२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

शिर मेमोरियल अस्पतालमा क्यान्सरको उपचार हुने

  • २०८० मंसिर १०, आईतबार मा प्रकाशित ३ महिना अघि
  • २१२ पाठक संख्या
  • काभ्रेको बनेपामा रहेको शिर मेमोरियल अस्पतालले नागरिकहरुलाई क्यान्सर रोगको उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले क्यान्सर रोगको उपचार सेवा शुभारम्भ गरेको छ । शिरमा उपचारको सेवा शुभारम्भ सँगै क्यान्सर विरामीहरुलाई भक्तपुर, काठमाण्डौ पुग्नुपर्ने बाध्यता हटेको छ ।

    एक जना व्यक्ति क्यान्सरका कारण बिरामी हुँदा उसले भोग्नु पर्ने आर्थिक,सामाजिक र व्यवहारिक कठिनाइका साथै उपचारमा सहज हुन नसक्दा परेका जटिलता सामान्य गराउन शिर मेमोरियलमा क्यान्सर रोगको उपचार शुरु गरेको अस्पतालका क्यान्सर केयर कोअर्डिनेटर डा. ध्रुब कँडेलले जानकारी दिए । अस्पतालमा सुरु भएको उपचार सेवाले नागरिकलाई थप सहजता हुने बताए ।

    नेपालमा वार्षिक १४ हजार नागरिकको क्यान्सर रोगका कारण निधन हुने गरेको छ भने वार्षिक २० हजार भन्दा धेरैलाई क्यान्सर रोगबाट संक्रमित हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

    जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम र बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले संयुक्त रुपमा सेवा शुभारम्भको उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गौतमले अस्पतालमा सुरु भएको क्यान्सर रोगको उपचार सेवालाई गुणस्तरीय र आम नागरिकको पहुँचमा पु¥याउन समन्वय गर्ने बताए । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगर क्षेत्रका मात्रै नभई जिल्ला भित्रका नागरिकहरुलाई क्यान्सर रोगको उपचारमा सहजताका लागि अस्पतालले सुरु गरेको सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारको तर्फबाट सहजिकरण गरिने बताए ।

    अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले अस्पतालले सेवामा सहजता प्रदान गर्ने उद्देश्यले सबै प्रकारका क्यान्सर रोगको उपचार र रोकथामका लागि जनचेतना फैलाउने गरी सेवा विस्तार गरिएको बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, बनेपा नगर उपप्रमुख विमला सापकोटा, अभियन्ता कर्ण शाक्य, स्वास्थ्य कार्यालय काभ्रेकी निमित्त प्रमुख अनिता खनाल, बनेपा ५ का वडा अध्यक्ष बलराम अधिकारी, अस्पतालका मेडिकल डाइरेक्टर डा. एन्जिला बस्नेत, क्यान्सर रोगका सर्जन डा. पुष्प खर्रवुजा क्यान्सर रोगका बारेमा चर्चा गरेका थिए ।

    अस्पतालले वार्षिक, दुई वार्षिक, त्रैबार्षिक र पञ्चवर्षीय योजना लिएर क्यान्सर रोगका बारेमा सम्पूर्ण उपचार गर्ने गरी तयारीमा जुटेको बताएको छ । अस्पतालमा बाल क्यान्सर, रगत क्यान्सर, रेडियोलोजी, प्याथोलोजी, भ्याक्सिन, सर्जरी, किमो थेरापी लगायतका क्यान्सरसँग सम्बन्धित सबै रोगहरुको उपचार सेवाका लागि आफ्नै भवन, अत्याधुनिक मेशिन र दक्ष जनशक्तिको व्यवस्थापनमा जुटेको छ ।

    प्रतिक्रिया दिनुहोस