२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

बेथानचोक गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • २०८० कार्तिक २१, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • २४४ पाठक संख्या
  • बेथानचोक गाउँपालिकाको आ.व २०७९/०८० तथा २०८०/०८१ को असोज मसान्त सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम  गाउँपालिकाको प्राङ्गणमा सोमबार सम्पन्न भएको छ ।

    सहभागिता, पारदर्शिता र जवाफदेहिताका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष भगवान अधिकारीले सामुदायिक वनमा झाडी फडानी गरी फलफूलका विरुवा र जडिबुटि रोप्ने कार्यलाई अगाडि बढाइने जानकारी दिए । शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, कृषि, युवा लक्षित कार्यक्रमलाई विशेष जोड दिदैं बेथानचोक गाउँपालिकालाई एग्रो टुरिजम हब बनाएरै छाड्ने लक्ष्य रहेको उल्लेख गरे । दिगो विकास लक्ष्य प्राप्तिका लागि जनप्रतिनिधिहरु एकजुट भएर लागीपर्ने उनको प्रतिवद्धता छ । विभिन्न चुनौतिका बाबजुद पालिकाको आफ्नै प्रशासकिय भवन बनाउँन प्रयासरत रहेको भन्दै उनले यसका लागि आम नागरिकको साथ र समर्थन आवश्यक रहेको बताए । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  उपाध्यक्ष तारा राना तिमल्सिनाले स्वागत मन्तव्य सहित पालिकाको गतिविधिका बारेमा जानकारी दिए ।

    प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढथापाले आ.व २०८०/०८१ को कात्र्तिक २० गते सम्म १४ करोड ५४ लाख ३५ हजार ९ सय २१ बजेट निकासा भएकोमा १२ करोड ६९ लाख ३ सय ५५ रुपैंया खर्च भएको जानकारी दिए । विभिन्न शाखाहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उनले स्थानिय तहले पाएको २२ वटा अधिकार अनुसार नै नागरिकको माग अनुसार काम गरिरहेको बताए । पालिकाले सञ्चालन गरेको विकास निर्माणका कार्यक्रमहरु, सेवा सुविधा, पारदर्शिता, सुशासन र जनसरोकारका विषयहरु माथि उपस्थित गाउँपालिका वासीहरुले जनप्रतिनिधिहरुलाई  खबरदारी गर्दै सल्लाह सुझाव सहितको आ आफ्नो भनाई राखेका थिए । सम्बन्धित शाखा प्रमुखहरुले नागरिकले उठाएका समस्या तथा खबरदारीलाई पालिकाले गरेका प्रयास र कार्यान्वयनका विषयमा स्पष्ट पारेका थिए ।

    कार्यक्रममा ६ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु , गाउँपालिकावासीहरु, पत्रकारहरु लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस