।

    हाल कम्पनीका ६०० भन्दा बढ़ी आउटलेटहरू छन् । तीन वटा ब्रान्डमा रेस्टुराँका चेन विस्तार भइरहेको छ– वाउ मोमो, वाउ चाइना र वाउ चिकेन । वाउ चाइनाका १२० भन्दा बढी आउटलेट छन्, जहाँ चिनियाँ खानाहरू सर्भ गरिन्छ । त्यस्तै– फ्राइड चिकेन बिक्री गर्ने वाउ चिकेनका ५५ भन्दा बढी आउटलेट पुगेको हुमागाईंले जानकारी दिए । कतिपय रेस्टुराँहरूमा भने तीन वटै खाना पाइने उनले बताए ।

    कम्पनीले अहिले ६ हजार ८०० भन्दा बढीलाई रोजगारी दिइरहेको छ । ‘रेस्टुरेन्ट सेवामूलक व्यवसाय हो, यसमा धेरै मानिसले रोजगारी पाउँछन्’, उनले भने ।

    यसरी कम्पनीले कसरी तीव्र विस्तार गर्न सक्यो भन्ने विषयमा विनोद भन्छन्– ‘हामीले परम्परागत मोमोलाई आधुनिकीकरण गर्‍यौं । भारतीयहरूको स्वाद अनुसार यसलाई ‘इनोभेसन’ पनि गर्‍यौं । हाम्रो अनुसन्धान र विकासको एउटा टिम छ, जसले विभिन्न स्वाद तथा परिकारको विकास गरिरहन्छ । सम्भाव्यताका आधारमा हामी बजारमा लैजान्छौं ।’

    विगतमा मोमो एउटा प्रडक्ट मात्रै रहेकोमा आफूहरूले त्यसलाई ‘क्याटगोरी’ बनाएको उनको भनाइ छ । ‘फुडकोर्टहरूमा १०–१२ प्रकारका मोमोको विकल्पहरू उपलब्ध छन्’, उनले भने ।

    पछिल्लो समय वाउ मोमोले फास्ट मुभिङ कन्जुमर फुड्स (एफएमसीजी) को पनि व्यवसाय सुरु गरिसकेको छ । यो कम्पनीले फ्रोजन मोमो तथा कोको चार्जको नाममा नरिवलको पानी उत्पादन गरिरहेको छ ।

    कम्पनी ठूलो हुँदै गएपछि हुमागाईं र दर्यानीले आफ्ना पूर्व सहपाठीहरूलाई पनि साझेदार बनाउँदै गएका छन् । अहिले उनीहरूसँगै सेन्ट जेभियर्समा पढेको साह एम रहमान र एल मुरलीकृष्णन सहसंस्थापकका रूपमा कम्पनीमा आबद्ध छन् ।

    दर्यानी कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत हुन्, जसले ब्रान्ड विस्तार तथा मार्केटिङको काम हेर्छन् । हुमागाईं कम्पनीको प्रमुख सञ्चालन अधिकृत हुन्, उनको जिम्मामा उत्पादन, गुणस्तर नियन्त्रण तथा अनुसन्धान र विकासको जिम्मेवारी छ । पछि आबद्ध भएका रहमानले लेखा तथा मुरलीकृष्णनले ब्रान्डिङ र मार्केटिङ हेर्ने गर्छन् ।

    विनोदका भाइ दिनेश हुमागाईं भाइस प्रेसिडेन्टका रूपमा कम्पनीमा काम गरिरहेका छन् । उनले विशेषगरी अन्य ब्रान्डसँगको सहकार्यको विषय हेर्ने गर्छन् । नयाँदिल्लीमा भेटिएका दिनेशले कम्पनीलाई विश्वका अन्य ठूला ब्रान्ड जस्तै अन्य मुलुकहरूमा पनि विस्तार गर्ने योजना रहेको बताए ।

    भारतमा स्टार्टअपहरूलाई विस्तारका लागि सरकारी नीतिहरूले पनि ठूलो सहयोग गरेको विनोद बताउँछन् । ‘भारतमा क्षमता भएकालाई ठूलो अवसर छ, भारतमा मात्रै होइन, विश्वभर नै छ, विश्वका ठूला कर्पोरेटहरूको नेतृत्वमा भारतीयहरू हुनुले पनि यो पुष्टि गर्छ’, उनले भने ।

    यो कम्पनीलाई विस्तार गर्दै सन् २०२६–२७ सम्ममा आईपीओमा जाने तयारीमा उनीहरू छन् । ‘त्यसबेलासम्म कम्पनीको आकार ८ हजार करोड अर्थात् ८० अर्बको बन्ने लक्ष्य छ, त्यसपछि आईपीओमा जाने’, उनले भने । आफूहरूको लक्ष्य जतिसक्दो छिटो युनिकर्न ९१ अर्ब अमेरिकी डलरको कम्पनी० बन्ने रहेको उनको भनाइ छ ।

    शब्द र तस्वीर अनलाईनखाबरबाट

    प्रतिक्रिया दिनुहोस