काभ्रेमा भएको दुईवटा दुर्घटनामा २ को मृत्यू भएको छ भने ९ जना घाईते भएका छन् ।
बुधबार बिहान ६ : ४५ बजे पनौती नगपरपालिका वडा नं ५ स्थित सुन्दरबस्तीमा काठमाडौंबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६५ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बा–प्र– ०३– ००१– ज०२९८ नं को इलेक्ट्रिक गाडीले ठक्कर दिएको थियो ।
मोटरसाइकलाई ठक्कर दिई भाग्ने क्रममा इलेक्ट्रिक गाडी सोही स्थानको सडकको किनारको नालीमा खसेर दुर्घटना हुँदा गाडी सवार ७ जना र मोटरसाइकलमा सवार २ जना गरी ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटनामा घाइते मध्ये रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १२ की २० वर्षीया रमिला बुढाथोकीलाई उपचारका क्रममा धुलिखेल अस्पतालले मृत घोषणा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार, गाडीमा सवार रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ की २३ वर्षीया पुष्पा तामाङ, लिखु तामाकोशी गाउँपालिका वडा नं ६ बस्ने ५१ वर्षीय टंक प्रसाद दाहाल, रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं २ की ३० वर्षीया ज्ञानु ढुंगेल, रामेछापकै मन्थली नगरपालिका वडा नं १ का १८ वर्षीय रकिट ढुंगेल, लिखुतामाकोशी गाउँपालिका वडा नं ६ का ३८ वर्षीय अनिल आलेमगर, सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ३ का ३१ वर्षीया उर्मिला घिमिरे, मोटरसाइकलमा सवार इलाम जिल्लाको थाकथुम गाउँपालिका वडा नं ३ का ४० वर्षीय राम कुमार राई र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । ।
इलेक्ट्रिक गाडीका सवारी चालक पनौती नगरपालिका वडा नं ५ का ४१ वर्षीय उपेन्द्र थापालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मंगलबार साँझ ५ः४५ बजेतिर पनौती नगरपालिका–१० स्थित दाहालटारमा रोकिरहेको बा ७ च ६२७७ नं को बोलेरो जिपमा पनौतीबाट दाहालटारतर्फ जाँदै गरेको बा ६५ प ७१३९ नं को स्कुटर आफैं अनियन्त्रित भई ठोक्किँदा स्कुटरमा सवार पनौती-७ बसपार्कका १६ वर्षीय इरोज ताम्राकारको मृत्यु भएको हो ।
त्यस्तै, स्कुटरमा पछाडी सवार पनौती-७ बस्ने ठाडोबाटोका सुबोध श्रेष्ठ सामान्य घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस