ढकमक्क फुलेका सयपत्री, गोदावरी र मखमलीले तिहार नजिकिएको संकेत गरिरहेको छ । ढकमक्क फक्रिएका सयपत्रीका फूलहरूले काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर–४ स्थित श्री जनक माध्यमिक विद्यालय परिसर सुनौलो देखिएको छ । चाडपर्वको अवसरमा दसैंको घटस्थापनादेखि नै विद्यालय बन्द छ । विद्यालय बन्द भए पनि बिहान बेलुकाको समयमा विद्यार्थी फूलको गोडमलेमा गरिरहेका भेटिन्छन् ।
आफूले गरेको मेहनतको प्रतिफल निकाल्ने समय भएकाले फूलसँगै मुस्काइरहेका छन्, विद्यार्थी । पत्र–पत्रमा फक्रिएका सुनौला सयपत्रीभित्र खुसीका रंगसँग खेल्दै, रमाउँदै छन्, नमोबुद्ध नगरपालिका वडा नम्बर–३ स्थित भकुण्डेकी प्रिती श्रेष्ठ । उनी श्री जनक माविको कक्षा १२ मा अध्ययन गर्छिन् । विद्यालय परिसरको २ रोपनी क्षेत्रमा १५ सय बोट सयपत्री फूल रोपिएका छन् । केही टिपेर बजार लैजानका लागि तयार छन् भने केहीमा भर्खरै कोपिला लाग्दैछन् ।
बजार लान तयार भएका सयपत्री फूल टिप्दै छिन्, प्रिती । यसअघि फूलको स्याहारसुसारको काम उनले नगरेको भने होइन । विद्यालयमा सञ्चालन भएको ‘पढ्दै कमाउँदै’ कार्यक्रम सहभागी भएपछि उनलाई फूलको स्याहार–सुसारमा मोह बढेको हो । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यालयमा भदौ यता ‘पुष्प खेती’ सुरु गरिएको छ । यस कार्यक्रममा प्रितिसँगै १५ जना विद्यार्थी सहभागी छन् । बिदाको समयमा पनि उनीहरू विद्यालय आएर फूलको गोडमेल तथा स्याहारसुसार गर्छन् ।
प्रितीले एक डालो फूल टिपेर बजार बिक्रीका लागि बजार लान तयार गरिन् । विद्यालयले सञ्चालन गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम सहभागी भएर पुष्प खेती गर्न पाउँदा आफू धेरै खुसी भएको उनले बताइन् । ‘घर–बारीमा पनि थोरै फूलहरू लगाउने त गरिन्थ्यो,’ उनले भनिन्, ‘तर, त्यति वास्ता हुँदैनथ्यो, विद्यालयको यो कार्यक्रममा सहभागी भएपछि साथीहरूसँग मिलेर फूल लगायौं, यसको गोडमेल गर्यौं, स्याहारसुसार गर्यौं, अहिले टिप्ने बेला भएको छ, बजारमा लगेर बिक्री गरेपछि, यसको लागतको पैसा कटाएर, विद्यालयले हामीलाई पैसा दिन्छ, विद्यालयमा पढाइसँगै काम गरेर पनि आम्दानीको स्रोत पनि जुट्ने भएकोले निकै खुसी छु ।’ उनले विद्यालयबाट प्राप्त भएको पैसाले साथीसँग मुस्ताङ घुम्न जाने योजना बनाएको बताइन् ।
श्री जनक माविकी कक्षा ८ मा अध्ययनरत १३ वर्षीया सुजिता तोलागें विद्यालय परिसरमा फुलेका फूलहरूमा पानी हाल्दै थिइन् । उनलाई साथ दिँदै थिइन्, उनकी साथी अरुणा तामाङ । विद्यालयमा व्यवहारिक ज्ञान सिक्दै यसैबाट आम्दानीका स्रोत जुटाउने काम गरिरहेको उनले बताइन् । आफूले पढेको कुरा खेतबारीमै गएर काम गरेर सिक्दै कमाउने अवसर पाएकोमा खुसी छिन् । एकातिर पढाइ अनि अर्कोतिर कमाइ पनि हुने हुँदा यो कार्यक्रम विद्यार्थीका लागि निकै प्रभावकारी भइरहेको उनले बताइन् ।
भकुण्डेका गणेश सापकोटा सामान्यतयाः एक घण्टाअघि नै विद्यालय पुग्छन् । पढाइ सुरु हुनुअघिको एक घण्टा उनी आफूले लगाएका फूल गोडमेल गर्छन् । भदौ १९ गते विद्यालय परिसरमा सयपत्री लगाएदेखि उनले बिहानको एक घण्टा र साँझको एक घण्टा समय फूलको हेरचाहका लागि छुट्याएका छन् । ‘घरमा त पहिलेदेखि नै सयपत्री लगाउने गरिन्थ्यो,’ उनले भने, ‘तर, त्यसको कसरी गोडमेल गर्ने, कति समयको अन्तरालमा गर्ने, पानी कुन समयमा कति हाल्ने रु भन्ने कुराको ज्ञान नै थिएन, अहिले विद्यालयको ‘पुष्प खेती’ कार्यक्रममा सहभागी भएपछि धेरै कुराको ज्ञान भएको छ, ज्ञानसँगै अब हामीले यसैबाट आम्दानीको स्रोत पनि जुटाउन सक्ने भएका छौं,’ उनले भने ।
कक्षा ८ मा अध्ययनरत १३ वर्षीय उदेश तामाङ विद्यालयकै होस्टलमा बस्छन् । फुर्सदको समय उनी फूलको स्याहारसुसारमै लगाउँछन् । विद्यालयमा पढेको सैद्धान्तिक सिकाइ मात्र पर्याप्त नभई व्यवहारिक ज्ञान पनि चाहिने भएकाले आफू विद्यालयले सञ्चालन गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत पुष्प खेतीमा सहभागी भएको उनले बताए । पुष्प खेतीबाट पनि राम्रो आम्दानी गर्न सकिने रहेछ भन्ने कुरा यस कार्यक्रममा सहभागी भएपछि आफूले थाहा पाएको उनले बताए ।
पुष्प खेतीमा छोराको आकर्षण बढेको देखेर उदेशका बुबा मनोराज तामाङ दङ्ग छन् । विद्यालयले पढाइसँगै विद्यार्थीलाई आय–आर्जनको बाटो पनि देखाइरहेको उनले बताए । ‘पहिले त छोराले फूल रोप्ने, गोडमेल गर्ने काम गरेको थिएन,’ उनले भने, ‘पुष्प खेती कार्यक्रममा सहभागी भएको रहेछ, अहिले सबै काम गर्छ, यसमा आफूले राम्रो भविष्य देखेको छु पनि भन्ने गरेको छ ।’
‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा यस वर्ष नमुना कार्यक्रममातहत ‘पुष्प खेती’ गरिएको श्री जनक माविका संयोजक हरिहर अधिकारीले जानकारी दिए । उनका अनुसार विद्यालय परिसरमा पहिलो पटक ठूलो क्षेत्रफलमा व्यावसायिक रुपमा पुष्प खेती सुरु गरिएको हो । ‘पढ्दै कमाउँदै’ कार्यक्रमले दोस्रो वर्ष पनि निरन्तरता पाएको उनले बताए । पुष्प खेतीमा विद्यालयका कक्षा ८ देखि कक्षा १२ सम्मका १५ जना विद्यार्थी सहभागी छन् । पुष्प खेती कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले नेपाली र भारतीय जातका करिब १५ सय सयपत्री लगाएका छन् ।
‘केही बजार लानका लागि तयारी अवस्थामा छन्, केहीमा भर्खरै कोपिला लाग्दैछ,’ उनले भने, ‘अहिले यहाँको फूलको बजार स्थानीय बजार भकुण्डे, बनेपा, धुलिखेल नै हो, विद्यार्थीको मेहनतअनुसार फूल पनि राम्रै फूलेको छ, फूलबाट करिब १ लाख रुपैयाँ आम्दानी गर्न सकिन्छ कि भन्ने अनुमान गरेका छौं,’ उनले भने ।
सयपत्रीका बिरुवा खरिदका लागि करिब ३० हजार रुपैयाँ लगानी गरिएको पनि संयोजक अधिकारीले बताए । पढाइसँगै कमाइ हुने यस कार्यक्रमले विद्यार्थीमा उत्साह बढेको पाइएको उनको भनाइ छ । पुष्प खेतीका बारेमा सबै ठाउँबाट प्रतिक्रिया राम्रो आइरहको र बजारको पनि समस्या नभएकाले यसलाई विस्तार गर्ने योजनामा छ विद्यालय ।
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने गरी कार्यविधि तयार गरेको थियो । स्वआर्जन गरी अध्ययन गर्न चाहने र गरिबीको कारणबाट आय आर्जन गरी पढ्नुपर्ने अवस्थाका विद्यार्थीलाई लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८’ तयार पारेको थियो । सोही कार्यक्रमअन्तर्गत श्री जनक माध्यमिक विद्यालय कृषि व्यवसाय विधामा २०७८ चैत्रमा छनोट भएको थियो । सोही कार्यक्रमको कार्यान्वयनका लागि विद्यालयमा अहिले ‘पढ्दै कमाउँदै’ कार्यक्रम सुरु भएको छ ।
विद्यालयमा अहिले यस कार्यक्रमअन्तर्गत बाख्रा पालनमा २२ जना, कुखुरा पालनमा २२ जना, पुष्प खेतीमा १५ जना, तरकारी खेतीमा ३० जना विद्यार्थी सहभागी रहेको विद्यालयका प्रधानाध्यापक प्रदीप पोख्रेलले जानकारी दिए । कार्यक्रमका लागि संघीय सरकारबाट १० लाख रुपैयाँ बजेट विनियोजन भएको विद्यालयका संयोजक हरिहर अधिकारीले जानकारी दिए । यो वर्षको कार्यक्रममा गाईरभैंसी पालनलाई प्राथमिकतामा राखिएको पनि उनले बताए ।
इकान्तिपुरडटकमबाट साभार
प्रतिक्रिया दिनुहोस